November 21, 2024, 10:45 am
» बसको ठक्करबाट बालिकाको मृत्यु » राजस्व संकलन १७ प्रतिशतले बढ्यो » नेपालगञ्जमा १०८ फिट अग्लो ‘हनुमान’को मूर्ति बनाइँदै » Nepal-India military cooperation talks today » जग्गा भाडामा लिएर कृषि गर्नेलाई ५० प्रतिशत अनुदान दिने निर्णय

बहुमूल्य फल ‘बोधिचित्त’ मूल्यसँगै बढ्दैछ अपराध !

असार ३१, २०८१ मा प्रकाशित | ९४०दर्शक तीव्रखबर

नेपाल जैविक विविधता भएको देश हो जहाँ हजारौँ प्रजातिका वनस्पतिहरूको फरक–फरक विशेषता र महत्व रहेका छन् ।

केही प्रजातिका वनस्पती जडिबुटीको रूपमा प्रयोग हुँदै आएका छन् भने कुनै वनस्पति व्यवसायिक रूपमा प्रयोग भएका छन् । तिनै व्यवसायिक रूपमा प्रयोग हुँदै आएको वनस्पति मध्ये एक हो “बोधिचित्त” ।

बोधिचित्त बयर प्रजातिको वनस्पती हो । जहाँतही नपाईने यो प्रजातीलाई वनस्पतिविद्हरूले २०१५ मा रैथाने वनस्पति भनेका छन् भने २०१६ मा डि.एन.ए परीक्षण पश्चात यो प्रजाति चाइनिज ‘जिजिफस ज्याङ्जेन्सी’ जातको वनस्पति रहेको पाइएको थियो ।

धार्मिक आस्था बोकेको बोधिचित्त फलको संस्कृत शब्द ‘बोधी’ जसको अर्थ ‘ज्योती’ र ‘चित्त’ जसको अर्थ ‘प्राण’ बाट बनेको छ । तामाङ समुदायले भने बोधिचित्त फललाई ‘फ्रेङ्बा माला’ वा ‘बुद्धचित्त माला’ भन्ने गर्दछन् । ‘

बोधिचित्त’ वनस्पति सर्वप्रथम काभ्रे जिल्लाको तेमाल क्षेत्रमा भेटिएको मानिन्छ । किंवदन्ती अनुसार भगवान बुद्धले तीन ठाउँमा रोप्न भनि छाडेको बिउहरू मध्ये लुम्बिनी र नमोबुद्धमा रोपिएका बिउहरू मरेर गएको तर काभ्रेकै तेमालमा छरिएको बिउ हुर्किएर फस्टाएको भनाइ छ ।

त्यस्तै अर्को किंवदन्ती अनुसार तिब्बती गुरू पद्मसम्भवले आफू तपस्याका लागि तेमाल आउँदा उक्त बोधिचित्तको बिउ रोपेर गएको भन्ने मान्यता पनि पाइन्छ ।

काभ्रे जिल्लाको तेमाल गाउँपालिकामा केही समय यता बोधिचित्तको व्यवसायिक खेती हुँदै आएको छ ।

बोधिचित्तबाट किसानले वर्षेनि लाखौँ–करोडौँ आम्दानी गर्दै आएका छन् जसले केही दशकयता काभ्रेका तेमाल गाउँपालिका, रोशी गाउँपालिकाका साथै रामेछाप जिल्लाका किसानहरूको आर्थिक स्थितिमा ठुलो परिवर्तन आएको पाइन्छ ।

काभ्रेका किसानले केही वर्षयता अन्न उब्जाउ हुने बारीमा बोधिचित्त रोप्दै आएका छन् । बोधिचित्त फलको मुख्य बजार चीन हो ।

केही वर्षयता चिनियाँ व्यापारीहरू बोधिचित्त फल किन्नकै लागि लाखांै खर्च गरेर नेपाल आउने गरेका छन् । किसानलाई भने आफ्नो बोटमा उत्पादन भएको फल बेच्न कुनै समस्या हुँदैन ।

