फिडेल क्यास्ट्रोले छाडेनन् अमेरिकाको विरोध गर्न

- September 10, 2016 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काडमाडौं । विश्वका अमेरिका विरोधी केही सशक्त नेताको नाम लिनुपरेमा क्युबाका क्रान्तिकारी नेता तथा पूर्वराष्ट्रपति फिडेल क्यास्ट्रोको नाम अग्र पङ्क्तिमा आउँछ । केही समय अगाडि मात्र आफ्नो ९०औँ वार्षिक जन्मोत्सव मनाएका उनले अझै पनि अमेरिकाको विरोध गर्न छाडेका छैनन् र राष्ट्रपति ओबामाको खुलेर आलोचना गरेका छन् ।

सरसर्ति हेर्दा आजको समयमा आएर क्यास्ट्रोले अमेरिका तथा त्यहाँका राजनेताको विरोध र आलोचना गर्नुमा कुनै उचित र गतिलो कारण देखिँदैन । आफ्नो जमानाका अत्यन्त शक्तिशाली तथा एकोहोरो मिजासका लहडबाज क्यास्ट्रोलाई तत्कालिन सोभियत संघले दशकौंसम्म राजनीतिक काँध थापेको धङधङिले अझै पनि नछोडेको प्रतीत हुन्छ ।

यतिसम्म कि गत मार्चमा भएको अमेरिकी राष्ट्रपति बाराक ओबामाले क्युवा भ्रमणका क्रममा भन्नुभएको क्युबाली जनताले अब आफ्नो भविष्य आफैँले हेर्नुपर्छ भन्ने सुझाव अभिव्यक्ति क्यास्ट्रोलाई ननिको लाग्यो । साथै, गतः मे महिनामा राष्ट्रपति ओबामाले गरेको जापानको हिरोसिमा भ्रमणका क्रममा जापानसँग क्षमा याचना नगरेको भन्दै यसको समेत आलोचना गरे ।

क्रान्तिकारी नेता फिडेल क्यास्ट्रोको पूरा नाम फिडेल अलेज्यान्ड्रो क्यास्ट्रो रुज हो । १३ अगस्ट १९२६ मा जन्मेका क्यास्ट्रो क्युबा क्रान्तिका प्रमुख नेता हुन् । उनले निरन्तर १७ वर्ष भन्दाबढी ः सन् १९५९ फेब्रुअरिदेखि १९७६ डिसेम्बरसम्म क्युबामा प्रधानमन्त्रीको जिम्मेवारी सम्हाले र यस अवधि पछि ३२ वर्षसम्म राष्ट्रपति भए । सन् २००८ फेब्रुअरिमा ८२ वर्षको उमेरमा स्वेच्छाले पदत्याग गरे तापनि उनी क्युबाको कम्युनिस्ट पार्टीका प्रथम सचिव अद्यापि कायमै छन् ।

गत वर्षको अगस्टमा सुरु भएको दौत्य सम्बन्धले अमेरिका र क्युबाबीच ५४ वर्षदेखि रहँदै आएको स्थायी मतभिन्नता पनि चाँडै नै अन्त्य हुने अड्कलबाजी गरिएको थियो । अमेरिकी राष्ट्रपति बाराक ओबामाले जब गतःमार्चमा क्युबाको ऐतिहासिक भ्रमण सम्पन्न गर्नुभयो त्यतिखेरदेखि नै क्युबाली वुद्धिजीवीले अमेरिकासँगको सम्बन्ध सुधारबाट अथाह नयाँ अवसर पाउने र राष्ट्र लाभान्वित हुने सपना देखेका थिए । यस अघिसम्म दुई देशबीचको सम्बन्धमा रही रहेको तिक्तता सामान्यीकरण गर्न र दौत्य सम्बन्ध प्रगाढ पार्नमा अमेरिकी राष्ट्रपतिको गत मार्चमा भएको भ्रमण कोशेढुङ्गा सावित भएको थियो ।

भ्रमणकै क्रममा आयोजित प्रेस सम्मेलनमा राष्ट्रपति ओबामा र समकक्षी राउल क्यास्ट्रोले संयुक्तरुपमा दुई मुलुकबीच चल्दै आएको विवादको विन्दु, आर्थिक नाकाबन्दी र ग्वान्तानामो खाडीमा अवस्थित अमेरिकी नौ सैनिक अखडाको व्यवस्थापन सम्बन्धमा सकारात्मक चर्चा र विश्लेषणसमेत गरेका थिए ।

