February 23, 2025, 2:49 pm
» पूर्वराजालाई वामदेवको सुझाव- दल खोलेर तपाईं प्रधानमन्त्री बन्‍नुस् » किर्गिस्तानलाई हराउदै अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा तेस्रो भयो लेबनान » केपी ओली कपको शुभारम्भ » प्रधानमन्त्री ओली संसद विघटन गर्न उद्दत भएको माओवादी प्रवक्ताको आरोप » भरूवा बन्दुकसहित कास्कीबाट एक जना पक्राउ

प्रचण्डको आरोप- कांग्रेस-एमालेको ध्यान संविधान संशोधनमा होइन, उल्ट्याउनमा केन्द्रित छ :

फाल्गुन २, २०८१ मा प्रकाशित | ४३०दर्शक तीव्रखबर

दोलखा– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस एमालेको नेतृत्व संविधान संशोधन गर्नेमा होइन, संविधान च्यातेर जनताका अधिकार उल्ट्याउनमा केन्द्रित रहेको बताएका छन् ।

३० औँ जनयुद्ध दिवस तथा माओवादी केन्द्र जिरी नगरपालिका दोलखाको तेस्रो अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका हुन्।

‘एमाले नेतृत्व र कांग्रेसका एकथरिले संविधानको प्रस्तावना र धारा उपधारामा माओवादी नै माओवादी देख्ने गरेका छन्’, अध्यक्ष प्रचण्डले भने, ‘महिला, दलित, जनजाति, मधेशी, मुश्लिम, थारु आदि उत्पीडित समुदाय र क्षेत्रले पाएको अधिकार बढी भएको ठानेका छन्, त्यसैले उनीहरू संविधान संशोधन होइन, कुनै पनि बहाना गरेर यो संविधान उल्ट्याउन चाहन्छन् ।’

दुई दुई पटक संविधान मिचेर संसद विघटन गरेको घटना यसकै उपज रहेको स्मरण गराउँदै उहाँले अहिले पनि यो प्रवृत्ति र प्रयास नरोकिएको बताए । ‘मलाई सरकारबाट हटाउँदा संविधान संशोधनलाई मुख्य एजेण्डाको रूपमा अघि सारिएको थियो तर अहिले आएर प्रधानमन्त्रीले नै २०८७ मा मात्रै संविधान संशोधन हुने भन्न थालेका छन्’, अध्यक्ष प्रचण्डले भने, ‘यसबाट उनीहरू संविधान संशोधनमा इमानदार छैनन् भन्ने देखिन्छ ।’

विगतमासंसद विघटन गर्दा लाखौं जनतालाई सडकमा ल्याएर संघर्ष गरेपछि संविधान मिच्ने प्रयास असफल भएको उल्लेख गर्दै उनले भने, ‘अहिले उनीहरूले चारैतिर घेरा हालेर संविधान च्यात्ने र जनताले पाएको अधिकार खोस्न खोजिरहेका छन् तर हामी भने यसलाई अझै समृद्ध बनाउन र जनताका अधिकार थप्न चाहन्छौँ । प्रतिक्रियावादीहरूको षड्यन्त्र विरुद्ध जनतालाई एकताबद्ध गरेर संविधानको रक्षा र थप अधिकार सुनिश्चित गर्न चाहन्छौँ।’

हिजो संविधान बनाउनै पर्ने बाध्यताका कारण आफ्ना मुद्दाहरूलाई फरक मतको रूपमा राखेर सम्झौतामा अघि बढेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले अब प्रत्यक्ष कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणालीको एजेन्डा अघि बढाउने बताए । यसबाट मात्रै राजनीतिक स्थायित्व कायम हुने सबै वर्ग र समुदायले पनि थप राजनीतिक अधिकार प्राप्त गर्ने बताए  ।

आफूले तेस्रो पटक प्रधानमन्त्री हुँदा सुशासन, सामाजिक न्याय र समृद्धिको ऐतिहासिक अभियान थालनी गर्न पाएकोमा गर्व महसुस भएको बताए । ‘त्यही अभियानअन्तर्गत राजनीतिक र प्रशासनिक निकायका उच्च पदमा रहेकाहरू पनि भ्रष्टाचारको आरोपमा कारबाहीमा पर्दै गए’, अध्यक्ष प्रचण्डले भने, ‘भ्रष्टाचार रहँदासम्म देश अघि बढ्न सक्दैन भनेर नै यो अभियान थालिएको हो ।’

उनले सामाजिक न्याय अन्तर्गत वैदेशिक रोजगारीमा गएका नेपालीहरूका लागि सामाजिक सुरक्षा कोष कार्यान्वयन, मिटरब्याज पीडितलाई न्याय र नागरिकताविहीनलाई नागरिक प्रदान गर्ने कानुन निर्माण लगायतका महत्त्वपूर्ण कामको थालनी गरिएको बताए ।

कमजोर बन्दै गएको अर्थतन्त्रको पुनरुत्थानका लागि थालिएको प्रयास स्वरूप अहिले मुलुकको अर्थतन्त्रमा सुधार आइरहेको पनि उनले स्पष्ट गरे ।

उनले आफू प्रधानमन्त्री हुँदा भारत र चीन भ्रमणमा गएको बेलामा विद्युत् व्यापार, कृषि उत्पादन वृद्धि लगायतका विभिन्न सम्झौता गरिएको उल्लेख गर्दै चीनसँगका विभिन्न परम्परागत नाका खोल्ने सहमति पनि गरिएको जानकारी दिए ।

आफूले तीन पटक चिनियाँ राष्ट्रपतिसँग छलफल गरेपछि भूकम्पपछि रोकिएको कोदारी राजमार्ग सञ्चालन लगायतका प्रक्रियाहरू अघि बढेको पनि उनले स्पष्ट गरे ।

आफूले राष्ट्रिय अन्तर्राष्ट्रिय पहल बिचौलिया र दलालहरूलाई मन नपरेर आफूलाई सरकारबाट हटाइएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले सेटिङमा काम गर्ने र विना मेहनत करोडौँ लुट्नेहरूले आफू अनुकूल सरकार बनाएको बताए । ‘मलाई हटाएको कांग्रेस र एमालेका नेताहरूले भन्दा पनि दलाल, भूमाफिया र बिचौलियाहरूले हो’, उनले भने, ‘उनीहरूले कांग्रेस र एमालेका प्रमुख नेताहरूलाई आफ्नो घरमा बोलाएर सरकार परिवर्तन गरेको जनताले स्पष्टसँग बुझिसकेका छन् ।’

भ्रष्टहरूलाई अब यो भन्दा बढी लुट्ने छूट दिन नसकिने उल्लेख गर्दै उनले नेपाली जनताले एकताको तागत देखाउने बेला आएको बताए । हिजो जनताको पक्षमा लड्दा राज्यले हिंसाको बलमा सिद्ध्याउन खोजेको स्मरण गर्दै अध्यक्ष प्रचण्डले भने, ‘हामी जनताको बलबाट नै संघीय लोकतान्त्रिक गणतन्त्रमा आएको हो, कसैको दया मायाले यहाँ यो व्यवस्था आएको होइन ।’

नेपालको मिनी स्वीटजरल्याण्ड भनेर चिनिने जिरी नेपालको महत्त्वपूर्ण पर्यटकीय स्थल रहेको उल्लेख गर्दै उनले यहाँको भाषिक र सांस्कृतिक महत्त्व पनि उत्तिकै मौलिक र उच्च रहेको बताए । सो क्रममा अध्यक्ष प्रचण्डले विभिन्न पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गर्नेहरूलाई स्वागत गरेका थिए ।

प्रतिक्रिया