– प्रेममान डंगोल
मार्गशीर्ष कृष्ण चतुर्दशीका दिनलाई नेपालमा बाला चतुर्दशीको रुपमा मान्ने गरिन्छ । खस भाषामा बाला चतुर्दशी भनिन्छ भने नेपाल भाषामा बाला चः¥हे भनिन्छ । नेवारहरुले यो दिनलाई बाला चः¥हे भनि मान्दै आइरहेका छन । यो दिनमा वर्ष भरीमा दिवंगत भएका घर परिवाका सदस्य वा आफन्तहरुको आत्माको चीर शान्तिको कामना गर्दै पशुपतिको श्लेषमान्तक वनमा र देशभरका विभिन्न शिवालयहरुमा त्यहाँका स्थानीयहरुले सत्बीज छर्ने गर्दछन । यो सत्बीज छर्ने चलन कसरी र कहिलेबाट शुरु भयो भन्ने सन्दर्भमा केलाई हेर्ने हो भने यो बाला चतुर्दशी मनाउने चलन नेवारहरुकै मात्र राज्य भइरहेको बेलादेखि चल्दै आइरहेको बाला चतुर्दशी पछि गैर नेवारहरुले पनि मान्दै आएको देखिन्छ । बाला चतुर्दशीका दिन मृगस्थली र श्लेषमान्तक वनमा सत्बीज छर्ने कार्यलाई दिवंगत भईसकेकाहरुका लागि खाद्यान्न सामाग्री रोपेको रुपमा लिने गरिन्छ । उक्त सत्बीजबाट फलेको अन्न नै दिवंगतहरुका लागि बर्षभरी खान पुग्ने हुन्छ भन्ने जन विश्वास रही आएको छ । बाला चतुुर्दशीका दिन रोपेको एउटा विउ उम्रेमा एक छुक्रा सून जतिको पूण्य प्राप्त हुन्छ भन्ने भनाई छ ।
बाला चतुर्दशी नितान्त नोवार संस्कृति र संस्कारबाटै आएको हो भन्ने प्रमाण बाला चः¥हे अर्थात बाला चतुर्दशीको नामाकरण नै नेवारी शव्दबाट भएकोले पनि पुष्टि गर्दछ । अझ त्यसमा त झन नेवारहरुकै संस्कारको घटनाक्रमले गर्दा बाला चतुर्दशी मनाईंदै आइरहेकोले पनि प्रमाणित भएको छ ।
परापूर्वकालमा एक पटक पशुपतिको मसान घाटमा लाश जलाइरहेको बेलामा गुथियारहरुले खाजा खाइरहँदा लाश जलाउने गुथियारहरुले लाश जलाउँदै गर्दा खाजा खाने चलन छ । जलाइरहेको लाशको टाउको अपरझट पड्केर गुथियार बालानन्दले खाइरहेको खाजामा गिदी उछिट्टिएर पर्न गएछ । तर बालानन्दलाई यो कुरा थाहा थिएन । बालानन्दले खाजा खाने क्रममा चिउरा मासुसँगै त्यो मृत मान्छेको गिदी पनि खाइदिन्छ र रक्सी पनि पिउँछ । पछि बालानन्दले थाहा पाउँछन उसले त मरेको मान्छेको गिदी पो खाएको रहेछ भनेर तर उसलाई साह्रै मीठो लाग्छ । पछि बालानन्ले पशुपतिको मसानमा गएर मरेका मानिसहरुको गिदी खान थाल्यो । शुरुमा त बालानन्दले पशुतिको मसान घाटमा बसेर लाश जलाउने र मसानमा सफा सुग्घर गर्ने काम गर्न थालेछ । अनि लाश जलाउन ल्याउनेहरुले बालानन्दलाई मरेका व्यक्तिका लुगा कपडा र पैसा पनि दिन थालेछ । लाश जलाउँदै गर्दा बालानन्दले लाशको गिदी खान थालेछ र साथै लाशको मासु पनि खान शुरु गरेछ । बालानन्दले यसरी मरेका व्यक्तिको गिदी र मासु खाँदा खाँदै उसको टाउको चाँदी जस्तै देखिएर चम्किन थालेछ । अनि उसको नाम बालानन्द होइन बालासुर हुन गयो । मानिसको मासु खाने बालानन्दलाई राक्षसको रुपमा बालासुर भनि सबैले भन्ने गरे । उसलाई लाश जलाउने काम पनि दिइएन ।
