February 23, 2025, 5:50 pm
» माओवादीकै कारण नेपाल ‘खतरा’ मा परेको एमाले नेताको ठहर » भर्खरकी इन्सपेक्टरले ब्यारेकमै त्यागिन् प्राण » अब पार्टीभित्र अन्याय हुन दिन्नँ : शेखर कोइराला » मृत्युको पाँच महिनापछि हिज्बुल्लाह नेता नसरल्लाहको अन्त्येष्टि » एकदिवसीय क्रिकेटमा विराट कोहलीको नयाँ किर्तिमान

नेपालमा नारी दिवस र प्रजनन् दरमा देखिएको परिवर्तन

फाल्गुन ११, २०८१ मा प्रकाशित | २९०दर्शक तीव्रखबर

संसारैभरि परापूर्वकालदेखि नै महिला वर्गलाई थिचोमिचोमै पारिएका कारण नारी दिवस, नारी वर्गको अधिकारका खातिर नारीहरूले नै संघर्ष गरेर सुरू गरेका हुन्।
यस पटकको नेपाल बसाइँ चितवन, भरतपुरको माछापुच्छ्रे चोक वरपर मेरो बिहानीको हिडाइँमा दुई जना महिलाहरू पारिजात फुलको बोटमुनि झरेका सेता फूल टिप्दै गफ गर्दै थिए, मैले फ्याट्ट सुनिहालें – ‘भुडी फालेका’। तुरुन्तै मेरो दिमागले भन्यो – यिनीहरूको कुरा सुन्।
झट्ट आफ्नो गोजीको मोबाइल निकालें र हेलो भन्दै नजिकैको घरको कम्पाउन्ड पर्खालको कुनामा लुकेर उनीहरूको कुरा सुनें। भर्खर नुहाएर कपाल सानो रुमालले बाँधेकी महिलाले भनिन्, ‘इन्दु (नाम परिवर्तन गरिएको)ले त दुई वटा भुँडी फालेर तेस्रोमा मात्रै छोरा पाएकी रहिछ नि?’
अर्कीले भनिन्, ‘ए इन्दु (नाम परिवर्तन गरिएको)को पहिलो पटकको छोरी थिई त्यसैले होला।
लुकेर सुनेको कुरा मेरो मनसपटलमा रहिरह्यो र यस नारी दिवसको पूर्वसन्ध्यामा त्यससमन्धी तथ्याङ्क केलाउन मन लाग्यो र यो छोटो लेख तयार भयो। इन्दु (नाम परिवर्तन गरिएको)को कुरा काट्ने ती दुई महिलालाई धेरै धन्यवाद दिन मन लाग्यो।
समूहगत रुपले महिला अधिकारको आवाज उठ्ने क्रम सन् १८५७ मा अमेरिकाको न्यूयोर्क सहरमा रहेको एक कपडा उत्पादन गर्ने कम्पनीका महिला कामदारहरूले पुरुष र महिलाबीच हुने असमान अधिकारको विरोधमा गरेको जुलुसबाट सुरू भएको मानिन्छ। यो क्रम बढ्दै जाँदा सन् १९११ मा अस्ट्रिया, डेनमार्क, जर्मनी र स्वीट्जरल्याण्डले पहिलो अन्तर्राष्ट्रिय सम्मेलन गरेर नारी दिवस मनाए र पछि यसलाई सन् १९७५ मा संयुक्त राष्ट्र संघले महिला अधिकारका उपलब्धिहरूलाई मान्यता दिन प्रत्येक वर्ष नारी दिवस मार्च ८ मा अन्तर्राष्ट्रिय रुपमा मनाउन थालियो।
प्रजातन्त्रको प्राप्तिपश्चात् नेपालमा पनि विभिन्न किसिमले नारी दिवस मनाउँदै आइएको पाइन्छ। हरेक वर्ष मार्च ८ मा मनाइने नारी दिवसमा महिलाका अधिकारका बारेमा विशेष रुपले कार्यक्रमहरू गर्ने गरिन्छ।
