चौधरी ग्रुपद्वारा गैरकानुनी रुपमा विदेशमा लगानी

- October 5, 2021 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

रोशन कार्की
काठमाडौं । सरकारले बनाएको विद्यमान ऐन कानुनलाई समेत लत्याउदै चौधरी ग्रुपले विगद लामो समयदेखिनै अबैधरुपमा नेपालबाट विदेश पैसा लगी लगानी गर्दै आएको छ । सो बारे तीव्रखबर डटकमले पटकपटक समाचार प्रकाशन गर्दा समेत कारबाही गर्ने सरकारी निकाय मौन बस्दा अर्वौ रुपैयाँ विद्यमान ऐन विपरित रकम विदेश लगी लगानी गर्ने क्रममा रोकीनेभन्दा पनि झन बढ्दै गएको छ । यसैक्रममा सवैभन्दा बढी रकम नेपालबाट विदेश लगी गैरकानुनी रुपमा लगानी गर्नेमा आफुलाई विश्वको धनी भएको हुँकार गरी समाचार लेखाउने चौधरी ग्रुपका अध्यक्ष बिनोद चौधरी र उनको परिबार अग्रपक्तिमा रहेको भेटिएको छ ।

गैरकानूनी रूपमा आर्जन गरेको धन विदेश लगी लुकाउन सजिलो मानिने ‘ट्याक्स हेभन’ मुलुकमा लगी गोप्य तरिकाले खोलेर लगानी र शेयर खरीद–बिक्रीकोे खुलासा भएको छ । यसरी अबैध रुपमा विदेशमा काराबोर गर्नेमा नेपालका दुई ठूला व्यापारिक घराना चौधरी ग्रुप र गोल्छा अर्गनाइजेसन अग्रसूचीमा रहेको छ । अमेरिकाको वासिङटन डीसीस्थित अन्तर्राष्ट्रिय खोज पत्रकारहरूको संयन्त्र ‘इन्टरनेशनल कन्सोर्टियम अफ इन्भेष्टिगेटिभ जर्नालिष्ट’ (आईसीआईजे) ले तयार पारेको रिपोर्टमा प्रतिनिधिसभा सदस्य समेत रहेका विनोद चौधरी र उनको परिवारका सदस्यको नाम रहेको छ । ब्रिटिश भर्जिन आइल्याण्डमा कम्पनी खोली विभिन्न देशमा कारोबार गरेको पाइएको छ ।

ती कम्पनीहरू विनोद चौधरी, उनकी श्रीमती सारिकादेवी र तीन छोरा निर्वाण, बरुण र राहुल चौधरी रहेको खुलेको छ । अफसोर कम्पनी खोलेर कारोबार गर्नेमा गोल्छा अर्गनाइजेसन रहेको छ । अर्गनाइजेशन सम्बद्ध लोकमान्य गोल्छा, उनका दिवंगत भइसकेका दुई भाइ, उनीहरूका काकाका छोरा चन्द्रकुमार गोल्छा र दिवाकरका छोरा हितेश गोल्छाको नाममा ब्रिटिश भर्जिन आइल्याण्डमै कम्पनी रहेको उल्लेख छ ।

गैरआवासीय नेपालीले कुनै पनि नाममा नेपालबाट पैसा लगेर विदेशमा लगानी गर्न पाइन्न । आयकर ऐन–२०५८ ले ‘अविच्छिन्न ३६५ दिनको अवधिमा १८३ दिन वा सोभन्दा बढी नेपालमा रहेको व्यक्ति’ लाई ‘बासिन्दा व्यक्ति’ सम्झनुपर्छ भनी व्यवस्था गरेको छ । ‘यो व्यवस्था अनुसार कुनै नेपाली नागरिक १८३ दिन विदेशमा बस्छ, त्यसपछि उसले विदेशमै आम्दानी गर्छ भने त्यहाँ लगानी गर्न पाउँछ । यसबाहेक नेपाली नागरिकको विदेशमा लगानी गैरकानूनी मानिदैन आएको छ । विदेशमा लगानी गर्न प्रतिबन्ध लगाउने ऐन–२०२१ अनुसार कुनै पनि नेपाली नागरिकले विदेशका बैंकमा खाता खोल्नेदेखि कुनै पनि कम्पनीमा लगानी गर्न पाउँदैनन् ।

ऐन विपरीत काम गरेमा ‘बिगो बमोजिम जरिवाना, ६ महीना कैद वा दुवै सजाय’ हुने व्यवस्था छ । नेपाली ‘कानूनमा रहेका छिद्रको उपयोग गरी वैधानिक रूपमै विदेशमा लगानी गरेको’ बताउने विनोद चौधरी सहित उनको परिवारका पाँच जनाले ट्याक्स हेभन मुलुकमा लगानी गरेको फेला परेको हो । चौधरी परिवारका सदस्यहरूको नाममा ब्रिटिश भर्जिन आइल्याण्डमा तीन, सिंगापुरमा एक र पनामामा एक कम्पनी दर्ता रहेको पाइएको छ । ब्रिटिश भर्जिन आइल्याण्डमा सिनोभेसन इन्कर्पोरेटेड, सिजी होटल्स एण्ड रिसोर्ट लिमिटेड, सेन्सेइ क्यापिटल पार्टनर्स इंक र सिंगापुरमा सिजी हस्पिटालिटी होल्डिङ्स ग्लोबल पीटीई एलटीडी नामका कम्पनी चौधरी परिवारका सदस्यहरूको नाममा दर्ता रहेको छ ।