मरेका मानिसका गिदी र मासु खान पल्केका बालासुर राक्षसले त्यहाँ जलाउन ल्याएका लाश मसान सम्म पुग्नु अगावै बीच बाटो बाटै खोसेर जंगलमा लगी खाने गर्न थाल्यो । बालासुरले यसरी दुःख दिएकाले सबै जनता मिलेर त्यस बेलाका राजा भुवन केशरीलाई भन्न जाँदा राजाले त्यस राक्षस बालासु्रलाई कसरी मार्न सकिन्छ भनि सरसल्लाह गरे । राजाले गरेको सरसल्लाहको निष्कर्षमा बालासुरको मित वृषसिंह भन्ने रहेको पत्ता लगाए पछि राजाले वृषसिंहलाई प्रशस्त धन सम्पति दिने लोभ देखाइ बालासुरलाई मार्ने आदेश दिन्छन । राजाको आज्ञा पूरा गर्न वृषसिंहले आफनो मित बालासुरलाई मार्ने शक्ति प्राप्त गर्न पशुपतिनाथको तपस्या गर्छ । वृषसिंहलाई पशुपतिनाथले दर्शन दिइ मैले तिमीलाई बालासुरलाई मार्ने शक्ति दिन्छु तर तिमीले बालासुरलाई मारिसकेपछि उसको टाउकोको मुकुट बनाई मलाई चढाउन ल्याउनु पर्छ भनि अन्तरध्यान भए ।
यसरी महादेवले बरदान दिएपछि वृषसिंहले बालासुरलाई खुवाउन आठ जना भरियाहरुलाई जााँड, रक्सी, मासु, चिउरा र विभिन्न परिकार बोकाएर बालासुर लुकिरहेको वनमा जान्छन । अघि अघि वृषसिंह र पछि पछि भरियाहरुले खाद्य परिकार बोकेर आइरहेको टाढैबाट देखेर बालासुर घेरै हर्षित हुन्छ । बालासुरले आफनो मित आएकोले स्वागत गर्दै खुशी हुँदै मितले ल्याएको खाद्य जाँड, रक्सी खुवाएर रक्सीले मत्ताउँछ । अनि वृषसिंह र भरियाहरु मिलेर बालासुरलाई डोरीले बाँघेर त्यहीं भएको इनारमा खसालेर मारिदिन्छ । त्यसपछि वृषसिंहले बालासुरको टाउको छेदन गरेर टाउकोको मुकुट बनाएर पशुपतिनाथलाई चढाउँछ । वृषसिंहले महादेवसँग मित मारेको पापबाट मुक्त हुने वरदान माग्छन तब महादेवले वृषसिंहलाई बालासुर मारेको दिन बालासुरको टाउकोको मुकुट बनाएर मलाई लगाई दिएर पूजा गरेकोले मित मारेको पापबाट मुक्त भयौ भनि दिए । यसरी पशुपति महादेवले बालासुरको मुकुट पहिरेको दिन कसैले महादेवको दर्शन गरेर सत्बीज छर्ने गर्छ उसको सात पुस्तासम्मले मोक्ष प्राप्त गरेर स्वर्गमा जानेछ भनि भनेको दिन बाला चतुर्दशी मैं हो ।
बालासुरको नामबाटै बाला चः¥हे अर्थात बाला चतुर्दशी हुन गएको हो । गैर नेवारहरुले पनि बाला चतुर्दशी भन्न थाले र नेवारी संस्कारलाई नै अपनाएर पितृ मोक्षका निम्ति बाला चतुर्दशी मान्दै आएका हुन । यो दिन सत्बीज छर्ने भन्दै धान, गहुँ, चामल, मकै, भटमास, मास, लाबा, रायो, मस्र्यू, कालो तील, जौ, सानो केराउ, ठूलो केराउ, नौ थरी गेडागुडी र केरा, सुन्तला स–साना टुक्रा पारेर काटेको उखुका टुक्राहरु पनि विउका रुपमा पशुपति, गह्येश्वरी क्षेत्रका वनमा छरेर बाला चतुर्दशी मान्ने गरिन्छ । दिवंगत भईसकेका पूर्खाका नाममा यसरी सत्बीज छरेर उनीहरुको उद्धार होस, सुखावति भूवनमा वास होस भनि कामना गरिने हो ।
बाला चतुर्दशीका दिन श्रृष्टिकर्ताको प्रतीकका रुपमा लिइएको शिवलिङ्ग र श्लेषमान्तक वन, मृगस्थलि र गुह्येश्वरी क्षेत्रमा मृतकका नाममा सत्बीज छर्ने गरिन्छ भने अघिल्लो दिन राती त्यहीं वास बस्ने र रातभरी जाग्राम बसेर लाखवत्ति बाल्नेहरु त्यतिकै भइरहन्छन । यसरी लाखवत्ति बाल्ने र वत्ति बालेर बसेकाहरुले दिवंगतहरुका आत्मा र परमात्मालाई संझने गर्दछन ।
