मंहगीलाई सरकारले सकेन नियन्त्रण गर्न, पहाडमा अत्याधिक मुल्यबृद्धि

- March 16, 2021 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । केपी ओली नेतृत्व सरकारले सार्वजनिक कार्याक्रममा आर्थिक बृद्धि भएको र मंहगीलाई समेत नियन्त्रण गरेको बताउदै आएपनि सो असत्य हुन पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको प्रतिबेदनका अनुसार नेपालीको भान्सा महङ्गिदै गएको देखाएको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको सात महिनासम्मको देशको आर्थिक तथा वित्तीय स्थितिमा उपभोग्य वस्तुको मूल्य अकासिएको देखाएको छ । बैंकका अनुसार २०७७ माघमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति २ दशमलव ७० प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ६ दशमलव ८७ प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ३ दशमलव २ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति २ दशमलव ४४ प्रतिशत रहेको उल्लेख गरेको छ ।
२०७६ माघको तुलनामा २०७७ माघमा फलफूल, घ्यू तथा तेल, दाल तथा गेडागुडी र सुर्तिजन्य वस्तुहरु उपसमुहको मूल्यवृद्धि क्रमशः १८ दशमलव ८४ प्रतिशत, १८ दशमलव १४ प्रतिशत, १० दशमलव ४१ प्रतिशत र १० दशमलव ४१ प्रतिशत रहेको छ । समीक्षा अबधिमा काठमाडौं उपत्यकामा २ दशमलव १२ प्रतिशत, तराईमा २ दशमलव ७८ प्रतिशत, पहाडमा ३ दशमलव ३० प्रतिशत र हिमालमा २ दशमलव ५ प्रतिशत मुद्रास्फीति रहेको छ । २०७६ माघमा यी क्षेत्रहरुमा क्रमशः ७ दशमलव ५८ प्रतिशत, ७ दशमलव २९ प्रतिशत, ५ दशमलव ४६ प्रतिशत र ५ दशमलव २८ प्रतिशत मुद्रास्फीति थियो । २०७७ माघमा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ६.१२ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ७.१३ प्रतिशत रहेको थियो । समीक्षा महिनामा उपभोग्य वस्तु, मध्यवर्ती वस्तु र पुँजीगत वस्तुको थोक मूल्यवृद्धि क्रमशः ८.४१ प्रतिशत, ५.३३ प्रतिशत र ३.३९ प्रतिशत रहेको छ । समीक्षा महिनामा निर्माण सामग्रीको थोक मूल्यवृद्धि ६.२५ प्रतिशत रहेको छ ।

केन्द्रीय बैंकका अनुसार २०७७ माघमा वार्षिक बिन्दुगत तलब तथा ज्यालादर सूचकाङ्क १.७७ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही महिनामा उक्त सूचकाङ्क ७.५१ प्रतिशतले बढेको थियो । समीक्षा महिनामा ज्यालादर सूचकाङ्क २.२७ प्रतिशतले बढेको छ । आर्थिक गतिविधि बढेसँगै आयात बढ्दा शोधानान्तरमा यसको असर देखिन थालेको छ । नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको ७ महिनाको तथ्यांक अनुसार देशमा भित्रने र बाहिरिने रकम अन्तर भनिने शोधानान्तर ९७ अर्ब ३६ करोड रुपैयाँले बचतमा रहेको छ । पुस मसान्तसम्म भने शोधानान्तर बचत १ खर्ब २४ अर्ब रुपैयाँले बचतमा गएको छ । शोधानान्तर बचत घट्दै जादा बैंकिङ क्षेत्रमा तरलताको अभाव देखिने गरेको छ । अघिल्लो वर्षको ७ महिनाको तुलनामा भने शोधानान्तर बचत स्थिती राम्रो छ । अघिल्लो वर्षको ७ महिनामा २१ अर्ब ६१ करोड रुपैयाँले शोधानान्तर बचतमा थियो । चालु आर्थिक वर्षको ५ महिनासम्म बचतमा चालु खाता ६ महिनादेखि नै घाटामा जान थालिसकेको छ । आर्थिक वर्ष २०७७÷७८ को सात महिनामा कुल वस्तु निर्यात ७.६ प्रतिशतले वृद्धि भई ६९ अर्ब ९२ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात २२.४ प्रतिशतले वृद्धि भएको थियो । आर्थिक वर्ष २०७७÷७८ को सात महिनामा कुल वस्तु आयात ०.०१ प्रतिशतले वृद्धि भई ८ खर्ब ३ अर्ब ६४ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ३.६ प्रतिशतले घटेको थियो । नेपाल राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा चालु खाता १ खर्ब १ अर्ब ९० करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता १ खर्ब ६ अर्बले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ९३ करोड ६ लाखले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा ८७ करोड १० लाखले घाटामा रहेको छ ।
चालु आर्थिक वर्षको ७ महिनामा ५ खर्ब ६७ अर्ब ७० करोड रुपैयाँ रेमिट्यान्स देश भित्रिएको छ ।जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा १०.९ प्रतिशत वृद्धि भएको हो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ०.७ प्रतिशतले घटेको राष्ट्र बैंकले जनाएको छ ।
यस्तै, समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह ६.७ प्रतिशतले वृद्धि भई ४ अर्ब ८१ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ०.५ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या ७५.९ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या २१.७ प्रतिशतले बढेको थियो । वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ६७.४ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ०.६ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा खुद ट्रान्सफर ८.८ प्रतिशतले वृद्धि भई ६ खर्ब २९ अर्ब ८३ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर १.५ प्रतिशतले घटेको थियो ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!