September 19, 2024, 4:38 pm
» श्रीलङ्कामा आर्थिक मन्दीपछि पहिलोपटक शनिबार मतदान हुँदै » ‘काठमाडौंवासीलाई घटस्थापना अघि मेलम्चीको पानी’ » बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन » क्यान्सरको आशंकामा मासु लिएर चेक गर्न खोज्दा नमान्ने राउटे युवाको डिस्चार्जलगत्तै मृत्यु » अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ

महिनामै २ खर्ब थप पैसा थुप्रिँदा भटाभट घट्यो ब्याजदर

साउन १, २०८१ मा प्रकाशित | ६४०दर्शक तीव्रखबर

काठमाडौं : बैंकिङ प्रणालीमा पछिल्लो एक महिनामै करिब दुई खर्ब रुपैयाँ निक्षेप थुप्रिएको छ। प्रणालीमा अधिक पैसा थुप्रिएपछि बैंकहरूले ब्याजदर पनि भटाभट घटाउन थालेका छन्। वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरूमा जेठ मसान्तसम्म ६२ खर्ब ६० अर्ब रुपैयाँबराबरको निक्षेप संकलन भएकोमा असार अन्तिम सातातिर ६४ खर्ब ५७ अर्ब रुपैयाँ निक्षेप थुप्रिएको छ।

प्रणालीमा रहेको कुल निक्षेपमध्ये सञ्चालनमा रहेका २० वाणिज्य बैंकमा मात्रै ५७ खर्ब २९ अर्ब निक्षेप संकलन भएको छ। जबकि यसअघिको महिना जेठमा ५५ खर्ब ४० अर्ब रुपैयाँबराबरको निक्षेप संकलन भएको थियो। निक्षेप बढ्ने तर कर्जाको माग खासै नहुँदा प्रणालीमा पर्याप्त लगानीयोग्य पुँजी (तरलता) थुप्रिएको छ। जसले गर्दा कर्जा निक्षेप अनुपात ७७.७५ प्रतिशतमात्रै छ।

बैंकहरूले १ सय रुपैयाँ निक्षेपमा ९० रुपैयाँ कर्जा दिन पाउँछन्। अर्थात् नेपाल राष्ट्र बैंकले तोकेको अधिकतम सीडी रेसियो ९० प्रतिशत छ। यस हिसाबले प्रणालीमा १२.२५ प्रतिशत अधिक तरलता छ। असार २६ गतेसम्ममा कुल ५१ खर्ब ५० अर्ब कर्जा प्रवाह भएकोमा वाणिज्य बैंकमार्फतमात्रै ४५ खर्ब ५५ अर्ब रुपैयाँ ऋण लगानीमा छ।

बैंकिङ प्रणालीमा झन्डै ९० प्रतिशत हिस्सा ओगट्ने वाणिज्य बैंकमा यतिबेला अत्यधिक पैसा थुप्रिएकाले साउनका लागि भटाभट ब्याजदर घटाएका छन्। आजदेखि (साउन १ गते) बाट लागू हुने गरी साधारण बचत खाता र मुद्दती निक्षेपमा १३ वाणिज्य बैंकहरूले ब्याजदर घटाएका छन्। तर मुद्दतीमा कृषि विकास बैंक र सिटिजन्सले मात्रै ब्याजदर झिनो बढाएका छन्। यससँगै पाँच वाणिज्य बैंक (लक्ष्मी स्नराइज, नबिल, नेपाल इन्भेस्टमेन्ट मेगा, नेपाल एसबीआई र स्ट्यान्र्डर्ड चार्टर्ड)को निक्षेप भने यसअघिकै स्थिर कायम रहेको छ।
साउन महिनामा वाणिज्य बैंकहरूको अधिकतम व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर औसत ६.७३९ प्रतिशत हाराहारीमा पुगेको छ। यो जेठ महिनाको तुलनामा साउनका लागि सार्वजनिक भएको ब्याजदरअनुसार उक्त हाराहारीमा अधिकतम ब्याजदर कायम भएको छ। तर यसअघि जेठ महिनाका लागि साधारण बचतमा न्यूनतम औसत ३.२८१ प्रतिशत र व्यक्तिगत मुद्दतीमा निक्षेपमा अधिकतम औसत ६.८७६ प्रतिशतले ब्याज दिइएको थियो। साधारण बचत खातामा बैंकहरूको न्यूनतम ब्याजदर औसत ३.२८१ प्रतिशत छ। यससँगै संस्थागत मुद्दती निक्षेपमा बैंकहरूको अधिकतम ब्याजदर औसत ५.४७९ प्रतिशत रहेको छ। बैंकहरूले रेमिट्यान्सको मुद्दती निक्षेपमा भने व्यक्तिगत मुद्दतीको थप १ प्रतिशत बिन्दु दिँदै आएका छन्।

  •    आजदेखि (साउनमा) वाणिज्य बैंकको ब्याजदर : १३ ले घटाए, ५ को स्थिर र २ ले थोरै बढाए
  •     मुद्दतीमा अधिकतम ब्याज दिनेमा एनआईसी एसिया र एनएमबी अगाडि