ईन्द्रयणी जात्रा
हरेक वर्ष बाला चतुर्दशीका दिन काठमाडौको माथिल्लो टोलका ईन्द्रायणी अजिमाको भव्य रुपमा जात्रा गरिन्छ । कान्तिपुरलाई माथिल्लो टोल र तल्लो टोल भनि दुई भागमा विभाजित गरिएको थियो । माथिल्लो टोलमा बस्नेहरुले मान्ने ईन्द्रायणीको जात्रा एउटा ठूलो जात्रा हो । माथिल्लो टोलका ठँहिती, त्यौड र ज्याठाका ज्यापुहरुले ईन्द्रायणीको जात्रामा भाग लिन्छन । यो क्षेत्रमा ईन्द्रायणीलाई अत्यन्तै मान्दै आइरहेका छन । नेपाल सम्वत् १०५ मा राजा गुणकामदेवले कान्तिपुरलाई मञ्जुश्रीको खड्ग आकारमा निर्माण गरेर स्थापना गरेका अष्टमातृका पीठ मध्ये ईन्द्रायणी पनि एक हो ।
ईन्द्रायणीलाई नेपाल भाषामा लुँति अजिमा भनिन्छ । लुँ भनेको सुन, सुन लगाउन नपाएकी भएकोले ‘लुँ ती मदुम्ह’ भन्दै लुँति मरु अजिमा हुन गएको होे भनिन्छ । लुँति मरु अजिमाबाटै लुँति मरुअजिमा हुन गयो । ईन्द्रायणीको मन्दिर मचाखुसि निर्मल तीर्थमा छ । आठ हात भएकी ईन्द्रायणी देवीको दुई हात अभय मुद्रामा छन भने ६ वटा हातमा बज्र, खड्ग, पात्र, घण्ट, छत्र, ढाल समाइएको छ । तीन तल्ले पागोडा शैलिको कलात्मक मन्दिर भित्र दाँया बाँया देवी गणहरु छन भने दुई वटा हात्तीको आसनमा ईन्द्रायणी देवी विराजमान भइरहेकी छिन ।
ईन्द्रायणी माता दिदी बहिनी मध्ये एकदम गरीव र बाह्र जना बच्चाहरु भएकोले पनि सबैले हेला गर्दथे । ईन्द्रायणी माताको गहनाको नाममा एक टुक्रा पनि सुन नभएकोले पनि सुन लगाउन नपाएकी देवी भनेर भन्ने गरिएको हो भनिन्छ । पाहाँचः¥हे घोडे जात्राको चाडमा माइतिमा भोज खान जाँदा दिदी बहिनीहरुले साह्रै नै हेला गरेकाले भोज नखाइ बच्चाहरुसँगै फर्कनु प¥यो । बाटोमा आइरहँदा फसिकेबमा पुग्दा बाटोमा एउटा फर्सि झरिरहेको देखि बच्चाहरुलाई त्यही फर्सि उसिनेर खुवाउनु पर्ला भनि घरमा लगिन । घर पुगेपछि त्यो फर्सि सुनमा परिणत भएकोले ईन्द्रायणी धनी हुन्छिन । धनी भइसकेपछि ईन्द्रायणी माइतिमा पछि फेरी चाडमा भोज खान जाँदा सबैले सम्मान गरे रे । पहिला आफू गरीब हुँदा भोज खान जाँदा सबैले हेला गरेर कसैले वास्ता गरेनन् । आफना बच्चाहरुले भोक लाग्यो भनेर कराइरहे पनि भोज नखुवाएको कुरा संझेर ईन्द्रायणी माताले र बच्चाहरुले लगाइरहेका झिलीमिली गहना र लुगाहरुमा भोज भागका खाद्य पदार्थ दल्न थालेछ । ईन्द्रायणीका दिदी बहिनीले देखेर यो के गरिरहेको भनि सोध्दा पहिला म गरीव भई कमजोर भइरहेको बेलामा तिमीहरुले हेला गरेर नखुवाईकनै फर्काएका थियौ । यो भोज र मान सम्मान मेरो लागि होइन रहेछ । यही गहना र लुगाको लागि मात्र रहेछ भनेर गहना र लुगालाई नै भोज खुवाइरहेको भनि जवाफ दिएर त्यहींबाट पाहाँचः¥हे चाड बहिष्कार गरी फर्किइन । त्यसैबेला देखि ईन्द्रयणीको जात्रा बाला चतुर्दशीका दिन मान्ने गरिएको हो भनिन्छ । ईन्द्रायणीका दिदी बहिनी भद्रकाली, कंकेश्वरी र नीलकालीका खट जात्रा पाहाँचः¥हेमा सम्पन्न गरिन्छ भने ईन्द्रायणीले पाँहाचः¥हे बहिष्कार गरेकीले पाहाँचः¥हे भन्दा चार महिना अगावै बाला चः¥हेका दिन गरिंदै आएको हो ।
