काठमाडौं– चालु आर्थिक वर्ष (आ.व.) को ७ महिनामा नेपालमा झन्डै ७ अर्ब रुपैयाँ बराबरको लसुन आयात भएको छ ।
भन्सार विभागले सार्वजनिक गरेको चालु आवको तथ्यांकअनुसार नेपालमा माघ मसान्तसम्म ६ अर्ब ८७ करोड ४१ लाख ६९ हजार रुपैयाँ बराबरको लसुन आयात भएको हो ।
पछिल्लो पाँच वर्षको तथ्यांक हेर्दा अघिल्ला वर्षहरूमा बढीमा साढे २ अर्ब सम्मको लसुन आयात हुने गरेको देखिन्छ । तर, चालु आवको ७ महिनामै विगतको तुलनामा झण्डै तेब्बर बढी लसुन आयात भएको आश्चर्यजनक तथ्यांक विभागले सार्वजनिक गरेको छ ।
नेपालमा कतिपय वस्तु ठूलो मात्रामा आयात भएर आंशिक वा पूर्ण प्रशोधनपश्चात् निर्यात पनि हुने गरेको छ । तर, लसुन भने आयात भएर त्यही अनुपातमा निर्यात भएको देखिँदैन ।
भन्सार विभागका अनुसार चालु आवको माघ मसान्तसम्म नेपालबाट ३ लाख ८३ हजार रुपैयाँ बराबरको ९२० किलो लसुन निर्यात भएको छ ।
त्यस्तै, अघिल्लो आव ०८०/८१ मा २ लाख १२ हजार रुपैयाँ बराबरको १८४ किलो र आव ०७९/८० मा ६ लाख ९३ हजार रुपैयाँ बराबरको ४ हजार १४६ किलो लसुन निर्यात भएको थियो । जुन परिमाण आयातको तुलनामा नगन्य हो ।
आव ०७७/७८ र ०७८/७९ मा भने नेपालबाट कुनै पनि परिमाणमा लसुन निर्यात भएको देखिँदैन ।
नेपालमा अघिल्लो आवबाट लसुनको आयात हुने क्रम बढेको देखिएको छ । जुन चालु आवको माघ महिनासम्म आउँदा तेब्बरले वृद्धि भएको छ ।
सामान्यतया मसलाजन्य सामग्रीको रूपमा प्रयोग गरिने लसुनको खपत एक्कासी तेब्बर मात्रामा हुनसक्दैन । त्यसैले लसुन आयात र यसको प्रयोगको विषयमा आशंका पैदा गरेको छ ।
प्रतिक्रिया