हवानास्थित रिभोलुसन प्यालेसमा दुई समकक्षीबीच सौहाद्र्र भलाकुसारी भइ रहँदा अमेरिकी राष्ट्रपतिको भ्रमण एक अकल्पनीय सपना सत्यतामा परिणत भएको भन्दै दशौँ लाख क्युबाली जनता उत्साह र उत्सुकतापूर्वक मुलुकभरी आ–आफ्ना टेलिभिजन हेरिरहेका थिए । इतिहासको लामो कालखण्डसम्म प्रतिद्वन्द्वी वा शत्रुवत व्यवहारमा उत्रेका दुई मुलुकबीच पुनःसम्बन्ध कायम हुनुले आगामी अमेरिकी राष्ट्रपति पदमा जोसुकै निर्वाचित भएता पनि उनले यस सम्बन्ध थप सुदृढ पार्दै लग्ने विश्वास गरिएको थियो ।

विश्वबाटै आतङ्कवाद निर्मूल पार्ने अभियानमा होमिएको अमेरिकालाई आफ्नो छिमेकी सानै भएपनि सुदृढ र रसियाली युद्ध प्रविधिसँग परिचित क्युबासँगको सम्बन्ध विस्तारबाट नैतिक र वान्छित शक्ति प्राप्त हुने कुरामा दुई मत हुँदैन । सम्बन्ध विस्तारबाट उसले क्युबालाई झगडिया छिमेकीको सट्टा आफ्नो समर्थक, त्यागी र परिआएमा सम्पूर्ण अमेरिकाली राष्ट्रहरु एक ढिक्का बन्न जेसुकै सहयोग गर्न तत्पर एक घनिष्ठ र इमानदार सहयात्रीको रुपमा पाउने आशा गरेको छ । भौगोलिकरुपमा अमेरिकी सिमानाबाट टाढा नरहेको क्युबा आफ्नो सैद्धान्तिक दुश्मन सोभियत सङ्घसँग काँधमा काँध मिलाउन गएको अमेरिकी नेतृत्वलाई मन परेको थिएन ।

आफूसँग अतिनिकट सम्बन्ध राख्ने क्युबालाई सोभियत सङ्घले अत्याधुनिक हातहतियार र क्षेप्यास्त्रसम्म पनि आपूर्ति गर्ने गरेकोले सानो राष्ट्र भएता पनि अमेरिकासँग निहुँ खोज्ने वा बेला बखतमा उछृङ्खल गतिविधि प्रदर्शन गर्ने क्युबाका पूर्र्वनेताका पदचिन्ह क्यास्ट्रोले पनि दोहो¥याउँदै आए । यस्तो प्रकारको क्रियाकलाप अमेरिका जस्तो महाशक्ति राष्ट्रलाई पच्ने वा सह्य हुने कुरै आएन । फलस्वरुप क्युबालाई धेरै वर्षसम्म अमेरिकाले राजनीतिक वा राष्ट्रिय दुश्मन राज्यको दर्जामा राखिरह्यो । दशकौँदेखि विभिन्न आर्थिक सामाजिक राजनीतिक प्रतिवन्धसमेत लगाउँदै आयो । यसले गर्दा क्युबा झनझन एक्लिँदै गयो । राजनीतिक र आर्थिकरुपमा कमजोर पनि हुँदै गयो ।

सोभियत सङ्घका तत्कालीन राष्ट्रपति मिखाइल गोर्भाच्योेभको पालामा बाल्टिक सागर, क्यास्पियन सागर, कृष्ण सागर ९ब्ल्याक सि० र अराल सागर वरपरका डेढ दर्जनभन्दा बढी गणराज्य छुट्टिएपछि सोभियत सङ्घ गणतन्त्र रुसमा परिणत भयो । परिवर्तित रुसले आफ्नो पकडमा रहेका विश्वका अन्य मुलुकहरुको राजनीतिक भार थामिरहन उचित देखेन र विस्तारै त्याग गर्दै गयो ।
राष्ट्रपति गोर्भाच्योेभको शासनकालको सन् १९८० पछिका वर्षहरु राष्ट्रपति क्यास्ट्रोको तथाकथित क्युबाक्रान्तिका लागि खतरनाक साबित हुँदै गएको पाइन्छ । रुसको छत्रछायाँबाट विमुख भएपछिका दशकमा क्युबाको अस्तित्व आंशिक सङ्कटमा परेता पनि अमेरिकाले क्युबामाथि गिद्धे नजरले हेरेन ।

क्युबाका एकजना विद्वान तथा प्रतिष्ठित राजनीतिक विश्लेषक हेडेलबर्टो लोपेजको विचारमा अब क्युबामाथि अमेरिकाले लगाउँदै आएको प्रतिबन्ध हटाउन र दुई देशबीच व्यापार वाणिज्यको मार्ग प्रसस्त गर्न अब ह्वाइट हाउसले अमेरिकी काँग्रेसलाई दबाब दिनुपर्ने समेत बताएका छन् ।

