January 19, 2025, 2:08 pm
» इजरायलले गर्‍यो हमासले अपहरण गरेका ३३ बन्धकहरूको सूची, विपीन जोशी परेनन् » धोविखोला करिडोरका संरचनामा प्राधिकरणले चलायो डोजर » एमालेले सिन्धुपाल्चोकका दुई पालिकामा छान्यो नयाँ नेतृत्व » प्रधानमन्त्री कप क्रिकेटः कोशीले बागमतीलाई हरायो » Pokhara to host Daai festival from today

वामदेवको मन: एमाले र एस दुईतिरै तानातान

माघ ६, २०८१ मा प्रकाशित | २८०दर्शक तीव्रखबर

नेकपा विभाजनपछि लामो समय ‘यता न उता’ हुँदै ‘राष्ट्रिय एकता अभियान’ चलाइरहेका पूर्व एमाले नेता तथा राष्ट्रिय सभाका सांसद वामदेव गौतमले एकीकृत समाजवादीमा समाहित हुने घोषणा गरेको दुई साता भैसकेको छ । पुस १७ गते दिउँसो आलोकनगरस्थित नेकपा एसको मुख्यालयमा अध्यक्ष माधव नेपालसँग भेटवार्ता गरेका उनले पार्टी एकताको विषयमा सहमति जुटेको र चाँडै आधिकारिक निर्णय गर्ने दावी गरेका थिए ।

‘माधवजी र म एकजुट हुने भइयो । एकताका लागि दुवै पार्टीबीच समझदारी गरेर जाने सहमति भएको छ’, आलोकनगरबाट बाहिरिएलगत्तै उत्साहित हुँदै पत्रकारमाझ यसो भनेका गौतमले फेरि एमालेतिरै जाने मन बनाएपछि एससँगको एकता प्रक्रिया अलपत्र परेको चर्चा हुन थालेको छ ।

नेपालको वाम आन्दोलनमा छुट्टै पहिचान बनाएका गौतम पछिल्लो समय अस्तित्व रक्षाको संकटमा गुज्रिरहेका छन् । कतिसम्म भने ‘केपी ओलीले लिन माने एमालेमा जान्छु’ भन्ने तहको निरीहता उनीबाट प्रकट भैरहेको छ । तर, ‘चित्रगुप्तको हिसाब निकाल्ने’ एमाले अध्यक्ष ओलीले पार्टीमा भित्र्याउन रुचि नराखेपछि बाध्यतामा परेका गौतम अन्तत: एकीकृत समाजवादीमा जाने मनस्थितिमा पुगे । त्यसनिम्ति चरणवद्ध छलफल गर्दै दुवैतर्फबाट कार्यदल बनाएर वार्ता चलिरहेका बेला एमाले केन्द्रीय कमिटीले  गरेको यौटा निर्णयका कारण एकता प्रक्रिया बिथोलिएको बताइन्छ ।

पुस २४ गते सम्पन्न एमाले बैठकले विभिन्न कारणले पार्टी बाहिर रहेका नेता-कार्यकर्तालाई पार्टीमै फर्किन आह्वान गरेपछि वामदेवले मन बदलेको र एससँगको एकता प्रक्रिया अलपत्र परेको दावी उनीनिकटहरुले गरेका छन् । एमालेको सो निर्णयलाई एकता अभियानका महासचिव डीबी कार्कीले त्यहि दिन स्वागत गरेका थिए ।

वामदेवले एमालेमा फर्किन इच्छा जाहेर गरे पनि उनलाई पार्टीमा लिन ओली तयार भैसकेका छैनन् । बरु, माधव नेपालबाहेकको वामपन्थी एकता भन्दै आएका उनले वामदेव बाहेकलाई एमालेमा मिसिन प्रस्ताव गरेको बुझिएको छ । एकता अभियानका एक नेतासँग हालै भएको भेटमा ओलीले ‘वामदेव तत्काल आउन नचाहेको भए तपाईंहरु आउनुस्’ भनेका थिए ।

‘एमालेले हामीसँग कुरा गर्दा तपाईंहरुलाई योग्यता र क्षमताअनुसार जिम्मेवारी दिन तयार छौँ आउनुस् भनेको छ’, वामदेवका एक नेताले भने, ‘विचार र राजनीतिको हकमा अहिलेका लागि दशौँ महाधिवेशनले पारित गरेको नीतिलाई आधार बनाउने, एकता अभियानले अघि सारेका विचारलाई पार्टीको सम्पत्तिको रुपमा ग्रहण गर्ने र उचित समयमा छलफलमा ल्याउने एमालेको कुरा छ ।’

यता, एकीकृत समाजवादीसँग एकताको सहमति जुटेको गौतमले दावी गरे पनि वैचारिक राजनीतिसँगै कार्य विभाजनमा कुरा मिल्न नसकेको बुझिएको छ । जनताको बहुदलीय जनवाद (जबज)लाई पार्टीको मार्गदर्शन सिद्धान्त मान्नुपर्ने एकता अभियानको प्रस्ताव छ । तर,२१औँ शताब्दीको समाजवादी कार्यक्रमलाई मूल कार्यदिशा बनाएको समाजवादीले त्यस सम्बन्धमा निर्णय दिएको छैन ।

अहिलेको संसदीय प्रणालीले राजनीतिक अस्थिरता निम्त्याएको निष्कर्षमा पुगेका वामदेव प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख रहने शासकीय प्रणालीको पक्षमा छन् । एकतापछि पार्टीले शासकीय स्वरूपबारे अहिलेको दृष्टिकोण बदल्नुपर्ने उनको प्रस्ताव छ । तत्काल त्यसबारे निर्णय गर्न सम्भव नहुँदा तल्लो तहसम्मै छलफल चलाउन पाउनुपर्ने माग उनले राखेका छन् ।  तर, त्यसमा माधव नेपाल सहमत छैनन् ।

प्रतिक्रिया