कलाकारितामा नयाँ उचाई खोज्दै हिमाल

- August 13, 2016 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । आफ्नो भविष्य निर्माणको लागी कलाकारितालाई खुड्किलोको रुपमा लिने प्रतिभाहरु दिनानुदिन बढि रहेका छन् । संघर्ष गरिरहेकाहरु अझ मेहनत गरिरहेका छन् भने नयाँहरुका लागी मनोरञ्जन क्षेत्र थप आकर्षणको केन्द्र बनेको छ । यसैको एउटा उदाहरण बनेका छन् एलबी हिमाल राई ।

बुवा चन्द्र बहादुर र आमा विष्णुमायाको कोखबाट सिन्धुली जिल्लाको रतनपुरमा जन्मिएका हिमाल सानो हुँदा देखि नै रेडियोमा आउँने गीतहरु सुनेर नाच्ने गरेको बताउँछन् । जब उनी विद्यालय जान थाले अनि विभिन्न कार्यक्रमहरु देख्दा एकाएक आफूलाई पनि नाच्न मन लाग्ने गरेको स्मरण उनको मानसपटलमा अझसम्म ताजै रहेको बताउँछन् ।

उनले नृत्यकारकै रुपमा भने स्थानीय गौमती उच्च मा.वि.मा सात कक्षा पढ्न थाल्दा आफूलाई उभ्याएका हुन् । विद्यालयले आयोजना गर्ने प्राय कार्यक्रममा आफ्नो प्रतिभाले पुरस्कृत भएको सुखद क्षणको अनुभूति उनले सुनाए । त्यसो त गाउँबाट काठमाण्डौं आएका दाई गोरख राईले विभिन्न नेपाली चलचित्रहरुमा नृत्य गरेको सुन्दा आफू पनि त्यसरी नै नाच्ने कल्पना उनले साँचेका थिए रे । झन् त्यतिबेलाको एकमात्र श्रव्य च्यानल नेपाल टेलिभिजनमा गोरखले कम्मर मर्काएको देख्दा उनलाई कतिबेला काठमाडौं पुगौं भन्ने लाग्थ्यो रे । उनी भन्छन् “नचिनेको नदेखेको मान्छे नाच्दा त मनमा कति उत्सुकता जाग्थ्यो भने चिनेको मान्छेलाई टेलिभिजनमा देख्दा मनमा कताकता डाहा नै लागेर आउँथ्यो ।”

कलाकारितामा जिन्दगी निर्माणको बाटो देखेका हिमाल राईले अध्ययनको सिलशिलामा जब एस.एल.सी पास गरे अनि उनको काठमाडौं प्रवेशको बाटो खुल्यो । उच्चशिक्षा अध्ययनलाई माध्यम बनाएर उनी दुनियाँको सपनाको राजधानी काठमाडौं प्रवेश गरे । काठमाडौंको आरआर क्याम्पसमा उच्चशिक्षाको सुरुवात गरेका हिमाल सोरठी कला केन्द्रमा नृत्यका विद्यार्थी समेत बने ।
हरेक कुराको सपना देख्नासाथ पुरा नहुने हरेक अनुभवहरु छन् उनीसँग पनि । नृत्य सिक्दा सिक्दै केही चलचित्रहरुमा कोरस नृत्य गर्न थाले तर गाउँमा जस्तो आफूखुसी बाँच्न सक्ने अवस्था थिएन काठमाडौंमा । तीन वर्ष जति नृत्य सिक्ने बेलासम्म उनले करीब डेढ दर्जनको हाराहारी चलचित्रहरुमा नृत्य गरी सकेका थिए । त्यतिले मात्र काठमाडौंको जिन्दगी अघि बढ्न सक्ने अवस्था नदेखेपछि उनले पनि नृत्य सिकाउन थाले । करीब आधा दर्जन जति कला केन्द्रहरुमा नृत्य प्रशिक्षकको रुपमा काम गर्दा गर्दै उनी आफैंले द राईजिङ्ग स्टार कला केन्द्र स्थापना गरेर पनि नृत्यको प्रशिक्षण दिएका थिए ।

