घुमुवा प्रहरीको यस्तो कर्तुत :तस्करी देखि असुलीसम्म

- November 12, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

महोत्तरी,कार्तिक २६ । सशस्त्र  बल, २ नम्बर प्रदेशका डिआइजी राजु अर्यालले तस्करी नियन्त्रणका लागि अनेकन प्रयत्नहरू गरिरहेका छन् ।

पुराना धेरै घुमुवाहरूलाई बाहिनीमा थन्क्याएका छन्, गणमा थन्क्याएका छन्, कतिपयलाई मुख्यालयमा समेत अनुरोध गरेर आफ्नो प्रदेशबाट हटाउन लगाएका छन् ।

कतिलाई कारवाही गरेका छन्, धेरैलाई घटुवा गरेका छन्, सयौँको हाराहारीमा नसिहत पाउनेहरू छन्, तर पनि घुमुवाहरूको असुलीधन्दा भने रोकिएको छैन । डिआइजी स्वयम्लाई सबै कुराहरू रिपोर्टिङ नहुने र थाहा नहुनु पनि स्वाभाविकै हो ।

डिआइजी कार्यालयमा नै कार्यरत रहेका घुमुवाहरू वरिष्ठ हवल्दार सुरेश महतो र सिपाही रोशन मिश्रको असुलीधन्दाले अहिले सर्लाहीको बरहथवा क्षेत्रका व्यापारीहरू आजित बनेका छन् । रोशन मिश्र २ नम्बर प्रदेशमा लामो समयदेखि घुमुवाका रूपमा परिचालित बदनाम प्रहरी हुन् ।

दर्जा सानो भए पनि उनको सम्पर्क र सम्बन्ध एवम् असुल्ने काइदा भने ठूलो रहेको व्यापारीहरू बताउँछन् । पहिले २ नम्बर प्रदेशमा नै डिआइजी रहेका र हाल मुख्यालयमा प्रशासन हेर्ने कविन्द्रमान श्रेष्ठले रोशन मिश्रलाई संरक्षण गर्ने गरेको बाहिनीकै प्रहरीहरू बताउँछन् । त्यसैले पनि उनको कहीँ सरुवा काज हुँदैन ।

कविन्द्रमान कै सिफारिशमा डिआइजी राजु अर्यालले समेत निजलाई सिभिलमा परिचालन गरेको यहाँका प्रहरीहरू बताउँछन् । वरिष्ठ हवल्दार महतो र सिपाही रोशन मिश्र दुवै सर्लाहीका नै हुन् । त्यसैले पनि उनीहरूले बरहथवा क्षेत्रका व्यापारीहरू श्याम महतो, मनोज साह, प्रवंश शाह, राजेश ठाकुरजस्ताहरूबाट रकम असुली गरिरहेको उनै व्यवसायीहरू बताउँछन् ।

यी व्यापारीहरू कपडा, खैनी, कुखुराको चल्ला, मेसिनरी पार्टपूर्जालगायतका काम गर्ने गर्दछन् । उनीहरूसँग विभिन्न बहानामा रकम असुल्ने काम यी घुमुवाहरूले गर्दै आएका छन् । घरायसी सामानहरू पक्राउ गरेको देखाउने र कपडा र मेसिनरी पार्टपूर्जाहरू रकम लिएर छोड्ने गरेको समेत पीडित व्यवसायीहरूले गुनासो गरेका छन् । सिपाही रोशन मिश्र सुन्दरपुर बिओपीमा ४ वर्ष घुमुवा बसिसकेपछि तत्कालीन डिआइजी कविन्द्रमान श्रेष्ठले बाहिनीमा तानी घुमुवाका रूपमा परिचालन गरेका थिए ।

यसैबीच सशस्त्र प्रहरी बल नेपाल नं. १४ हे.क्वा. (राजस्व तथा भन्सार गस्ती सुरक्षा)ले दुई जना प्रहरीलाई घुमुवाका रूपमा परिचालन गरेको र ती घुमुवाहरूले खुलेआम रकम असुली गरिरहेका छन् । सशस्त्र प्रहरी बल नेपाल नं. १४ हे.क्वा.(राजस्व तथा भन्सार गस्ति सुरक्षा)का प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक अमर खत्रीले ती घुमुवाहरू परिचालन गरेका हुन् ।

