January 19, 2025, 2:14 pm
» इजरायलले गर्‍यो हमासले अपहरण गरेका ३३ बन्धकहरूको सूची, विपीन जोशी परेनन् » धोविखोला करिडोरका संरचनामा प्राधिकरणले चलायो डोजर » एमालेले सिन्धुपाल्चोकका दुई पालिकामा छान्यो नयाँ नेतृत्व » प्रधानमन्त्री कप क्रिकेटः कोशीले बागमतीलाई हरायो » Pokhara to host Daai festival from today

दुई लाख सिरियाली शरणार्थी स्वदेश फिर्ता

माघ ६, २०८१ मा प्रकाशित | ३००दर्शक तीव्रखबर

दमास्कस, : सिरियामा लामो समयदेखि शासन गर्दै आएका बसर अल–असदलाई सत्ताच्यु गरिएपछि अन्तरिम सरकार र सहयोगी अन्तर्राष्ट्रिय सङ्घसंस्थाको पहलमा करिब दुई लाख शरणार्थी स्वदेश फिर्ता भएका छन् ।

संयुक्त राष्ट्रसङ्घीय शरणार्थी उच्चायुक्त फिलिप्पो ग्रान्डीले गत वर्षको डिसेम्बर यता करिब दुई लाख सिरियाली शरणार्थी आफ्नो देश फर्केको पुष्टि गर्नुभयो ।

सन् २०२४ डिसेम्बर ८ मा राष्ट्रपति बसर अल असदको सरकार ढलेपछि जनवरी १६ सम्ममा एक लाख ९५ हजार २०० सिरियाली नागरिक स्वदेश फर्किसकेका ग्रान्डीले सामाजिक सञ्जाल एक्समा पोस्ट गरेको तथ्याङ्कमा उल्लेख छ ।

उहाँले शरणार्थी व्यवस्थापनका लागि सिरिया र छिमेकी देशहरूको भ्रमण गर्ने योजना पनि घोषणा गर्नुभएको छ ।

शरणार्थीहरूका लागि संयुक्त राष्ट्रसङ्घीय शरणार्थी उच्चायुक्त (यूएनएचसीआर), संयुक्त राष्ट्र सङ्घीय शरणार्थी निकायको समर्थनलाई बलियो बनाउन समयसीमा निर्दिष्ट नगरिएको भएपनि क्रमिकरूपमा कार्यतालिका सावजनिक गरिने र शरणार्थीको फिर्ती तथा व्यवस्थापन गरिने छ।

यसैबीच, युएनएचसीआरका अनुसार सन् २०२४ मा पाँच लाख ५० हजारभन्दा बढी सिरियालीहरू आफ्नो देश फर्केका छन् । फिर्ता भएका शरणार्थीमध्ये सबैभन्दा बढी हिस्सा उत्तरी अलेप्पो प्रान्तका रहेको बताइएको छ ।

धेरै सिरियाली शरणार्थीले स्वदेश फर्कन चासो देखाए पनि युएनएचसीआरले शुक्रबार सार्वजनिक गरेको प्रतिवेदनमा मिश्रित भावना रहेको उल्लेख गरिएको छ । उनीहरूमध्ये धेरैले सिरियाभित्र आफ्नो जीवन र घरहरू फर्कन र पुनर्निर्माण गर्न सक्षम हुन वित्तीय तथा बन्दोबस्तीका सामानको सहायताको आवश्यकतामा जोड दिएका छन्।

प्रत्युत्तरमा युएनएचसीआर र यसका साझेदार संस्थाहरूले शरणार्थीको स्वदेश फिर्तीका लागि अन्तरनिकाय योजना अघि सारेको प्रतिवेदनमा उल्लेख छ । निकायले शरणार्थी र उनीहरूलाई स्वागत गर्ने समुदाय दुवैका लागि दिगो कोष र सुरक्षा कार्यक्रमहरूको महत्वलाई पनि जोड दिएको छ।

प्रतिक्रिया