दाङ – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले एमाले नेतृत्वमा मात्रै दाङको समृद्धि सम्भव हुने बताएका छन् । एमाले दाङले घोराहीमा आयोजना गरेको बृहत् आमसभालाई सम्बोधन गर्दै उहाँले एमाले सरकार बनेपछि लामो समयदेखि रोकिएका विकास योजनाहरू कार्यान्वयन हुन थालेको उल्लेख गरे ।
“घोराही-तुलसीपुर चारलेन सडकको निर्माणकार्य पुनः थालनी भएको छ भने राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएसको पठनपाठन सुरु भइसकेको छ । टरिगाउँ विमानस्थलको स्रोत सुनिश्चित गर्न सरकारलाई आवश्यक पहल गर्न आग्रह गरिएको छ”, महासचिव पोखरेलले भने,“यसले दाङको भौतिक पूर्वाधार, स्वास्थ्य, शिक्षा र यातायात क्षेत्रमा महत्वपूर्ण परिवर्तन आउने विश्वास छ ।”सरकारले भूमि समस्या समाधान र अन्य दीर्घकालीन महत्व राख्ने छ वटा अध्यादेश ल्याएको र यी संसद्बाट पारित भएरै छाड्ने उनले दाबी गरे । अन्य प्रक्रिया अपनाउँदा कानुन बनाउन ढिलाइ हुने भएकाले अध्यादेश ल्याउनुपरेको जिकिर गर्दै महासचिव पोखरेलले ती अध्यादेशहरू संसद् छल्न नभई जनताका लागि प्रभावकारी नीति कार्यान्वयन गर्न ल्याइएका बताए ।
प्रतिक्रिया