October 18, 2024, 8:29 am
» पर्यटकको पर्खाइमा भोजपुरको छाँगे झरना » सुनको मूल्य प्रति आउन्स दुई हजार ७०० डलरभन्दा माथि » दाङमा टिप्पर दुर्घटना, चालकको मृत्यु » Gold price reaches all-time high, trading at Rs 164,400 per tola » सलमान खानलाई फेरि आयो ज्यान मार्ने धम्की

कोशीमा ‘दुर्व्यसनीविरुद्ध आमाहरू’ अभियान

साउन १, २०८१ मा प्रकाशित | ५८०दर्शक तीव्रखबर

विराटनगर : कोशी प्रदेशमा लागूऔषधमुक्त समाजको परिकल्पनासहित समुदाय केन्द्रित गरेर प्रहरीले ‘दुर्व्यसनीविरुद्ध आमाहरू’ अभियानलाई तीव्र पारेको छ।

दुर्व्यसनरहित समाज निर्माणको उद्देश्य राखेर नेपाल–भारत सीमा नाकालाई लक्षित गर्दै विभिन्न निकाय र सरोकारवालासँग समन्वय गरी अभियान चलाइएको हो। अभियानले लागूऔषध प्रयोगकर्ताहरू निरुत्साहित भएर दुर्व्यसनमुक्त समाज निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा छ। स्थानीय सरकारसमेतको सक्रियतामा २०८० चैत १४ गतेबाट सुरु गरिएको अभियानमार्फत लागूऔषधको दुर्व्यसनविरुद्ध विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन भइरहेको प्रहरीले जनाएको छ।

पछिल्लोपटक गत आइतबार विराटनगर महानगरपालिका–१६ रानीमा जिल्ला प्रहरी कार्यालय मोरङ, इलाका प्रहरी कार्यालय रानी र सामुदायिक प्रहरी सेवा केन्द्र रानीको सहकार्यमा दुर्व्यसनीविरुद्ध सचेतनामूलक कार्यक्रम गरिएको थियो। कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी चन्द्रकुवेर खापुङको अध्यक्षतामा भएको कार्यक्रममा विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला प्रमुख अतिथि थिए।

डीआईजी खापुङले लागूऔषधको दुर्व्यसनलाई निरुत्साहित गरी स्वास्थ्य र सुखी परिवार तथा समुन्नत समाज निर्माण गर्न प्रदेशमा ‘दुर्व्यसनीविरुद्ध आमाहरू’ अभियान सञ्चालन गरिएको जानकारी दिए। बालबालिकाहरूसँग सबैभन्दा बढी समय बिताउने हुँदा उनीहरूको बानी र व्यवहारमा आएको परिवर्तन आमाहरूले सहजै बुझ्ने तथा महसुस गर्ने भएकाले आमा समूहलाई अगुवा बनाएर अभियान तीव्र पारिएको उनको भनाइ छ।

‘व्यक्तिगत तथा पारिवारिक समस्या, कलह, असफलता, अपहेलना र साथीभाइको लहैलहै एवं गलत संगतमा लागेर युवाहरू लागूऔषधको कुलतमा फस्ने गरेका छन्,’ खापुङ भन्छन्, ‘यस्तो अवस्था आउन नदिन आमाहरू जागरुक र सजग हुनुपर्छ।’ आमाहरू जिम्मेवार भएमा दुर्व्यसन न्यूनीकरणमा मद्दत पुग्ने उनले प्रष्ट पारे। परिवारका हरेक सदस्यको समस्या बुझेर बेलैमा समाधान गर्नतर्फ लागेमा दुर्व्यसनमुक्त समाज निर्माणमा सहयोग पुग्ने उनको भनाइ छ। ‘हामी समाज बिग्रियो भन्छौं। सबै जिम्मेवार भएर पहिला घरलाई सुधार गर्ने हो भने समाज र राष्ट्र नै दुर्व्यसनीमुक्त हुनेछ। पहिला घरबाटै सुरु हुनुपर्छ। घरपरिवार नै जिम्मेवार हुनुपर्छ,’ खापुङले भने।

विराटनगरका मेयर कोइरालाले दुर्व्यसन न्यूनीकरणमा परिवारसँगै आमाहरूको महत्वपूर्ण भूमिका हुने बताए। ‘घरपरिवार सचेत भए परिवारका कोही पनि सदस्य दुर्व्यसनमा फस्दैनन्,’ उनले भने, ‘आफ्ना छोराछोरी कता जाँदैछन्, के गर्दैछन् भनेर ख्याल राख्नुपर्छ।’  परिवारका सदस्यसहित आमाहरूले घरमा छोराछोरीसँग गफ गर्ने, समस्या सुनिदिने, घुलमिल हुने र उनीहरूका कुरालाई सम्बोधनको प्रयास गर्ने गर्दा सन्तान गलत बाटोमा नलाग्ने कोइराला बताउँछन्।