चौधरीले गरेको नेपाली कानूनका छिद्रको उपयोग, त्यसको वैधतामाथिको प्रश्न र उनका साझेदारमाथि मनी लाउण्डरिङ आशंकाको विषयमा स्पष्ट हुन उनकै आत्मकथामा उल्लेख सूचना केलाउनुपर्ने अबस्था रहेको छ । सिंगापुरको सिजी हस्पिटालिटी होल्डिङ्स ग्लोबल पीटीई एलटीडीमा भने उनका तीन छोरा र श्रीमतीको लगानी छ । अर्कोतर्फ चौधरीले आयकर ऐन–२०५८ को व्यवस्थाको उल्टो व्याख्या गरेर विदेशमा लगानी गरेको जानकारहरूको टिप्पणी गर्दै आएका छन ।

नबिल बैंकको विदेशी लगानीकर्ताले पाउने लाभांश रकम विदेश लगिएको छ । नेपालबाट लगिएको रकमलाई चौधरीले विदेशमा बस्ने छोराहरूले कमाएको भन्दै लगानी गरेको पुष्टि गर्न खोजेका छन् । यस आधारमा पनि चौधरीले विदेशमा गरेको लगानीको वैधतामाथि प्रश्न खडा भएको छ । विनोद, उनका जेठा छोरा निर्वाण र श्रीमतीको नाममा समेत विदेशमा लगानी गैरकानूनी हो । किनभने नेपाली कानून (विदेशमा लगानी गर्न प्रतिबन्ध लगाउने ऐन–२०२१) ले राष्ट्र बैंकको अनुमति बेगर विदेशमा लगानी गर्न पाइँदैन । यस कानून बमोजिम विदेशमा लगानी गर्ने भए नेपाल राष्ट्र बैंकबाट अनुमति लिएको हुनुपर्छ । बाँकी कम्पनीमा लगानी गर्न राष्ट्र बैंकबाट विनोद, उनका जेठा छोरा निर्वाण र श्रीमती सारिकाले अनुमति नलिएको राष्ट्र बैंक स्रोत बताउँछ । विदेशी कम्पनीमा लगानी गर्न चौधरीले राष्ट्र बैंकबाट अनुमति लिएको तथ्य सार्वजनिक अभिलेखमा फेला परेन ।

गोल्छा परिवारको अफशोर कारोबार

गोल्छा परिवारका लोकमान्य गोल्छा, उनका दिवंगत भइसकेका दुई भाइ, उनीहरूका काकाका छोरा चन्द्रकुमार गोल्छा र दिवाकरका छोरा हितेश गोल्छाको नाममा ट्याक्स हेभन मुलुक ब्रिटिश भर्जिन आइल्याण्डमा कम्पनी छ । ‘फ्ल्याटउड लिमिटेड’ उनीहरूको लगानीमा स्थापना भएको कम्पनी हो । उनीहरू सबैले नेपाली पासपोर्ट र ठेगाना प्रयोग गरेर उक्त कम्पनी स्थापना गरेको विवरणबाट देखिन्छ । जेनेभास्थित ल फर्म ओभरसिज म्यानेजमेन्टको रेकर्ड अनुसार उक्त कम्पनी मार्फत गरिने कारोबारका लागि उनीहरूले स्विट्जरल्याण्डस्थित बार्कलेज बैंकमा खाता पनि खोलेका छन् । उक्त खाता सञ्चालनका लागि १२ फेब्रुअरी २००८ मा दिवाकर, हितेश र लोकमान्य गोल्छालाई कम्पनीले अधिकार दिएको कागजातबाट स्पष्ट हुन्छ ।

फ्ल्याटउड लिमिटेड नामक कम्पनी मार्फत दिवाकर गोल्छा लगायतको समूहले सन् २००८ मा नेपालको इष्टर्न सुगर मिल्सको शेयर खरीद गर्ने निर्णय गरेको भेटिएको छ । यो कम्पनीले मिल्सको १३१७.५०० कित्ता शेयर खरीद गरेको पाइएको हो । तर केही समयपछि फ्ल्याटउड लिमिटेडले मिल्सको केही प्रतिशत शेयर हुलास मेटल क्राफ्ट लिमिटेडका नाममा स्थानान्तरण गरेको देखिन्छ । १५ फेब्रुअरी २००८ मा फ्ल्याटउडले मिलको १३१७.५०० कित्ता शेयरमध्ये ३८४.१६६ कित्ता शेयर हुलास मेटल क्राफ्ट लिमिटेडका नाममा स्थानान्तरण गरेको पाइएको छ । फ्ल्याटउडले सन् २००८ मा मिल्सका नाममा लेखेको पत्र अनुसार, त्यतिबेलासम्म फ्ल्याटउडको मिल्समा ९३३.३४४ कित्ता शेयर थियो ।

सोही पत्र अनुसार फ्ल्याटउडले हुलासलाई मिल्सबाट २८८.१२५ कित्ता अतिरिक्त हकप्रद शेयर खरीद गर्ने गरी जिम्मा दिएको देखिन्छ । हुलास मेटल क्राफ्ट पनि गोल्छा अर्गनाइजेशनकै कम्पनी हो । लोकमान्य गोल्छा नेपाल चेम्बर अफ कमर्सका मानार्थ उपाध्यक्ष हुन् । नेपाल चेम्बर अफ कमर्सको वेबसाइटमा उल्लेख भएको विवरण अनुसार हाल हंसराज हुलासचन्द एण्ड को, हुलास वायर इण्डष्ट्रिज, हिम इलेक्ट्रोनिक्स, हुलास मेटल क्राफ्ट्स लगायतका कम्पनीहरू सञ्चालनमा छन् ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!