असार महिनामा निक्षेपहरू थुप्रिनु र अर्कोतर्फ कर्जा प्रवाह हुन नसक्दा पनि बैंकको ब्याजदर घटेको बताउँछन्, नेपाल बैंकर्स संघका कार्यकारी निर्देशक अनिल शर्मा। उनका अनुसार जेठ मसान्तबाट यता असार अन्तिम सातासम्ममा मात्रै दुई खर्ब रुपैयाँबराबर थप निक्षेप थुप्रिसकेको छ। ‘अझ निक्षेप थुप्रिने क्रममा छ। तर कर्जा विगतदेखि नै खासै बढ्न सकेको छैन। परिणामस्वरूप निक्षेप थुप्रिने मात्रै काम हँुुदा ब्याजदर तरलता व्यवस्थापन गर्न घटाउनु नै प¥यो,’ उनले अन्नपूर्णसँग भने, ‘असारमा कर्जा जाने समय पनि होइन, निक्षेप बढ्ने समय नै हो। बरु साउन– भदौमा कर्जाको मागहरू आउन थाल्छ।’ अझ नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८१/८२ का लागि ल्याउने मौद्रिक नीतिले पनि कसरी गाइड गर्छ हेर्न बाँकी रहेको उनी बताउँछन्। यस हिसाबले बजार सक्रिय होला भन्ने अपेक्षा उनले गरेका छन्। अब अलिकति गतिविधि चलायमान भएर बजार सुदृढ हुने उनको आकलन छ।

साउनमा वाणिज्य बैंकहरूमध्ये अधिकतम व्यक्तिगत मुद्दती निक्षेपमा सबैभन्दा बढी ब्याजदर एनएमबी बैंक र एनआईसी एसिया बैंकको देखिन्छ। उक्त बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ७.५३ प्रतिशत ब्याज र संस्थागततर्फ ६.५३ प्रतिशत ब्याजदर तोकेका छन्। यसैगरी हिमालयाले व्यक्तिगत निक्षेपमा अधिकतम ७.५० प्रतिशत ब्याज कायम गरेको छ।

यसपछि व्यक्तिगतमा ७ प्रतिशत अधिकतम ब्याज तोक्नेमा माछापुच्छ्रे, नबिल, स्ट्यान्डर्ड चार्टर्ड, नेपाल इन्भेस्टमेन्ट र प्रभु बैंक छन्। यसबाहेकका बैंकले ७ प्रतिशत कम ब्याज दिएका छन्। यद्यपि यसपटक निक्षेपमा थोरै ब्याजदर बढाएको कृषि विकास बैंकले ६.२९८५ प्रतिशत र एभरेस्टले ६.३० प्रतिशत अधिकतम ब्याजदर निर्धारण गरेका छन्। यसपछि क्रमशः सिटिजन्सको ६.७५ प्रतिशत, ग्लोबलको ६.२५, कुमारी ६.७१ प्रतिशत, लक्ष्मी सन्राइजले ६.५०, नेपाल बैंकले ६.२५, नेपाल एसबीआई ६.३०, प्राइम ६.५०, राष्ट्रिय वाणिज्य ६.२१, सानिमा ६.४ र सिद्धार्थ बैंकले ६.७५ प्रतिशतमा मुद्दती निक्षेप संकलन गरिरहेका छन्।

निक्षेपको ब्याजदर विस्तारै कम हुँदै जाँदा कर्जाको पनि सामान्य रूपमा घट्ने छ। विगतलाई हेर्दा पनि कर्जाको ब्याजदर क्रमशः घट्दै गएको छ। कर्जाको भारित औसत ब्याजदर २०८१ जेठमा वाणिज्य बैंकहरूको १०.१५ प्रतिशत, विकास बैंकहरूको ११.६३ प्रतिशत र वित्त कम्पनीहरूको १२.८५ प्रतिशत रहेको छ। जबकि २०८० जेठमा वाणिज्य बैंकहरूको कर्जाको भारित औसत ब्याजदर १२.५३ प्रतिशत, विकास बैंकहरूको १४.४७ प्रतिशत र वित्त कम्पनीहरूको १५.०६ प्रतिशत कायम भएको थियो। यो औसतमा भएकाले कम देखियो तर बैंकअनुसार कर्जाको ब्याजदर घटेको महसुस खासै नभएको सर्वसाधारणको गुनासो पनि सुनिन्छ।

अझ व्यवसायीहरू कर्जाको ब्याजदर एकल अंकमा हुनुपर्ने माग गर्दै आएका छन्। यद्यपि बैंकहरूले ब्याजदर घटाउने भन्दैमा ह्वारह्वार्ती घटाउन वा बढाउन मिल्दैन। यसका लागि नेपाल राष्ट्र बैंकले तोकेको परिधिभित्र रहनुपर्ने हुन्छ। केन्द्रीय बैंकका अनुसार ब्याजदर घटाउँदा पनि अघिल्लो महिनाको औसतमा बढीमा १० प्रतिशत बिन्दुले मात्र परिवर्तन गर्न पाइन्छ।

प्रतिक्रिया