परिचालन भएका घुमुवाहरूमा प्रहरी जवान सरोज यादव र हवल्दार सुरेश महतो छन् । ती घुमुवाहरूले तस्करदेखि व्यापारीहरूसँग रकम असुली गरिरहेको समाचारहरू बाहिर आए पनि उनीहरूलाई कुनै कारवाही भएको छैन । पर्साका विभिन्न नाकाबाट तस्करी गर्ने तस्करदेखि अन्य व्यापारी र ट्रान्सपोर्टहरूबाट समेत यी घुमुवाहरूले खुलेआम रकम असुली गरिरहेका छन् ।

यसैबीच सशस्त्र प्रहरीको २ नम्बर प्रदेशले विगत ३ महिनामा मातहतका विभिन्न जिल्लाबाट ८ करोड ९४ लाख ७७ हजार ३ सय रूपैयाँ मूल्यबराबरको तस्करीको सामान बरामद गरी भन्सार बुझाएको छ । अवैधरूपमा नेपाल भित्र्याउँदै गरेका सामान, स्रोत ेनखुलेको रकम, अवैध रुख कटान गरी ल्याउँदै गरेको काठसमेत बरामद गरेर सम्बन्धित निकायमा बुझाएको डिआइजी राजु अर्यालले जानकारी दिएका छन् ।

सशस्त्र प्रहरी बल, नेपाल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय तथा मातहत कार्यालयहरूले आर्थिक वर्ष ०७६÷७७ को पहिलो त्रैमासिकमा अघिल्लो आर्थिक वर्षको तुलनामा १०३ प्रतिशत बढी सामान बरामद गरेको बाहिनीले जानकारी गराएको छ । गतआव ०७५÷७६ को पहिलो त्रैमासिकमा ४ करोड ४१ लाख २४ हजार ५ सय ४२ रूपैयाँ बराबरको अवैध सामाग्रीहरू बरामद गरिएकोमा चालु आर्थिक वर्षको तीन महिनामा ३६ लाख ६ सय ६७ रूपैयाँ मूल्यको ५९.१३५ किलोग्राम चाँदी, १८ लाख ४४ हजार ९५ रूपैयाँको ७७१.९१ क्युफिट काठ, स्रोत नखुलेको अवैध रकम ३८ लाख २८ हजार २ सय ३५ र अन्य अवैध सामाग्रीहरू ८ करोड २ लाख ४ हजार ३ सय ३ रूपैयाँको बरामद गरिएको बाहिनीले जानकारी गराएको छ । त्यसैगरी सशस्त्र प्रहरीले चेकजाँच र गस्तीको क्रममा प्रदेशका विभिन्न जिल्लाबाट ४ वटा कटुवा पेस्तोल, १२ बोरको बन्दुक १ नाल, भरुवा बन्दुक २ नाल, गरी कुल ७ वटा हतियार, १४ वटा राउण्ड, ६ वटा क्याप र १ सय ५० ग्राम बारुद, गाँजा १ सय ६७.६८ किलो, चरेश २५ किलो, ब्राउन सुगर २ प्याकेट र अन्य लागूऔषध ७ हजार ८ सय ६६ पिस बरामद गरेको छ ।

लागूऔषध, विष्फोटक पदार्थ, हातहतियार ओसारपसारमा संलग्न ३६ जनालाई नियन्त्रणमा लिएको थियो । सशस्त्र प्रहरीले प्रदेश नं २ मा सीमा क्षेत्रहरूमा हुने अवैध चोरी, निकासी, तस्करी र अवैध हातहतियार तथा लागूऔषध ओसारपसार नियन्त्रणलाई मुख्य प्राथमिकतामा राखेर काम गरिरहेको सशस्त्र प्रहरी नायब महानिरीक्षक राजु अर्यालले बारम्बार मातहतलाई बताउँदै आएका छन् । ‘भ्रष्टाचारमा शून्य सहनशीलताको नीतिलाई आफूहरूले अवलम्बन गरेको र त्यसैअनुसार मातहतलाई पनि परिचालन गरिएको डिआइजी अर्यालको भनाइ छ ।