नयाँ प्रविधिको विकाससँगै भित्रने त्यसका अवगुणहरूले नयाँ-नयाँ किसिमका सामाजिक विचलनहरू ल्याउँदा रहेछन् र त्यसैका आधारमा सामाजिक कार्यक्रमहरू निर्देशित गर्नुपर्ने हुँदो रहेछ। त्यसैले हालका दिनहरूमा महिला अधिकारका साथसाथै महिला हिंसाका घटनाहरूमा पनि नारी दिवसमा चर्चा गर्ने गरिन्छ। जे होस् महिला अधिकार वरपर रहेर नै नेपालमा नारी दिवस मनाइन्छ।
संसारैभरि परापूर्वकालदेखि नै महिला वर्गलाई थिचोमिचोमै पारिएका कारण नारी दिवस, नारी वर्गको अधिकारका खातिर नारीहरूले नै संघर्ष गरेर सुरू गरेका हुन्। यो सही कुरा र हुनुपर्ने कुरामा कसैको दुईमत हुनै सक्दैन। यसैक्रममा महिला संसारले कैयन अधिकारहरू प्राप्त गरिसकेका छन् र कैयन प्राप्त हुने क्रममा छन्। त्यसैले, सदैव नारी दिवस महिला अधिकारको लागि बुलन्द किसिमले मनाइन्छ। तर, नारी दिवस मनाउने तरिकामा भने ठाउँ अनुसार फरक-फरक देखिन्छन्। कहीँ बैजनी रंगको कपडा लगाएर, कहीँ महिलाले सञ्चालन गरेका व्यवसायलाई प्रवर्द्धन गरेर, र्‍याली, सेमिनार, गोष्ठी, भाषण गरेर।
नेपालमा पनि महिलाका अधिकार प्राप्त गर्ने क्रममा विभिन्न काल र समयमा संविधानत: अधिकार प्राप्त गर्ने क्रम जारी छ। यसैक्रममा अधिकार र उत्तरदायित्व सँगसँगै हुनुपर्छ भन्ने मेरो धारणा छ। महिलाका अधिकार सुनिश्चित गर्ने क्रममा विभिन्न परिस्थितिहरूमा सीमाहरू राखेर सन् २००२ मा नेपालको कानुनमा पनि गर्भपतन कानुनपूर्ण रूपमा लागू गरियो, जुन कुरा आज सन् २०२५ सम्म पनि अमेरिकाजस्तो विकसित र प्रविधियुक्त देशमा विभिन्न चुनावका बेला व्यापक विवादमा आउने गरेको छ।
यस लेखमार्फत नारी दिवसको पूर्वसन्धामा नेपालमा गर्भपतन कानुन लागू भएपछि महिलाको प्रजनन् दरमा भएका परिवर्तनबारेमा विवेचना गर्न कोसिस गरिएको छ। यसका लागि नेपालको राष्ट्रिय तथ्याङ्क कार्यालयले गरेको राष्ट्रिय जनसंख्या तथा आवास जनगणना २०२१ को जनगणना डाटासेटको व्यक्तिगत टेबल नम्बर ४ लाई आधार बनाइएको छ। यो टेबल इन्टरनेटबाट पनि डाउनलोड गर्न सकिन्छ।
जनगणना सन् २०२१ का अनुसार नेपलको जम्मा जनसंख्या २,९१,६४,५७८ मध्ये १,४२,५३,५५१ (४८.८७ प्रतिशत) पुरुष र १,४९,११,०२७ (५१.१३ प्रतिशत) महिला रहेका छन्। अर्थात् कुल जनसंख्यामा महिलाको अनुपात बढी छ। प्रत्यक्ष रूपमा बसाइँसराइँमा भाग नलिने जनसंख्याको उमेर समूह (० देखि १९ वर्ष)का बालबालिकाको मात्र जनसंख्या हेर्दा कुल जनसंख्याको अनुपातमा ठिक उल्टो अनुपात देखिन्छ। अर्थात्, १९ वर्षमुनिका कुल बालबालिका (१,१०,,८१,९७९), मध्ये बालिका ५३,५७,५७२ (४८.३४ प्रतिशत) र बालक ५७,२४,४०७ (५१.६६ प्रतिशत) रहेका छन्। यो अनुपात संख्या सानो देखिए तापनि विभिन्न उमेर समुहमा यस वर्ष उमेर समूहका जनसंख्यालाई विभाजन गरेर हेर्दा अनुपात बढ्दै गएको पाइन्छ।
