त्रिशूलीमा खसेर सर्वसाधारणदेखि मुलुकका ठूला नेतासम्मले ज्यान गुमाउँदा पनि राज्य संवेदनशील नहुनु विडम्बना हो।
नेपालमा प्रत्येक वर्ष सडक दुर्घटनामा परेर मृत्यु हुनेको संख्या २९ सयको हाराहारीमा छ। यसपालि सिंगै दुई बस त्रिशूली नदीमा खसे। ४० जनाभन्दा बढी बेपत्ता भए। खोजी जारी छ। तर, फेला पार्ने सम्भावना अति न्यून छ। उर्लेको त्रिशूलीमा बसकै अवशेषहरू पनि भेटिन मुस्किल भएको छ।
चितवनतिर भेटिएको शव पनि तिनै बसका यात्रुको हो कि होइन थाहा छैन। रातबिरात राजमार्गबाट बस सीधै त्रिशूलीमा खस्नु प्रायः नेपालमा नियमित आकस्मिकता हुने गरेको हरेक छ वर्षायाममा। कहिले नारायणगढ मुग्लिन सडकबाट खस्छ त कहिले पृथ्वी राजमार्गमा। थुप्रै वर्ष कृष्णभिरको पहिरोले दुःख दियो। नारायणगढ मुग्लिन सडकमा पनि पहिरो र जीर्ण सडकले हजारौं यात्रुले धेरै वर्ष दुःख पाए। नारायणगढ मुग्लिन स्तरोन्नति भए पनि त्यहाँको दुःख अझै टरेन।
यातायातका साधन दुर्घटना देशका प्रमुख राजमार्गमा मात्रै होइन, हरेकजसो सडकमा हुने गरेका छन्। राजमार्गमा बर्खाको बेला साधन ओहोरदोहोर गर्दा मौसमको अवस्था ख्याल गरिनुपर्ने थियो। सोहीअनुसार गाडी आउजाउ गर्नेलाई सतर्कता अपनाउन लगाउनुपर्ने थियो। हाम्रा राजमार्गहरूमा त्यस्तो चलन नहुँदा नै नारायणगढ–मुग्लिन सडकको सिमलतालमा यसपालि ठूलो दुर्घटना भयो।
अरू दुर्घटना हेर्दा बाढी पहिरोमात्रै कारण होइन। स्वयं गाडीको स्थिति र सडकको अवस्था अनि चलाउने तौरतरिकालगायत कारण दुर्घटना हुने गरेका छन्। त्यसका लागि गाडी चुस्त राख्नै पर्ने बाध्यकारी नियम कार्यान्वयनको कुनै संयन्त्र बनाइएको छैन। गाडी जाँचपास प्रक्रिया नै फितलो छ। अनि राजमार्गहरूमा गाडीको अवस्था जाँच गर्ने भन्ने नै हुँदैन। मात्रै नवीकरण र जाँचपास कताकति हेरिन्छ मात्रै। जाँचपासमै कमजोरी हुने भएपछि गाडीको कन्डिसन ठीकठाक नहुने भइहाल्यो।
चालकहरूलाई बेलाबेला सरोकारवाला र सम्बन्धित यातायात व्यवसायीले प्रशिक्षण दिन जरुरी छ। सुरक्षाका तौरतरिकाबारे उनीहरूलाई सचेत तुल्याइनुपर्छ। सधैं दुर्घटनाको पिर भइरहने त्रिशूली नदी किनारको राजमार्गमा छेकबारलगायत अरू सुरक्षाका उपाय अपनाउने जिम्मेवारी सडक विभागले निर्वाह गर्नुपर्छ। त्रिशूलीमा खसेर सर्वसाधारणदेखि मुलुकका ठूला नेतासम्मले ज्यान गुमाउँदा पनि राज्य संवेदनशील नहुनु विडम्बना हो। यसबारे संवेदनशीलतापूर्वक दुर्घटना न्यूनीकरणको उपाय खोजी जरुरी छ।
प्रतिक्रिया