राष्ट्रपति ओबामा क्युबामाथिको आर्थिक तथा राजनीतिक प्रतिवन्ध तत्काल हटाउने र व्यापारिकसम्बन्ध विस्तारको हकमा पनि अरू मुलुकसरह गर्ने विचारमा रहनु भएता पनि रिपब्लिकन पार्टीको नियन्त्रणमा रहेको अमेरिकी संसद् भने यसमा हतार गरिहाल्नुपर्ने स्थितिमा नरहेको मत राख्दछ ।

अमेरिका र क्युबाबीच सम्बन्ध पुनःस्थापना भएको विषयवस्तुलाई अवलोकन गरी हेर्दा क्युबाली जनता सदैव अमेरिकी भ्रातृत्व र स्नेह पाउने अभिलाषामा रहेका तर विगतका क्युबाली कठोर शासकका व्यवहारका कारण अमेरिकाले क्युबालाई हेर्ने दृष्टिकोणमा परिवर्तन आउन नसक्दा क्युबाली जनताको इच्छा पूरा हुन पाएको छैन ।

सैनिक शासक तथा अत्यन्त कट्टरपन्थी फिडेल क्यास्ट्रोको बहिर्गमनपछि क्युबाका जनताले आफ्नो देशलाई अमेरिकासँग मित्रता गाँस्न स्वतन्त्र र उन्मुक्त भएको महसुस गरे । यद्यपि बहुसङ्ख्यक क्युबालीहरु अझै पनि क्यास्ट्रोलाई स्नेह र सम्मान प्रकट गर्छन् । खरो स्वभावका क्यास्ट्रोलाई अधिकांश क्युबाली राजनीतिक नेता वर्ग, विश्लेषक बर्ग तथा जागरुक र समझदार वर्गका जनताले भित्रभित्रै मन नपराए पनि वा यदा कदा क्यास्ट्रोले प्रदर्शन गरेका अमेरिका विरोधी अर्धबौलट्ठी गतिविधिहरु वा नपच्ने खालका भाषण देखेर, सुनेर मुर्मुरिएता पनि आफ्नो समयमा क्यास्ट्रो एक मात्र यस्तो अनौठो आकर्षण र जादूमय शक्ति भएका राजनेता थिए जसको नेतृत्व, चाहेर होस् वा नचाहेर अधिकांशलाई स्वीकार्य थियो ।

वास्तवमा क्युबामा क्यास्ट्रो समर्थक र विरोधी शक्तिबीच गहिरो आपसी द्वन्द्व चलिरहेको ज्ञात हुन्छ । त्यहाँको गुप्तचर एजेन्सी संस्थाले दिएको सूचनामा अधारित भइ एकजना मन्त्रीले बताएअनुसार यी कट्टर अमेरिका विरोधी नेता सन् १९५९ मा सत्तामा आएपछि सन् २००८ मा अवकाश नलिउन्जेलसम्म दुस्मनले यिनका विरुद्ध विभिन्न थरी र कुनैकुनै त ज्यानै लिनेसम्मका छ सयभन्दा बढी खतरनाक र अनाँैठा षड्यन्त्र रचेका थिए । सिगार ९चुरोट० पिउन सौखिन यिनलाई एकपटक त भित्र विस्फोटक पदार्थले भरिएको सिगार पिलाई मार्ने, अर्को पटक निदाएका बखत दाह्ी उखेलेर पनि मार्ने कोशीससम्म पनि गरिए ।

बहुसङ्ख्यक क्युबालीको मातृभाषा स्पेनिस करोडौँ अमेरिकी जनताको प्रिय भाषासँग मिल्दछ । भाषा मिलेपछि भेषभूषा, संस्कार र विचार स्वतः मिल्ने नै भयो । अमेरिकी भ्रातृत्व र स्नेहको चाहना राख्ने एक करोड भन्दाबढी क्युबाली जनताको सपना पूरा हुन क्यास्ट्रोले छाडेका छाप र प्रभावले रोक्न सक्दैन ।

चौवन्न वर्षदेखिको दुश्मनी जादूको छडी घुमाएजस्तै केही क्षणमै नष्ट हुन सक्दैन । यसले केही समय त अवश्य लिने नै छ । राष्ट्रपतीय निर्वाचनको सङ्घारमा रहेको अमेरिकी प्रशासनले क्युबाली अभिलाषा कतिको चाँडो पूरा गर्ने हो वा नवनिर्वाचित राष्ट्रपतिको विचार क्युबासँगको राष्ट्रिय सम्बन्धमाथि बदलिने हो वा थप सुदृढ पार्न सघाउ पुग्ने हो सो भने आगामी दिनले नै बताउने छन् । रासस÷विभिन्न एजेन्सीको सहयोगमा मोहिनी मिश्र रिसाल


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!