February 23, 2025, 9:52 pm
» माओवादीकै कारण नेपाल ‘खतरा’ मा परेको एमाले नेताको ठहर » भर्खरकी इन्सपेक्टरले ब्यारेकमै त्यागिन् प्राण » अब पार्टीभित्र अन्याय हुन दिन्नँ : शेखर कोइराला » मृत्युको पाँच महिनापछि हिज्बुल्लाह नेता नसरल्लाहको अन्त्येष्टि » एकदिवसीय क्रिकेटमा विराट कोहलीको नयाँ किर्तिमान

विपिन रिहाइको पहलः परराष्ट्रमन्त्रीद्वारा इरानका विदेशमन्त्रीसँग फोनवार्ता

माघ २५, २०८१ मा प्रकाशित | ४४०दर्शक तीव्रखबर

काठमाडौँ, । हमास अतिवादी समूहको नियन्त्रणमा रहेका नेपाली युवक विपिन जोशीको रिहाइको कूटनीतिक पहलस्वरुप परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले इस्लामिक गणतन्त्र इरानका विदेशमन्त्री सय्यद अब्बास अराघ्चीसँग फोनवार्ता गर्नुभएको छ ।

हमासको नियन्त्रणमा रहेका जोशीको रिहाइका लागि पहल गरिदिन आग्रह गर्दै मन्त्री डा राणाले गए राति इरानी विदेशमन्त्री अराघ्चीसँग कुराकानी गर्नुभएको हो ।

त्यस अवसरमा विदेशमन्त्री अराघ्चीले हमासका अधिकारीहरुसँग अब हुने बैठकमा आफूले जोशीको रिहाइको मुद्दा प्राथमिकताका साथ उठाउने आश्वासन दिनुभएको परराष्ट्रमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

इजरायल सरकार र हमासबीच युद्धविराम भएपछि आफ्ना  नियन्त्रणमा रहेका बन्दीहरुलाई हमासले मुक्त गर्न थालेको छ ।

हमासको नियन्त्रणबाट जोशीलाई मुक्त गर्न  सरकारले कूटनीतिक पहल जारी राखेको छ । यसक्रममा मन्त्री डा देउवाले अघिल्लो साता इजिप्टका विदेशमन्त्रीसँग पनि टेलीफोनवार्ता गरी जोशीको मुक्तिका निम्ति सहयोग गर्न आग्रह गर्नुभएको थियो ।

इजरायल सरकार र हमासबीच युद्धविरामको प्रयास भएदेखि नै मन्त्री डा देउवाले हमाससँगको शान्तिवार्ताका लागि मध्यस्थता गरिरहेका कतार र इजिप्टसँग जोशीको रिहाइका लागि विशेष पहल गरिदिन आग्रह गरिरहनुभएको छ ।

केही साताअघि मन्त्री डा देउवाले इजरायलका विदेशमन्त्रीसँग पनि यसै विषयमा टेलिफोनवार्ता गर्नुभएको थियो । त्यसैगरी इजरायलका लागि नेपाली राजदूत प्रा डा धनप्रसाद पण्डितले पनि केही दिनअघि इजरायलका राष्ट्रपतिसँग फोनमा जोशीको मुक्तिका निम्ति आग्रह गर्नुभएको थियो ।

जोशीको रिहाइका लागि सरकारले गत वर्षदेखि नै कूटनीतिक प्रयास जारी राखेको छ । मन्त्री डा देउवाले संयुक्त राष्ट्रसङ्घ, अन्तरराष्ट्रिय एवं क्षेत्रीय मञ्चहरु र बैठकमार्फत जोशीको रिहाइका लागि कूटनीतिक प्रयास गरिरहनुभएको छ ।

प्रतिक्रिया