‘कोही व्यक्ति रहरले नभइ बाध्यता र विवशताका कारण दुर्व्यसनी बनेको पाइन्छ,’ उनले भने। लागूऔषध नियन्त्रणका लागि महानगरपालिका सक्रिय बनेको बताउँदै कोइरालाले सीमावर्ती वडाहरूमा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न बजेटसमेत छुट्टाइएको उल्लेख गरे। मेयर कोइरालाले सीमावर्ती भारतीय बजारका औषधि पसललाई लागूऔषध बिक्री गर्न नदिन भारतीय पक्षसित कुराकानी भइरहेको जानकारी दिए।

मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले लागूऔषध दुर्व्यसनी समाज सुधारको बाधकका रूपमा देखा परिरहेको बताए। ‘समाजलाई बिरामी र रोगी हुनबाट जोगाउन सबै लाग्नुपर्छ। दुर्व्यसनीहरू कुलत छाडेर असल नागरिक, नेता, कर्मचारी, व्यापारी, उद्योगी, बन्न सक्छन्,’ उनले भने।

विराटनगर–१५ का वडाध्यक्ष प्रकाश साहले सीमावर्ती क्षेत्रमा हुने लागूऔषधको ओसारपासर, बिक्रीवितरण र सेवनलाई न्यूनीकरण गर्न सरोकारवाला निकायबीच सहकार्य आवश्यक रहेको बताए। प्रयोगकर्तालाई मात्रै लक्षित गरेर कार्यक्रम सञ्चालन गर्दा अभियानले सार्थकता नपाउने उनको भनाइ छ। ‘लागूऔषधका प्रयोगकर्तासँगै बिक्रेता, ओसारपसारमा संलग्न व्यक्तिहरूसम्म अभियान पुग्नुपर्छ। यसमा राज्यको विशेष ध्यान जान जरुरी छ,’ साह भन्छन्।

कोशी प्रदेश प्रहरी कार्यालयका एसएसपी भीमबहादुर दाहालले समाजमा लागूऔषध दुर्व्यसनको अवस्था भयावह रहेको बताए। दुर्व्यसनीले परिवार र समाजलाई ध्वस्त बनाउने अवस्थामा पुगेको भन्दै दाहालले बेलैमा सबै पक्षले ध्यान दिन आवश्यक रहेको औंल्याए। उनका अनुसार कोशी प्रदेशमा लागूऔषध सेवन गर्नेमध्ये ५३ प्रतिशत १६ देखि २५ वर्ष उमेर समूहका व्यक्तिहरू छन्। प्रदेशमा ४ हजार ५ सय महिलासहित ३४ हजार दुर्व्यसनी रहेको तथ्यांक उनले प्रस्तुत गरे। ‘दुर्व्यसनीविरुद्ध आमाहरू’ अभियानअन्तर्गत १ सय २४ स्थानमा समूह गठन गरेर अभियानलाई तीव्र पारिएको जानकारी दाहालले दिए।

मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीले लागूऔषध सेवन गर्नेको संख्या हरेक वर्ष बढ्दै गइरहेको बताए। आर्थिक वर्ष २०८०/०८१ मा मोरङमा दर्ता भएका ३ सय २५ वटा लागूऔषधका मुद्दामध्ये २ सय ३४ वटा फर्स्यौट भइसकेको जानकारी उनले दिए। कार्कीका अनुसार लागूऔषध मुद्दामा २६ महिलासहित ४ सय ३० जना पक्राउ परेका छन्।

उनका अनुसार ५ सय ७८ ग्राम खैरो हिरोइन, २ हजार २ सय २५ किलो गाँजा, ३ हजार १ सय ८३ एप्पुल र ५ हजार ६८ ट्याब्लेट तथा ८१ दशमलव ४ सय ९० ग्राम चरेस बरामद भएको छ। प्रहरीको एक्लो प्रयासले मात्रै लागूऔषध नियन्त्रण गर्न गाह्रो भएकाले सबैको सहकार्य र समन्वय आवश्यक रहेको एसपी कार्की बताउँछन्। लागूऔषधको प्रयोगले व्यक्तिगत जीवन, परिवार र समाजलाई असर पुर्‍याउनुका साथै समाजमा अपराध पनि बढिरहेको उनले बताए।

प्रतिक्रिया