काठमाडौं । आर्थिक वर्ष २०७७/७८ का लागि सरकारद्वारा प्रस्तुत गरिएको बजेटलाई नेपाल घरेलु तथा साना उद्योग महासंघले स्वागत गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७७/७८ का लागि प्रस्तुत गरेको बजेट स्वागत योग्य भएको महासंघको ठहर रहेको छ ।सरकारले विशेष गरेर लघु, घरेलु तथा साना उद्योग मार्फत रोजगारी श्रृजना गर्दै मुलुकलाई आर्थिक समृद्धिको बाटोमा अघि बढ्न खोजेको बजेटबाट आभाष पाइएको महासंघका कार्यवाहक अध्यक्ष उमेशप्रसाद सिंहले बताएका छन् । उनले बजेटले गरिव, विपन्न, शैक्षिक बेरोजगार र बैदेशिक रोजगार अवरुद्ध भएका युवाहरुलाई सहकारी संस्था मार्फत कर्जा प्राप्त गरी घरेलु तथा साना उद्योग स्थापना गर्न प्रोत्साहन गर्ने नीति लिएकोमा महासंघले सरकार प्रति अभार प्रकट गरेको भन्दै मुलुकको आर्थिक संवाहकका रुपमा रहेका लघु, घरेलु तथा साना उद्योगको विकास र प्रवद्र्धनका लागि महासंघले गर्दै आएको पहललाई यस बजेटले समेट्न खोजेको बताए ।
कोभिड १९ का कारण हाल संचालनमा अवरुद्ध भएका उद्योगहरुलाई स्वाथ्य सुरक्षा कायम गरि संचालनमा ल्याउने र स्वदेशी कच्चा पदार्थमा आधारित, उच्च मूल्य अभिबृद्धि गर्ने, औद्योगिक ग्राम तथा औद्योगिक क्षेत्रमा स्थापना हुने उद्योगलाई कर प्रणाली मार्फत थप प्रोत्साहन गर्ने नीति बजेटको सकारात्मक पक्ष भएको उहाँले बताए । लघु उद्यमलाई आयकर छुटको अवधि दुई वर्ष थप गरि सात वर्ष र महिला उद्यमीद्वारा सञ्चालित लघु उद्यमीलाई तीन वर्ष थप गरि १० वर्ष पु¥याउनु स्वागतयोग्य भएको महासंघको ठहर छ । लघु, घरेलु तथा साना उद्योगी तथा व्यवसायीलाई लाग्ने आयकरमा वार्षिक रु. २० लाखसम्म कारोबार गर्ने करदातालाई ७५ प्रतिशत, रु. २० लाख देखि ५० लाखसम्म कारोवार गर्नेलाई ५० प्रतिशत र रु. ५० लाख देखि १ करोडसम्म कारोवार गर्ने करदातालाई २५ प्रतिशत छुट दिने व्यवस्था गरिनुले महिला तथा लघु उद्यमीलाई प्रोत्साहन गरेकोमा पनि महासंघले स्वागत गरेको छ ।
सबै स्थानीय तहमा महिला उद्यमशिलता सहजिकरण केन्द्र स्थापना गर्ने उल्लेख हुनुले महिला उद्यमीहरुका लागि प्रोत्साहन मिल्ने महासंघले जनाएको छ । कृषि, पर्यटन तथा वन लगायतका क्षेत्रसँग अग्र र पृष्ठ सम्बन्ध स्थापित हुने साना तथा मझौला उद्योगको विकास र विस्तार गर्न उद्यमशिलता, सीप र प्रविधिको उपयोगमा जोड दिने, स्वदेशी वस्तुको उपभोग गर्दै आन्तरिक उत्पादनलाई प्रोत्साहन गर्न रेशाजन्य वस्तुबाट धागो उत्पादन र स्वदेशी कपडा उद्योगलाई प्रोत्साहन गर्ने उल्लेख बजेटको राम्रो पाटो भएको कार्यबाहक अध्यक्ष सिंहले बताउनुभयो । कोरोनाबाट प्रभावित कृषि, घरेलु तथा साना, होटल, पर्यटन लगायत उत्पादनमूलक उद्योग व्यवसायलाई पुर्नकर्जा ५ प्रतिशत कायम गरिनु सकारात्मक पक्ष भएको भन्दै उनले भने, ‘कोरोनाको कारण देशको श्रम बजारमा कार्यरत विदेशी कामदारहरु स्वदेश फर्किए पछि सिर्जना भएको रोजगारीको अवसर नेपालीले पाउने गरी सीप विकास तालिम र प्रविधिको पहुँच पु¥याउने र कोरोनाको कारण रोजगार गुमेका र तत्काल पुनरुत्थान भई रोजगार सिर्जना हुन नसक्ने क्षेत्रमा कार्यरत रहेका मजदुरहरुको सीप रुपान्तरण गरी अन्यत्र काम गर्न सक्षम तुल्याउन उत्पादन र सेवा क्षेत्रका हस्तकला लगायत विभिन्न क्षेत्रसँग सम्बन्धित सीप विकास तालिम तथा प्रशिक्षण संघ प्रदेशस्तरमा संचालन गर्ने उल्लेख हुनु सकारात्मक पक्ष हो ।’
बैंक तथा वित्तिय संस्थाबाट प्रदान हुने सहुलियतपूर्ण कर्जा कार्यक्रम अन्तरगत बाणिज्य बैंकले प्रति शाखा कम्तिमा १० तथा विकास बैंकले प्रति शाखा कम्तिमा ५ जनाका दरले सहुलियतपूर्ण कर्जा उपलव्ध गराई रोजगारी सिर्जना गर्न नेपाल राष्ट्र बैंक मार्फत व्यवस्था मिलाउने उल्लेख हुनु पनि बजेटको सकारात्मक पक्ष भएको महासंघको भनाई छ । रुग्ण तथा बन्द उद्योगलाई नीजि क्षेत्र समेतको सहभागीतामा थप लगानी, नविन प्रविधिको प्रयोग र व्यवसायिक व्यवस्थापनको माध्यमबाट पुनरुत्थान गर्ने उल्लेख हुनुलाई सकारात्मक रुपमा लिंदै महासंघले उद्योगले पैठारी गर्ने कच्चा पदार्थको भन्सार दर तयारी मालवस्तुको भन्दा कम्तिमा १ तह कम गर्न तप केही वस्तुको कच्चा पदार्थको भन्सार महशुल घटाउने व्यवस्था हुनु राम्रो पक्ष भएको जनाएको छ । समग्रमा बजेटले सबै क्षेत्रलाई समेट्न खोजेको र सन्तुलित देखिएतापनि बजेटमा उल्लेख भएका विषयहरुको कार्यान्वयन प्रक्रिया प्रभावकारी हुनुपर्नेमा जोड दिंदै महासंघले बजेटले अंगालेका नीतिहरुको प्रभावकारी कार्यान्वयनका लागि सरकारसँग अनुरोध गरेको छ । यसका लागि लघु, घरेलु तथा साना उद्यमीहरुको छाता संस्थाको हैसियतबाट महासंघ सहयोग गर्न सदैव तत्पर रहेको जनाएको छ ।
यस बिषयमा तपाइको प्रतिक्रिया...!