उम्मेदवारविनै चुनावी प्रचारप्रसार गर्दै कांग्रेस नेता तथा कार्यकर्ता

- November 19, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

भक्तपुर, ०३ मङि्सर : मंसिर १४ गते हुने उपनिर्वाचन नजिकिएसँगै भक्तपुर क्षेत्र नम्बर १ क प्रदेशमा दलहरुको गतिविधि तीव्र बनेको छ।

यसअघि भएको निर्वाचनमा जीत निकालेको सत्तासीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सँगै प्रमुख प्रतिस्पर्धी नेपाली कांग्रेस, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र साझा पार्टीले आफ्नो चुनावी गतिविधि तीव्र बनाएका हुन्।

नेकपाले देवीप्रसाद (डीपी) ढकाललाई उम्मेदवार बनाएको छ। ढकाललाई टक्कर दिन कांग्रेसले कृष्णलाल भडेललाई, नेमकिपाले निरज लवजूलाई, राप्रपाले उत्तमप्रसाद नेपाल र साझाले सुरज प्रधानलाई टिकट दिएका छन्।

डीपीको चुनावी प्रचासमा नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनालसँगै पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठसम्म चुनावी क्षेत्रमा घरदैलो पुगिसकेका छन्। त्यस्तै भक्तपुरमै रहेका नेकपाका केन्द्रीय सदस्य एवं संघीय सांसद महेश बस्नेत, अर्का केन्द्रीय सदस्य एवं भक्तपुर इन्चार्ज दिलीप प्रजापति, सहइन्चार्ज एवं चाँगुनारायण नपाका प्रमुख सोमप्रसाद मिश्रसमेत डीपीको चुनावी प्रचारमा व्यस्त छन्।

यता नेपाली कांग्रेसले भने उम्मेदवारविनै चुनावी प्रचारप्रसारको घरदैलो गरिरहेको छ। कांग्रेस उम्मेदवार भडेलकी माता सेतीमाया भडेलको तीनदिनअघि निधन भएको थियो। त्यसैले भडेल चुनावी प्रचारप्रसारमा जान पाएका छैनन्। उनलाई मातृशोक परेकाले आइतबारको चुनावी प्रचारप्रसार स्थगित गरेको कांग्रेसले सोमबारदेखि भने पुनः चुनावी प्रचारप्रसारलाई तीव्र पारेको छ। सोमबार चाँगुनारायण नपा ८ सुडालमा घरदैलो गरेको कांग्रेसले मंगलबार चाँगुनारायण नपा ८ वडा ताथलीमा गरेको छ।

त्यस्तै नेकपाले भने सोमबार चाँगुनारायण नपा ४ चाँगुनारायणमा घरदैलो गरेको थियो। उक्त घरदैलोमा पूर्वप्रधानमन्त्री झलनाथ खनाल सहभागी भएका थिए। मंगलबार भने चाँगुनारायण नपा ५ छालिङमा घरदैलो गरेको छ। छालिङमा नेकपाका केन्द्रीय नेता अग्नि सापकोटा सहभागी भएका छन्।

कांग्रेसको ताथलीमा भएको घरदैलोमा भने कांग्रेस केन्द्रीय सदस्यद्वय उदयशमशेर जबरा र प्रदीप पौडेल सहभागी भएका छन्। सुडाल र ताथलीमा केही स्थानीय युवाहरु कांग्रेसमा प्रवेश गरेको कांग्रेस निर्वाचन परिचालन संयोजक उद्धव खड्काले जानकारी दिए।

बुधबार भने चाँगुनारायण नपा ७ वागेश्वरीमा घरदैलो कार्यक्रम हुने उनले बताए। उक्त घरदैलोमा कांग्रेस केन्द्रीय सदस्य एवं युवा नेता गगनकुमार थापा सहभागी हुने उनको भनाइ थियो।

नेमकिपाका वडा अध्यक्ष उम्मेदवार नेकपा प्रवेश
यसैबीच नेपाल मजदुर किसान पार्टीका वडा अध्यक्ष उम्मेदवार सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रवेश गरेका छन्। भक्तपुर क्षेत्र नं. १ क प्रदेशको उपनिर्वाचनको मुखमा चाँगुनारायण नपा ८ सुडालको लागि २०७४ सालको स्थानीय तह निर्वाचनमा वडा अध्यक्ष उम्मेदवार गणेशप्रसाद दुलाल नेकपा प्रवेश गरेका हुन्।

मंसिर १४ गते हुने उपनिर्वाचनमा नेकपा र नेपाली कांग्रेसबीच कडा प्रतिस्पर्धा हुने स्थिति छ। दुईको प्रतिस्पर्धामा नेमकिपा पनि अर्को प्रतिस्पर्धी हो।

स्थानीय तहको निर्वाचनमा नेमकिपाबाट वडा अध्यक्षको उम्मेदवारी दिएका दुलालसँगै १९ जना नेकपामा प्रवेश गरेको नेकपा प्रचार संयोजक दामोदर दंगालले जानकारी दिए।

दुलालले नेकपामा प्रवेश गर्नुअघि नेमकिपामा राजीनामापत्र बुझाएको बताइएको छ। नेमकिपाले उनको राजीनामा स्वीकृत नगर्दै उनी नेकपा प्रवेश गरेको बुझिएको छ।
चाँगुनारायण नगरपालिका क्षेत्रमा निरन्तर ओरालो लागेको नेमकिपालाई वडा अध्यक्ष उम्मेदवार नै नेकपामा प्रवेश गरेपछि थप धक्का पुग्ने आँकलन गरिएको छ।

त्यस्तै सुडालकै नेमकिपा समर्थित विद्यार्थी संघका नेता दीपेश दुलाल नेपाली कांग्रेस प्रवेश गरेको कांग्रेस निर्वाचन परिचालन समिति संयोजक खड्काले जानकारी दिए। वडा अध्यक्ष उम्मेदवार गणेश नेकपा र विद्यार्थी नेता दीपेश कांग्रेस प्रवेश गर्दैगर्दा नेमकिपाकै अर्का कार्यकर्ता आत्माराम दुलाल भने राजावादी राप्रपा प्रवेश गरेका छन्। साभार


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!