ग्राफमा देखाएजस्तो देशको कुल जनसंख्यामा १५ देखि १९ वर्षबीचका जम्मा बालबालिका (२९,६६,४०४) मध्ये, बालक  १४,९४,५२३ (५०.४ प्रतिशत) र बालिका १४,७१,८८१ (४९.६ प्रतिशत) रहेका छन्।  बालकभन्दा बालिका २२,६४२ जनाले कम देखिन्छन्।
त्यस्तैगरी, १० वर्षदेखि १४ वर्षका जम्मा बालबालिका (२९,०९,८६५) मध्ये बालक १४,९५,९५४ (५१.४ प्रतिशत) र बालिका जम्मा १४,१३,९११ (४८.६ प्रतिशत) अर्थात् बालकभन्दा बालिका ८२,०४३ संख्याले कम देखिन्छन् । पाँच वर्षदेखि ९ वर्षसम्मका जम्मा संख्यामा (२७,६६,४२७) बालक जम्मा १४,४३,४०५ ( ५२.२ प्रतिसत) र बालिका जम्मा १३,२३,०२२ (४७.८ प्रतिशत) अर्थात् बालकभन्दा बालिका १,२०,३८३ संख्याले कम देखिन्छन्।
त्यस्तै, ० देखि ४ वर्षका जम्मा  २४,३९,२८३ जनामा  १२,९०,५२५ (५२.९ प्रतिशत) बालक र ११,४८,७५८ (४७.१ प्रतिसत) बालिका अर्थात् कुल बालकभन्दा १,४१,७६७ बालिका कम देखिन्छन्। जनगणना २०७८ का अनुसार बालबालिका दुबैको जन्मने दर घट्दै गइरहेको छ भने बालक र बालिका जन्मने दरको अनुपातमा ठूलो मात्रामा परिवर्तन भएको देखिन्छ।
१४ वर्षदेखि १९ वर्षका जम्मा बालबालिकामा जम्मा २२,६४२ जनाले बालिकाभन्दा बालक बढी थिए भने ० देखि ४ वर्ष उमेर समूहमा आइपुग्दा बालिकाभन्दा बालकको संख्या १,४१,७६७ ले बढी देखिन्छ । अर्थात्, सरल रुपमा भन्दा जनगणना सन् २०२१ हुनुभन्दा १९ वर्ष पहिले नेपालमा ० देखि १९ वर्ष उमेर समूहका कुल बालबालिका संख्यामा बालिकाको संख्या बालकको भन्दा २२,६४२ संख्याले कम थियो भने त्यसको १९ वर्षपछि अर्थात् सन् २०२१ मा आइपुग्दा बालबालिकाको कुल संख्यामा बालकको भन्दा बालिकाको संख्या १,४१,७६७ ले घटी हुन आएको देखिन्छ।
यसरी बितेका १९ वर्षको अवधिमा बालकको भन्दा बालिकाहरूको जन्मने दरमा ५.२६ गुनाले कमी आएको देखिन्छ। यो किसिमको परिवर्तनलाई सामान्य मानिँदैन।
नेपालको नयाँ संविधान २०७२ जारी गर्दा विद्यमान रहेका ७५ जिल्लालाई ७७ जिल्लामा पुन:संरचना गरियो। त्यसअनुरुप ० देखी १९ वर्ष समूहको जनसंख्याको महिला-पुरुष अनुपात वितरण तलको मानचित्रमा देखाइएको छ।
देखाइएको नेपालको नक्सामा जम्मा देशका ७७ जिल्लामध्ये जम्मा ३१ वटा जिल्लामा उमेर समूह ० देखि १९ वर्षका बालक र बालिकाको अनुपात सामान्य खालको देखिन्छ। अर्थात्, प्रति १०० बालिकामा जम्मा बालक संख्या ९७ देखि १०३ सम्म भएका जिल्लाहरू ३१ वटा छन्। जम्मा चार  वटा जिल्ला (अछाम, डोल्पा, रामेछाप र बझाङ) मा बालक भन्दा बालिकाको संख्या धेरै देखिन्छ। पाँच वटा जिल्लाहरू (रसुवा, मनाङ, प्यूठान, हुम्ला र बाजुरा) मा दुबैको अनुपात बराबरी देखिन्छ।
