-शैलेन्द्रबहादुर थापा
नेपाली राजा उदयदेवका जुवाइँ राजकुमारी भृकुटीका पति उत्तरका तत्कालीन तिब्बती राजा (व)स्रोङ(व)त्सन(स)गम पोको जन्म सन् ६१७ मा भएको थियो । भृकुटीको विवाह सन् ६३३ मा तिब्बती राजा (व)स्रोङ(व)त्सन(स)गम पोसंग भएको थियो । तिब्बती सम्राट (व)स्रोङ(व)त्सन(स)गम पोको निधन सन् ६५० मा भएको थियो । त्यसको ३० वर्षपछि तिब्बतमा राजमाता भृकुटीको निधन भएको थियो । नेपाल (निपो) देशकी छोरीसंग वैवाहिक सम्बन्ध जोड्नु भएका तिब्बत (तुवो, सिचाङ) का राजा (व)स्रोङ(व)त्सन(स)गम पोको समाधी स्थल (चिहान) विश्वभर सर्वाधिक चर्चित छ । बुद्धका उपासक राजा उदयदेवकी छोरी एवम् तिब्बती महारानी भृकुटीको प्रभावबाट तिब्बती राजा (व)स्रोङ(व)त्सन(स)गम पो पनि बौद्धधर्मावलम्बी बन्नु भएको थियो । तिब्बतका राजा रानी नै बौद्धधर्ममा आस्थावान भएका कारण तिब्बती जनताले बौद्धधर्म अवलम्बन गर्नु स्वभाविक हो । कारण आखिर सबैका लागि ‘शान्ति’, ‘शान्ति’ र ‘शान्ति’ । यसरी संसारका सबै प्राणीलाई मन पर्ने ३ चिज ‘शान्ति सुरक्षा’, ‘सुख’ र ‘सुस्वास्थ्य’ को राजकीय सम्मिश्रण शासकीय सुधार (३ शासु) नै लाभदायक प्रतिफल रहेको निष्कर्षमा पुग्नु यो शोध पंक्तिकारको अध्ययन अनुभव रहेको छ । हुन त, संसारको छानो तिब्बतमा ईशापूर्व ५८८ देखि नै विश्वशान्तिका प्रर्बतक एवम् ज्ञानका अग्रनायक गौतम बुद्धका धर्मादेशना र उपदेशमूलक शान्तिका किरणहरु झुल्किईसकेका थिए । तत्कालीन चीनको उथाइसान पञ्चशीर्ष हिमालय पर्वत क्षेत्रमा जन्मिनु भएका महामञ्जुश्री, भारतका सम्राट अशोक, चिनियाँ महाभिक्षु फा सियान, अफगानिस्तानमा जन्मिनु भएतापनि नेपाली मूलका बुद्धभद्र, चिनियाँ अन्वेषक एवम् विद्वान ह्वेन शाङ (स्वान चाङ) ले ३ सँधियार राष्ट्र ‘चीन (तिब्बत) – नेपाल – भारत’ मा बुद्धका शान्ति सन्देश, उपदेश प्रचार प्रसार गर्न, लिखित अलिखित रुपमा सर्वत्र फैलाउन आफ्नो जीवनको सम्पूर्ण समय अर्पण गरेका थिए । तिब्बतमा बुद्धधर्मको विजारोपण हुनुमा वहाँहरुको महत्वपूर्ण हात मानिएको छ । यद्दपि, बुद्ध उपासक महारानी भृकुटीले नै सातौं शताब्दीको तिब्बतमा बुद्धधर्मको जरालाई अझै बढी गहिरो गोडमेल गरी सोको प्रचार प्रसारलाई राजकीय रुपमा संस्थागत गर्ने सौभाग्य पाउनु भयो ।
वास्तवमा सातौं शताब्दीदेखि नै बुद्धधर्म आधिकारिक रुपमा तिब्बतको राजकीय धर्म बनेको हो । त्यसकारण भृकुटीका पति राजा (व)स्रोङ(व)त्सन(स)गम पोको चिहानमा पनि अनिवार्य रुपमा विश्व शान्तिका अग्रनायक गौतम बुद्धका मूर्तिहरु राखिएका छन । त्यसैगरी (व)स्रोङ(व)त्सन(स)गम पोको चिहानमा श्रीपेच, रेशमी कपडा, प्रशस्त सून, चाँदीका साथै विश्वका विभिन्न देशबाट ल्याइएका बहुमूल्य खर–खजाना, सौगात र सजावटका सामग्रीहरु राखिएका छन् । चिहानमा पाँच पवित्र स्थल रहेको मानिन्छ । यो चिहान यार्लुङ (ब्रम्हपुत्र नदी) – चोङये/चोङवे उपत्यकामा अवस्थित छ । उपत्यका स्थित ल्होखाको समतल भूमिमा अवस्थित सो चिहान चोङ्वे नदीदेखि करिव ९० मिटर पूर्वतर्फ पर्दछ । पुरातत्वविद्ले यसलाई ‘चिहान एक नम्बर’ नामाकरण गरेका छन् । यो चिहानको विशेष सुरक्षा गर्नका लागि यसको वरिपरि पर्खाल निर्माण गरिएको छ । रातको समयमा यो चिहान वरिपरि आएका जानवारहरुले सुरक्षा गर्दछन् भन्ने विश्वास प्रणाली स्थापित छ ।
