काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्री र सत्ताको लोभमा जनता समाजवादी पार्टी नेपाल अध्यादेशको पक्षमा नजाने दावी गरेका छन्। सोमबार जनकपुर विमानस्थलमा पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष प्रचण्डले जसपा नेपाल अध्यादेशको पक्षमा नजाने र रोकिएका अध्यादेश पारित नहुने दावी गरेका हुन्।
‘सदन सुरू भएको छ। तर,अध्यादेश सदनमा प्रस्तुत भएका छन् तर, रोकिएका छन्। विधि प्रक्रियासम्बन्धी विषयमा उहाँहरू अडिनु भएको छ। आफ्नो मुद्दालाई छोडेर सरकारका लागि जानुहुन्छ जस्तो लाग्दैन,’प्रचण्डले भने,’ यदि उहाँहरूले आफ्नो अडान छोड्नु भएन भने राष्ट्रियसभाबाट अध्यादेश पारित नहुने स्थिति बन्दैछ।’
पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डलेसरकारले गलत मनसायले अध्यादेश ल्याएको भन्दै आपत्ती जनाए। उनले भने,’ सरकारले गलत नियतिले अध्यादेश ल्याएको छ। भूमिसम्बन्धी विषय जसरी ल्याइएको छ यसको उद्देश्य गलत देखिएको छ। यो विषयमा मैले सदनमा प्रष्ट भनिसकेको छु।’प्रचण्डले अहिलेको सरकार सुशासन र भ्रष्टाचारका विरुद्धको अभियान रोक्न बनेको आरोप लगाए। ‘यो सरकार जनताको पक्ष र सुशासनको पक्षमा काम गर्न बनेको हुँदैहोइन। सुशासन र भ्रष्टाचारका विरुद्ध चलेको अभियान रोक्न बनेको सरकारको हो। यसबाट राम्रो हुने आशा पनि छैन। यो सरकार असंवैधानिक छ।’
प्रतिक्रिया