बाँकी ३१ मध्ये २२ जिल्लामा थोरै अन्तरमा बालकहरूको संख्या बढी देखिन्छ। प्राय:जसो मध्यपहाडी र हिमाली भेगका ४७ जिल्लाहरूमा प्रति १०० बालिकामा १०४ देखि ११० जना बालकको संख्या पर्न आउँछ। तराईका पाँच जिल्ला, पहाडका चार जिल्ला र हिमाली भेगको १ जिल्लामा बालिका र बालकको भिन्नताको अनुपात अधिक देखिन्छ। देशको संघीय राजधानी काठमाडौंमा बालिका र बालकबीचको अनुपातको अन्तर सबैभन्दा बढी छ। यस जिल्लामा प्रति १०० बालिकामा ११८ बालकहरूको संख्या पर्न आउँछ।
० देखि ४ वर्ष उमेर समूहका बालबालिकाको अधिक अनुपात अन्तर भएका शीर्ष दस पालिकाहरूमा प्रति १०० बालिकामा १३० देखि १३८ सम्म बालकहरूको संख्या पर्ने देखिन्छ। जसमा धनुषा जिल्लाका मात्रै ६ वटा पालिका ( लक्ष्मीमिनिया गाउँपालिका १३८, हंशपुर गाउँपालिका १३४, मिथिला बिहारी नगरपालिका १३२, औरही गाउँपालिका १३२, छिरेश्वरनाथ नगरपालिका १३१ र सहिदनगर नगरपालिका १३०) रहेका छन्। बैतडीको पाटन नगरपालिका (१३४), सिरहाको विष्णुपुर गाउँपालिका (१३२), डडेल्धुराको अमरगढी नगरपालिका (१३१) र डोटी दिपायलको सिलगढी नगरपालिका (१३०) रहेका छन्।
बितेका करिब २० वर्षको अवधिमा लगातार रुपमा नारी दिवस मनाइँदै आइएको छ र प्रशस्त नारी अधिकारका कुरामा सचेतना हुनुका साथै कानुन पनि बनेका छन्। गाउँ-घरमा जाँदा पहिलो सन्तान छोरी भएमा दोस्रो सन्तान छोरो पाउने रहर सबैमा हुनु सामान्य कुरा हुने नै भयो। विज्ञान र प्रविधिको विकासले गर्दा गर्भ रहेको केही समयमा नै थाहा हुन सक्ने प्रविधिको उपयोग गर्दै कतै नेपालमा गर्भपतन कानुनको छिद्रको प्रयोग गरेर बालिकाहरूको भ्रूण हत्या त भइराखेको छैन? माथिको तथ्याङ्कले आशंका राख्ने ठाउँ दिन्छ।
छोरछोरीबीचको अधिक विभेद हुने धनुषामा छोरी जन्मने दरमा अधिक कमी आउनु, स्वास्थ्य र प्रविधिको अधिक सेवा प्राप्त हुन सक्ने काठमाडौं, ललितपुर, भक्तपुर, कास्की र चितवन जिल्लाहरूमा पनि छोरीको जन्म अनुपात कम हुनुले छोरीको भ्रूण हत्या हुन सक्ने आशंका राख्ने ठाउँ दिन्छ।
आउँदो नारी दिवस मार्च ८, २०२५ आगावै यस्ता सूचनाहरू सम्बन्धित व्यक्ति तथा निकायहरूलाई प्रवाह हुन सकोस् र समन्धित निकायहरूले तथ्याङ्कको वैधताको जाँच पड्ताल गरी सत्य ठहरिएमा कार्यक्रमका दिनमा सम्बन्धित उच्च तहका अधिकारीहरू (शिक्षा मन्त्री, हाल महिला हुनुहुन्छ, नेपालका महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री, महिला अधिकारकर्मी, कानुनविद्) ले आफ्ना कार्यक्रमहरूमा देशको जनगणना गर्ने निकायले गरेका कामको गुणस्तर मापनका साथै तथ्यहरूले दिन खोजेको सन्देश प्रसार गरिदिँदा यस मुद्दाले व्यापकता पाई सत्य-तथ्यको खोजमा तीव्रता आउन सक्ने र समयमै योजना निर्माण गर्ने निकायहरूलाई सही सूचना प्राप्त होला कि? – प्रकाश रेग्मी

प्रतिक्रिया