बोधिचित्तको फल लाग्ने समय असार–साउन भएपछि उक्त समयभित्र किसानको बोटसम्म व्यापारी आइसकेका हुन्छन् र मूल्य निर्धारण गरि बोटैमा बिक्री हुने गर्दछ ।

व्यापारीले किसानको बोट किनिसकेपछि टिप्न तयार नभएसम्मका लागि बोधिचित्त फल चोरी हुने डरले सुरक्षार्थ दैनिक प्रतिव्यक्ति १ हजारदेखि १५ सय रूपैँयासम्म भत्ता दिएर युवाहरू परिचालन गर्ने गरेका छन् ।

बोधिचित्त फल बौद्ध धर्मवालम्बीहरूले मन्त्र जप्ने मालाका रूपमा धेरै प्रयोग हुने गर्दछन् । १ सय ८ वटा दाना भएको मालाको प्रयोग लामाहरूले मन्त्र जप्न र बौद्ध गुम्बाहरूमा अधिक हुने गर्दछ ।

कसैकसैले ब्रासलेट बनाएर समेत लगाउने गर्दछन् भने बुटीको रूपमा पनि यो प्रयोग हुने गर्दछ । यसको प्रयोग र महत्वबारे केही वर्षयता व्यापक चर्चा हुँदै आइरहँदा यसको उच्च बजार मूल्यका कारण किसान र व्यवसायीलाई भने अत्यन्तै फाइदा भएको छ ।

बोधिचित्त फलको एक माला अर्थात १ सय ८ दानालाई केही हजारदेखि ६–७ लाख रूपैयाँसम्म पर्ने गरेको छ । बोधिचित्त फलको दाना जत्ति सानो भयो उत्तिकै बढी मूल्य आउने गर्दछ भने यसको मुखको आधारमा पनि मूल्य निर्धारण हुने गर्दछ ।

८ वा ९ एमएमसम्मको दाना लाग्ने तथा ३ देखि ५ मुखेसम्मको फल लाग्ने बोटको मूल्य लाखौँ पर्ने गरेको छ । बोधिचित्तले किसानको आर्थिक स्थिति सुधार्न महत्वपूर्ण योगदन त दिएकै छ तर पछिल्लो समय यसका कारण धेरै आपराधिक घटनाहरू घटेका छन् ।

जुन सुरक्षा निकायका लागि चुनौतीपूर्ण विषय बन्ने गरेको छ । यसै वर्ष पनि काभ्रेका केही स्थानमा बोधिचित्तको लेनदेनको विषयमा धेरै झगडाका घटना भएका छन् ।

हरेक वर्ष विविध कारणले चर्चामा रहने काभ्रे जिल्लाको रोशी गाउँपालिका–५ मा ३ करोड रूपैयाँमा बिक्री भएको बोधिचित्त मालाको बोट मध्यरातमा अज्ञात समूहद्वार काटिएको थियो ।

किसानको बारीमा उत्पादित एकै बोटको फल किन्न व्यपारीहरूको समूहबिच झगडा हुँदै आएको छ भने कतिपय घटनामा जिल्ला प्रहरी कार्यालयले थप सुरक्षाकर्मी नै परिचालन गर्नुपर्ने अवस्था निम्तिएका छन् ।

कतिपय अवस्थामा किसान स्वयंले गाउँपालिकामा शान्ति सुरक्षाका लागि निवेदन दिएपछि पनि प्रहरी परिचालन गर्ने गरिएको छ ।

सुरक्षालाई मध्यनजर गर्दै कतिपय अवस्थामा भने व्यवसायी आफैले हेलिकप्टरमार्फतसमेत टिपिएका बोधिचित्त फल लाने गरेका छन् ।

सम्भावित खतरालाई ध्यान राख्दै जिल्ला प्रहरी कार्यालयले बोधिचित्तको मुख्य उत्पादन क्षेत्रमा थप प्रहरी टोली पठाउनका साथै नाका तथा मुख्य राजमार्गमा चेकजाँच गर्ने, गस्ति बढाउने जस्ता सुरक्षा योजना अपनाउदै आइरहेको छ । नेपाल प्रहरीद्वारा प्रकाशित द्वैमासिक प्रकाशनबाट साभार

प्रतिक्रिया