समुद्री सतहदेखि करिव ३८१६ मिटर उचाइमा अवस्थित यो चिहानको माथिल्लो भागको लम्बाई ९६ मिटर, चौडाई ८० मिटर, आधारको लम्बाई १३५ मिटर र चौडाई १३६ मिटर रहेको तथ्य वल्र्ड कल्चर नेटद्वारा प्रकाशित ‘आजको तिब्बत’ पत्रिका वर्ष ११, अंक २ मा सार्वजनिक गरिएको छ । चिहानको बीच भागमा राजा (व)स्रोङ(व)त्सन(स)गम पोको स्मृतिमा (व)स्रोङ(व)त्सन लखाङको मन्दिर निर्माण गरिएको छ । यसमा चिहानको माथी राजा (व)स्रोङ(व)त्सन(स) गमपो, नेपाली राजकुमारी तिब्बती महारानी भृकुटी (ठ्रित्सुन) र चिनियाँ राजकुमारी तिब्बती रानी वेनचेङ कोङ्चोका मूर्तीहरु राखिएका छन् । यसरी राजा, दुई रानीहरुका मूर्ती राखिएका यी मन्दिरहरु चिहानको अमूल्य आकर्षण स्थल बनेका छन् । तिब्बतका लोकप्रिय सम्राटहरुको पार्थिव शरीरलाई गाढेर राखिएका कारण हाल पनि यो ठाउँलाई ‘तिब्बत सम्राटहरुको प्रसिद्ध चिहान’ को नामबाट चिनिएको छ । यो चिहानमा राजा (व)स्रोङ(व)त्सन(स)गम पोको पार्थिव शरीर मात्रै राखिएको छैन, तिब्बतका अन्य सम्पूर्ण राजा र राजपरिवारका सदस्यहरुको चिहान पनि राखिएका छन् । तिब्बती राजपरिवारका सदस्यहरुको यो चिहान पूर्वी क्षेत्रबाट विस्तार हुँदै मुरा हिमालसम्म फैलिएको छ ।
विश्वका प्रतिष्ठित अनुसन्धानकर्ताहरुले तिब्बती राजा र राजपरिवार सदस्यहरुलाई समाधिस्थ गरिएको यो विशाल चिहान डाँडाको संरचना, चिहान संख्या र अन्य विस्तृत उत्खनन् कार्य गर्दै आएका छन् । तर भृकुटीको माइती देश (माइतीघर) का आम देशवासी नेपालीका लागि अर्को अनुसन्धान प्रश्न यो छ, चिनियाँ (तिब्बती) इतिहासमा लेखिए जस्तो के तिब्बती राजाहरुको चिहानसँगै रानीहरुको चिहान पनि राखिएका छन् ? यदी छन् भने नेपालकी छोरी (राजकुमारी) तिब्बतकी राजमाता भृकुटीको चिहान कहाँ छ ? नेपालको काभ्रेपलाञ्चोक जिल्ला स्थित कुर्पासी (खोपासी) मा जन्मिनु भई तिब्बती राजपरिवारको सदस्य हुनुभएकी राजमाता भृकुटीको निधन तिब्बतमा सन् ६८० मा भएको थियो । निधन पश्चात भृकुटीको पार्थिव शरीरलाई तिब्बतबाट नेपालमा ल्याइएको पनि थिएन । त्यसोभए फेरि जिज्ञासा छ, राजमाता भृकुटीको चिहान तिब्बतको कुन ठाउँमा छ ? हिन्दू परम्परा अनुसार भृकुटीको पार्थिव शरीरलाई तिब्बतमा वा नेपालमा ल्याएर जलाइएको पनि छैन । यद्दपि महारानी भृकुटीको पार्थिव शरीरलाई बौद्ध परम्परा अनुसार तिब्बतमा नै गाढेर राखिएको बलियो सम्भावना हुनु पर्छ भन्ने यो पंक्तिकारको हाईपोथेसिस् हो । यसरी तिब्बतमा भृकुटीको चिहान पहिचानार्थ ध्यानाकर्षण गराउनु पनि यो आलेखको उद्देश्य हो ।
यस पंक्तिकारको अवचेतन मस्तिष्कबाट ‘तिब्बती राजपरिवारका सदस्यहरु’ को चिहान भन्ने शब्दहरुलाई अवलोकन गर्दा भृकुटी पनि तिब्बती राजपरिवारकी सदस्य हुनुहुन्छ भन्ने निष्कर्ष हो । त्यसोभए, यक्ष प्रश्न ः के राजपरिवारकी सदस्य भृकुटीको चिहान सम्राट (व)स्रोङ(व)त्सन(स)गम पोको चिहान नजिकै राखिएको छ ? के महारानी भृकुटीको पार्थिव शरीर नजिकै रानी वेनचेङ कोङ्चोको पार्थिव शरीरलाई पनि समाधिस्थ गरिएको छ ? यो विषयसँग सम्बद्ध अनुसन्धानकर्ताहरुको आधिकारिक निष्कर्ष के छ ? यदी छ भने नेपाली अनुसन्धानकर्ताहरुलाई भृकुटीको चिहान बारे टुङ्गोमा पुग्न सहज हुनेछ । यसरी हाम्रा नेपाल सरकार, चीन सरकार, भृकुटी स्मृति प्रतिष्ठान जस्ता सम्बद्ध सरकार र गैरसरकारी संघ संस्थाहरु समक्ष अन्र्तक्रियाका लागि माथिका अन्वेषणात्मक प्रश्नहरु पारस्परिक रुपमा लाभदायक हुन सक्छन् ।
(लेखक “नेपाल–चीन राजनीतिक आर्थिक सम्बन्ध” विषयक विद्यावारिधि शोधार्थी हुनुहुन्छ) ।
प्रतिक्रिया