आफैंले कला केन्द्र स्थापना गरेर प्रशिक्षण दिन थालेपछि भने उनले हायात रिजेन्सी, सांग्रिला, रोयल लगायतका क्यासिनोहरुमा नृत्य कलाकारहरुको नेतृत्व गरे । आर्थिक रुपले त उनको दैनिकीलाई केही सहज बनायो नै तर पनि कलाकारितामा उनले देखेको सपना साकार हुन सक्ने अवस्था देखेनन् । क्यासिनो क्षेत्रमा प्रवेश गरेपछि उनले त्यसैको लागी मात्र समय दिनु पर्ने भयो जसले गर्दा उनी कुहिरोको काग झैं बन्न पुगे । तीन वर्ष जतिको क्यासिनो क्षेत्रको मेहनतलाई पनि उनले विश्राम दिए अनि उनी नृत्य कलाकारकै रुपमा दुबैतिर हानिए ।

९/९ महिनामा आउँने जाने गर्दा गर्दै उनले चार वर्ष जति दुबैमा ओहोर दोहोर गरे । दर्जनौं साँस्कृतिक कार्यक्रमहरु मार्फत आफ्नो नृत्य कला प्रस्तुत गरि सकेका हिमालले आफ्नो कलायात्राको आरोह अवरोह पछि बल्ल भने अभिनय कलालाई अघि बढाउँने निश्चय गरेका छन् ।

केही समय अघि मात्र चर्चित गायिका जुनु रिजालको स्वरमा रहेको तिमी आउँने बाटो हेरी र एउटा तीजको गीतमा समेत अभिनय गरेका हिमाललाई त्यस पछिका दिनमा भिडियोहरुमा अभिनय गर्नको लागी अफरको ओइरो लाग्ने गरेको बताउँछन् । अफर आएका जति सबै भिडियोमा अभिनय गरेर सबैको चित्त बुझाउन मन भएपनि हाल आफैंले एक चलचित्रको निर्माण गर्ने तयारीमा लागेकोले भिडियोमा समय दिन नसकेको उनले बताएका छन् ।

हाल आफ्नै राई जातिको कला, रहनसहन र संस्कृतिमा आधारित रहेर चलचित्र निर्माण गर्ने तयारीमा लागेका हिमालले यसका लागी कलाकार र प्राविधिकहरुको छनोट भई रहेको बताए । हाल उक्त चलचित्रको लागी धमाधम गीत रेकर्डिङ्ग भई रहेको बताउँने हिमालका अनुसार व्यवसायिक रुपमा राई संस्कृति झल्किने गरी निर्माण गर्न लागिएको उनको चलचित्रको नाम भने जुराई सकिएको छैन । असोजको पहिलो हप्तादेखि छायांकनमा जाने उक्त चलचित्रको गीत गणेश सुबेदीले लेखेका छन् भने राजिव शाहले संगीत गरेको कुरा उनले बताए ।

उक्त चलचित्रमा नयाँ तथा केही अहिलेका चर्चित कलाकारहरु समेत राखिने उनले बताएका छन् भने एक मुख्य नायकको भूमिकामा आफैंले निर्वाह गर्न लागेको समेत खुलाएका छन् । आजसम्म कलाकारितामा जे जति भए र ती सबैमा बुवा, आमा, दाई केशव कुमार राई लगायत आफ्नो परिवारका सबै सदस्यहरुबाट समेत सकारात्मक सहयोग र हौसला प्राप्त भईरहेकोले आगामी दिनको सफलतामा खास चुनौती नभएको उनको भनाई रहेको छ ।

हिमालको भिडियो हेर्नुहोस् ।

https://www.youtube.com/watch?v=EhcuQAsmt4E


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!