झापा ट्राफिकको असुलीमा अख्तियार मौन
दमक । ट्राफिक प्रहरीको असुलीले आक्रान्त भएका यातायात व्यवसायीहरूले बारम्बार अख्तियारमा गुनासो र भिडियो एवम् अडियो रेकर्डसमेत बुझाएपछि काभ्रे ट्राफिकका प्रहरीहरू आयोगको स्ट्रिङ अप्रेसनमा परे । सिन्धुली ट्राफिकका एक असई पनि आयोगकै स्ट्रिङ अप्रेसनमा परे । लाइसेन्स निकाल्दिने भन्दै दलालसँग सेटिङ गरेको अभियोगमा झापा ट्राफिकका असई अहिले विशेष अदालतमा मुद्दा खेपिरहेका छन् । यी त केही प्रतिनिधिमूलक घटनामात्र हुन् ।

तर पनि ट्राफिकको असुलीधन्दा रोकिएको छैन । तर, अख्तियारको स्ट्रिङ अप्रेसन भने रोकिएको छ– ट्राफिक प्रहरीको ज्यादतीका हकमा । ट्राफिक प्रहरीको ज्यादती र असुलीधन्दाका बारेमा जानकारी लिनका लागि आयोगले झापाको छड्के निरीक्षण गर्दा पनि थाहा हुन्छ । झापा ट्राफिकमा खुलेआम घुस लिएका दृश्यहरू राजमार्गमा जोकोहीले पनि देख्न सक्छ ।

दिउँसो प्रायः राजमार्गमा नदेखिने ट्राफिक प्रहरीहरू जब दिन ढल्कँदै जान्छ काकडभिट्टा भन्सारबाट मालबाहक नेपाली र भारतीय नम्बर प्लेटका ट्रकहरू छुट्न थाल्छन् तबमात्रै ट्राफिक प्रहरीहरू सडकमा देखिन थाल्छन् । काकडभिट्टा, इँटाभट्टा, धुलावारी, चारआली, अनारमनि हुँदै दमकसम्म ट्राफिक प्रहरीहरू देखिन्छन् । चेकिङका नाममा ट्राफिक पोष्ट भएका ठाउँहरूमा ती गाडीहरू रोकिन्छन्, कागजपत्र मागेको झैँ गर्छन्, गाडीका चालकहरूले बुझ्दछन् ती ट्राफिकले पैसा खोजेको ।

त्यही ब्लुबुकभित्र चालकले रकम हालेर दिन्छन्, त्यसपछि ट्राफिकले छोडिदिन्छ । यो घटना दिनहुँजसो काकडभिट्टादेखि दमकसम्म अपरान्हका समयमा देख्न सकिन्छ । यो संवाददाताले पनि यी दृश्यहरू देख्यो । झापा ट्राफिक मातहत रहेका झण्डै डेढ दर्जन ट्राफिक पोष्टहरूबाट एकातर्फ प्रहरी निरीक्षक होम अधिकारीका नाममा खुलेआम रकम असुल्ने भइरहेको छ । असुली गर्नेले पनि आफ्नो भाग त राख्नै प¥यो । ट्राफिक प्रहरीको खुलेआम असुलीमा अख्तियार किन मौन रहेको होला भनी अनारमनि इलाका प्रहरी कार्यालयमा कार्यरत एक जुनियर प्रहरी अधिकृतलाई भेटघाटका क्रममा जिज्ञासा राख्दा उनले भने– इन्स्पेक्टर अधिकारीको इटहरी अख्तियारमा राम्रो सेटिङ छ ।

