सवारी साधन र घरजग्गा कर्जा खुकुलो

- May 19, 2024 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं ।  कर्जा विस्तारमा राष्ट्र बैंक लचिलो भएको छ । बैंकिङ प्रणालीमा निक्षेप बढे पनि अपेक्षा अनुसार कर्जा विस्तार हुन नसक्दा अधिक तरलताको स्थिति छ ।

बैंकिङ प्रणालीमा ६१ खर्ब ७५ अर्ब रुपैयाँ निक्षेप छ भने कर्जा लगानी ५१ खर्ब ११ अर्ब रुपैयाँँ छ । निक्षेप तथा कर्जा अनुपात (सीडी रेसियो) ८० दशमलव ५१ प्रतिशत छ ।

यसअनुसार बैंकहरूसँग करिब पाँच खर्ब रुपैयाँँ थप कर्जा प्रवाह गर्नसक्ने क्षमता छ । यही अधिक तरलतालाई व्यवस्थापन गर्न राष्ट्र बैंकले पटक–पटक मौद्रिक उपकरणहरू जारी गरे पनि नियन्त्रणमा आउन सकेको छैन ।

त्यसैले राष्ट्र बैंक मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षाबाट केही क्षेत्रमा कर्जा विस्तारका लागि लचक नीति अवलम्बन गरेको छ ।

राष्ट्र बैंकले शुक्रबार चालू आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै कर्जा विस्तारमा थप लचिलो हुने नीति अघि सारेको हो ।

बैंक तथा वित्तीय संस्थाहरूले हायर पर्चेज कर्जामा एक सय २५ प्रतिशत जोखिमभार कायम गर्नुपर्ने व्यवस्था रहेकोमा त्यसलाई घटाई एक सय प्रतिशत कायम गरेको छ ।

बैैंक तथा वित्तीय संस्थाहरूले खरिद गरेको सेयर एक वर्ष अवधि व्यतीत भइसकेको भए एक आर्थिक वर्षमा आफ्नो प्राथमिक पुँजीको २० प्रतिशतसम्म बिक्री गर्न पाउने व्यवस्था पनि गरेको छ ।

बैंकिङ क्षेत्रबाट प्रवाहित असल वर्गमा वर्गीकरण भएका कर्जाहरूको लागि गर्नुपर्ने विद्यमान कर्जा नोक्सानी व्यवस्था एक दशमलव २५ प्रतिशतबाट घटाइ एक दशमलव २० प्रतिशत कायम गर्ने समीक्षामा उल्लेख छ ।

घरजग्गा खरिद प्रयोजनको लागि ऋण भुक्तानी आम्दानी अनुपातलाई सहजीकरण गरी कर चुक्ता प्रमाण पेस गरेका आधारमा विद्यमान ५० प्रतिशतबाट ७० प्रतिशत कायम गर्ने भएको छ । चाँदी आयात तथा बिक्रीवितरणसम्बन्धी विद्यमान व्यवस्थामा पुनरावलोकन गर्ने भएको छ ।

आन्तरिक तथा बाह्य आर्थिक स्थिति र परिदृश्य समेतका आधारमा विद्यमान पाँच दशमलव पाँच प्रतिशतको नीतिगत दर, ब्याजदर करिडोरअन्तर्गतको तीन प्रतिशतको निक्षेप संकलन दर र सात प्रतिशतको बैंक दरलाई मौद्रिक नीतिको तेस्रो समीक्षाले यथावत् राखेको छ ।

यसैगरी विद्यमान अनिवार्य नगद अनुपात र वैधानिक तरलता अनुपातसम्बन्धी व्यवस्थालाई यथावत् राख्दै राष्ट्र बैंकले ब्याजदर करिडोरलाई प्रभावकारी बनाउन स्थायी निक्षेप सुविधा प्रदान गर्ने व्यवस्थामा आवश्यक पुनरावलोकन गर्ने तयारी गरेको छ ।

बैंक तथा वित्तीय संस्थाहरूको पुँजीकोष थप सुदृढ गर्ने सम्बन्धमा अतिरिक्त उपकरणहरू प्रयोगमा ल्याउन आवश्यक सहजीकरण गर्दै पछिल्लो आन्तरिक एवं बाह्य आर्थिक स्थिति र परिदृश्यका आधारमा वार्षिक मौद्रिक नीतिमा लिइएको सजगतापूर्वक लचिलो कार्यदिशालाई निरन्तरता दिएको छ ।

आर्थिक गतिविधिमा देखिएको सुस्तताको कारण बैंकिङ प्रणालीमा कर्जा असुली प्रभावित भई निष्क्रिय कर्जा अनुपात केही बढेको केन्द्रीय बैंकले जनाएको छ । २०८० चैतमा बैंक तथा वित्तीय संस्थाहरूको औसत निष्क्रिय कर्जा कुल कर्जाको तीन दशमलव ९८ प्रतिशत पुगेको छ ।

पछिल्लो समय केही ठूला बचत तथा ऋण सहकारी संस्थाहरू समस्याग्रस्त हुँदा औपचारिक वित्तीय मध्यस्थतामा पनि प्रभाव परिरहेको देखिन्छ ।

तर, बैंकिङ प्रणालीको खुद निष्क्रिय कर्जा न्यून रहेको, खुद तरल सम्पत्ति नियामकीय व्यवस्थाभन्दा उच्च रहेको, समग्रमा पुँजी पर्याप्तता कायम रहेको एवं पछिल्लो समय लागू गरिएका सुधारका कार्यक्रमहरूको फलस्वरूप वित्तीय क्षेत्र स्थायित्व सबल रहेको छ ।

ब्याजदर घट्दै गएको र पर्यटक आगमन बढिरहेका अवस्थामा राजनीतिक स्थिरतासहित तीनै तहका सरकारको पुँजीगत खर्च बढेमा आर्थिक गतिविधिहरूमा सुधार भई कर्जा माग बढ्ने र कर्जा असुलीमा समेत सुधार आउँदै जाने अपेक्षा केन्द्रीय बैंकको छ । (आर्थिक दैनिकबाट)


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!