बाला चतुर्दशीका दिन ईन्द्रायणी देवीलाई बोकाको बलि दिएर पुजारीलाई थकाली बनाई भोज खाएर सीकाः भू गर्नुपर्छ । सीकाः भू भनेको बलि दिइएको बोकाको टाउकोको विभिन्न आठ भाग बनाई थकाली देखि क्रमशः सबैलाई पालैपालो सगुनको रुपमा दिइने हो । यो दिन त्यौड र ठँहितीका ज्यापुहरुले केटाकेटीहरुलाई अजिमा ईन्द्रायणी देवीको प्रसादको रुपमा मरःजा भनि दालमा तरकारी लगाएट विभिन्न परिकार राखेर खुवाउने गरिन्छ । यो दिन विहानै देखि ईन्द्रायणी अजिमाको मन्दिरमा पूजा गर्न आउने र बलि दिन आउने भक्तजनहरुको भीड लाग्छ । ईन्द्रायणीका साथै स्वाहा (शोभा) भगवती, क्षत्रपाटीका स्वाँ छपु गणेश, धोवीचौरका भुँडे गणेश, मजिपाटका ज्वालामाई, नरदेवीका मांखचा अष्टमातृका देवीहरुको पनि जात्रा गरिन्छ । बेलुका ईन्द्रायणीको खटसँगै यी सबै देवताका खट पनि जात्रा गर्दै ठँहितीमा पु¥याएर बिसाउँछन । ईन्द्रायणीको खटसँगै शोभा भगवती, स्वाँ छपु गणेश, भुँडे गणेश, ज्वालामाइका खटहरु लस्करै ठँहितीमा राख्दछन । भोलिपल्ट विहान अर्थात औंशीका दिन ठँहितीमा भक्तजनहरुले पूजा गर्न आउँछन । यी देवताका खटमा पूजा गर्ने कार्य सकिएपछि खट जात्रा गर्दै लगेर आ–आफना देवघरमा लगेर राख्छन र जात्राको समापन गरिन्छ ।
सर्पाहुति
ईन्द्रायणी माताको जात्रा मनाउने क्रममा बाला चतुर्दशीको अघिल्लो दिन त्रयोदशीका दिन त्यौड स्थित देवघर थकु चोकबाट जात्रा गर्दै ईन्द्रायणी अजिमालाई मन्दिरमा ल्याइन्छ । थकु जुजु मल्ल थकालीले रात्रीमा गह्य तान्त्रिक पूजा गरेर अजिमाको अगाडि रहेको होमकुण्डमा जिउँदो भंगेराको एक जोडी एउटालाई आगोमा र अर्कोलाई आकाशमा छोड्छन भने एउटा माछालाई आगोमा र अर्कोलाई पानीमा, त्यस्तै एउटा सर्पलाई आगोमा र अर्कोलाई भूईंमा छोड्छन । त्यस्तै फट्याङग्रा पनि होममा छोडी दिन्छ भने परेवा जोडीलाई पनि एउटालाई होमको आगोमा र अर्कोलाई आकाशमा छोडी दिने चलन छ । फट्याङग्रालाई पृथ्वी, माछालाई जल, भंगेरालाई आकाश, परेवालाई वायु र सर्पलाई अग्निका रुपमा लिइन्छ । एक पटक एक जोडी परेवा मध्ये एउटा परेवा होम गर्र्न लाग्दा उडेर गई कीर्तिपुरको खोला नजिकै खसेछ । त्यसपछि एक जोडी सर्प र राँगोको फोक्सो, मुटु, कलेजो र राँगोको सिंगो टाउको मात्र होम गर्दै आइरहेको छ । यसरी गरिने होमलाई नै सर्पाहुति र कोटी होम पनि भन्ने गरिन्छ । परापूर्वकाल देखि चल्दै आइरहेको यो होम ईन्द्रायणी अजिमाको खट जात्रामा नेवारी संस्कृतिको आफनै पनको विशेषताले भरिएको देखिन्छ । यसरी सर्पाहुति होम गर्दा देशमा शुभ मंगल भई बालीनाली पनि सप्रिने धार्मिक मान्यता रही आएको छ ।
प्रतिक्रिया