उनी निरीक्षक हुनासाथ नै पहिलो पटक इटहरी अख्तियारमा नै पोष्टिङ भएका थिए । इटहरी अख्तियारका तत्कालीन प्रमुख प्रहरीका एसएसपी रविन्द्र शर्माको अत्यन्तै विश्वासपात्र भएर उनी १ नम्बर प्रदेशमा रेकी गर्न हिँड्थे । एसएसपी शर्माले उनलाई रेकी गर्न पठाउँथे । त्यतिबेलादेखि नै मोरङ र झापाका ट्रान्सपोर्टदेखि क्रसर उद्योगका सञ्चालकहरूसँग मात्रै होइन ड्राइभिङ स्कुलका सञ्चालकहरूसँग समेत निरीक्षक अधिकारीको नजिकको सम्बन्ध र उठबस रहेको थियो ।

अख्तियारको इटहरी शाखामा तत्कालीन अवस्थामा कार्यरत प्रहरीका एसपी लालमणि आचार्यलाई समेत प्रभावमा पारेर निरीक्षक होम अधिकारी आचार्यसँगै धनुषा जिल्लामा सरुवा भए । त्यसपछि धनुषाको सबैभन्दा अतिरिक्त आम्दानी हुने तस्करीको अखडाका रूपमा चिनिने खजुरी इप्रकाको प्रमुखसमेत भए । त्यसपछि इलाका प्रहरी कार्यालय अनारमनि सरुवा भएको ८ महिना बित्न नपाउँदै उनी सोही कार्यालयसँगै रहेको झापाको ट्राफिक प्रहरी प्रमुखका रूपमा सरुवा भएका हुन् ।

एक प्रहरी अधिकृतले भने– जागिरको दौरान उनको झण्डै ७५ प्रतिशत समय पूर्वक्षेत्रमा नै बितेको छ । सई हुँदा दमकको ट्राफिक प्रमुख हुँदा नै उनले दमकमा करोडौँको आलिशान महल बनाइसकेका छन् ।

नेकपाका संसदीय दलका उपनेता सुवास नेम्वाङका स्वकीय सचिव बुद्धि खनालको बहिनीज्वाइँ भएकै कारण निरीक्षक होम अधिकारीले जागिरको दौरान नराम्रा ठाउँहरूमा जानु परेको छैन, पोष्टिङ हुनु परेको छैन, जहाँ जहाँ अतिरिक्त आम्दानी हुन्छ र सुविधा भोग गर्न पाइन्छ त्यही ठाउँमा होम अधिकारीको सरुवा हुँदै आएको कप्रमा रहेको उनको ड्रोसियर फाइलले पनि पुष्टि गर्दछ । कारण एउटै हो– उनका जेठान नेम्वाङका पिए बुद्धि खनालको करामद ।

लाइसेन्सको सेटिङ झापा ट्राफिकको अर्को ठूलो अतिरिक्त आम्दानीको स्रोत हो । पवन गिरी पूर्वक्षेत्रको ट्राफिकको एसपी हुँदा सबैभन्दा बढी लाइसेन्सको सेटिङ झापामा हुने गर्दथ्यो । अहिले पनि भित्र बाहिर सेटिङ गरी बेलामौकामा यसरी नै लाइसेन्स वितरण हुँदै आएको छ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले झापा ट्राफिकमा अर्कै निरीक्षकलाई पठाउने अन्तिम तयारी गरिरहँदा सुवास नेम्वाङको सोर्स र नाम भजाउँदै उनका स्वकीय सचिव बुद्धि खनालले आफ्ना बहिनी ज्वाइँ होम अधिकारीलाई झापा ट्राफिकमा सरुवा गराएका थिए ।

अख्तियारको इटहरीमा कार्यरत रहिसकेको र सुवास नेम्वाङका स्वकीय सचिवको बहिनी ज्वाइँ भएकै कारण होला झापामा ट्राफिक प्रहरीको नांगो असुली हुँदा पनि इटहरीको अख्तियार चुप छ । १ नम्बर प्रदेशको ट्राफिक प्रहरी प्रमुख रहेका एसपी भीम दाहालको त कुरै छाडौँ ।

अब इटहरी अख्तियारले स्ट्रिङ अप्रेसन नगरेपछि अब टंगालस्थित अख्तियारको केन्द्रीय कार्यालयले नै स्ट्रिङ अप्रेसन गरिदिए हुन्थ्यो भन्ने गुनासो यहाँका व्यवसायीहरूको रहेको छ । नव जनप्रहारका साथमा ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!