December 25, 2024, 1:27 pm
» बाँकेमा कुपोषित बालबालिका भेटिए » ‘सहकारी ठगीमा संलग्न जो कोहीलाई छोड्दैनौँ’ » काठमाडौं आइपुगे सोनु निगम, हायातको चौरमा कन्सर्ट हुँदै » मन्त्री भण्डारी र सचिव निरौलाको कारण मन्त्रालय अस्तव्यस्त » इरानले ह्वाट्सएप, गुगल प्लेमाथिको प्रतिबन्ध हटायो

निर्वाचनको तयारी निरन्तर अगाडि बढाउन प्रधानमन्त्री ओलीको आग्रह

माघ २७, २०७७ मा प्रकाशित | २८१०दर्शक तीव्रखबर

२७ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचनको तयारीको काम निरन्तर अगाडि बढाउन निर्वाचन आयोगलाई आग्रह गरेका छन् ।

आज निर्वाचन आयोगको कार्यालय पुगेर प्रधानमन्त्री ओलीले सो आग्रह गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए

आयोग कार्यालय परिसरमा पत्रकारहरुसँग थापाले भने, ‘प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनको तयारीबारे जानकारी गराउनु भयो । प्रधानमन्त्रीज्यूले आयोगले गरिरहेका तयारीका सन्दर्भमा धन्यवाद ज्ञापन गर्नु भएको छ र निर्वाचनको तयारीको कामलाई निरन्तर अगाडि बढाउन सुझाव पनि दिनु भएको छ ।’

प्रधानमन्त्री ओली निर्वाचनको तयारीबारे जानकारी लिन आयोगको कार्यालय कान्तिपथ पुगेका थिए । प्रधानमन्त्रीसँगै उपप्रधानमन्त्री ईश्वर पोखरेल, नेकपा महासचिव विष्णु पौडेल र नेता सुवास नेम्वाङ पनि आयोगको कार्यालय पुगेका थिए ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचनको लागि आवश्यक बजेट, बन्दोबस्तीका सामान लगायतका विभिन्न विषयमा जानकारी गराएको पनि थापाले जानकारी दिए ।

नेकपाको आधिकारिकता विवादबारे पत्रकारले राखेको जिज्ञासामा प्रेस सल्लाहकार थापाले प्रधानमन्त्री ओली आज निर्वाचन आयोग जानुको उद्देश्य त्यो नभएको बताए ।

गत पुस ५ गते सरकारले संसद विघटन गरेलगत्तै नेकपा दुई खेमामा विभाजित भएपछि प्रधानमन्त्री ओली निर्वाचन आयोग पुगेको पहिलो पटक हो ।

संसद विघटन गर्दै वैशाख १७ र २७ गते दुई चरणमा निर्वाचन गर्ने प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले सदर गरेकी थिइन् ।

प्रतिक्रिया