-प्रेममान डंगोल
नेपालका आदिवासी नेवारहरुले मनाउँदै आइरहेको विभिन्न चाडपर्व मध्ये एउटा रमाइलो चाड हो यःमरि पूर्णिमा । यःमरि पूर्णिमा अत्यन्तै महत्वपूर्ण विशेषताले भरिएको चाड हो । हेर्दा साधारण देखिने यो यःमरि खाने चाड नेवार संस्कार संस्कृतिसँग सम्बन्ध भएको र यसमा विभिन्न दर्शन पनि लुकिरहेको यो यःमरि चाड मंसीर शुक्लपक्ष पूर्णिमाका दिन मनाउने गरिन्छ ।
कृषि प्रधान देशका नेवारहरु विशेष गरेर ज्यापुहरुको मुख्य पेशा भन्नु नै खेती गर्नु हो । नयाँबाली घरमा भित्रयाएर नयाँ धानको चामलको पिठोबाट यःमरि बनाएर खाने गर्दछन । यःमरि बनाउनेमा पनि आफ्नै पन रहेको पाइन्छ । नयाँ धानको चामलबाट बनाइने चामलको पिठो लस्सादार हुनु पर्छ । पहिला पहिला तौली धानको चामल हुन्थ्यो । अब आएर ताइचिन चामलको पिठो प्रयोग गर्न थालियो । चाकु र पिसेको तिल राखेर बनाइने शंख आकारको यःमरिलाई ‘बायो’ भनिन्छ । तीनकुने आकारकोलाई ‘मायो’ भनिन्छ । मायो भित्र चाकु तिल राखिंदैन । यो ‘मायो’, ‘बायो’ भनेको सृष्टिको आदि पुरुष र आदि शक्ति आमा र बाबु अर्थात पुरुष र स्त्रीको प्रतीक हो । यसरी रमाइलो दर्शन लुकिरहेको यःमरि बनाई यःमरि पूर्णिमाका दिन नयाँ धान राख्ने भकारी माथि यःमरि राखेर पूजा गर्ने चलन नेवारहरुको आफ्नै मौलिक संस्कार हो । भकारीलाई लक्ष्मी मानेर पूजा गरिन्छ । पूजा गर्दा चामलकै पिठोबाट गणेश, लक्ष्मी, कुबेर र यिनै देवताका बाहन मुसा, कछुवा र ख्याक पनि बनाई राख्ने चलन छ ।
परापूर्वकालदेखि नेवारहरुले बनाई खाँदै आइरहेको यो यःमरिमा लुकिरहेको अर्को दर्शन भनेको हाम्रा पुर्खाहरुले हामीलाई र हाम्रा बालबच्चाहरुलाई एक किसिमले चित्रकला, मूर्तिकला र सिर्जनात्मक प्रतिभा प्रस्तुत गर्ने मौका प्रदान गरिरहेको छ भने बाल बालिकाले पनि यःमरि बनाउन सिक्ने क्रममा आफ्नो कला र प्रतिभा पनि प्रस्तुत गर्ने अवसर पाइने हुँदा उनीहरु अत्यन्तै हर्षित भई यःमरि र विभिन्न किसिमका देवता र जनावरका मूर्ति बनाउने प्रयास गरिरहेको हुन्छन । यस्ले गर्दा केटाकेटीहरुलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्राप्त भइरहेको हुन्छ । पछि गएर उनीहरुले आफ्नो संस्कारलाई उपयोगमा ल्याई आफ्ना बच्चाहरुलाई पनि सिकाइरहेको हुन्छन । यःमरि बनाउँदा ल्वहंचा मरि पनि बनाइन्छ । ल्वहंचा मरि र स–साना यःमरि बनाई देवतालाई पूजा गर्दा चढाउने गरिन्छ । उपत्यकाका विभिन्न देवताका रथयात्रा र खट जात्रा गर्दा पनि ल्वहंचा मरि, चटामरि र यःमरि वरिपरि घरका झ्यालबाट छरेर देवतालाई अभिषेक गर्ने चलन छ । त्यसरी छरेका यःमरि जस्ले हात पार्न सक्यो उसलाई पुत्रलाभ हुन्छ भन्ने जनविश्वास छ ।
बालकहरुको २, ४, ८ र १२ वर्षको जन्मोत्सवमा पनि यःमरिको माला बनाई पहि¥याई दिने चलन छ । यो संस्कारले के सिकाइरहेको हुन्छ भने बालकहरु होशीयारी गर्दै हेर अब तिमी यति बर्षका भयौ तिमीले यस्तो गर्नु पर्छ, यस्तो गर्नु हुन्न भन्ने शिक्षा दिने गरिन्छ जुन अत्यन्तै व्यवहारिक छ भन्न सकिन्छ । बालक जति बर्ष पुगेको हो त्यति नै ओटा यःमरिको माला बनाई पहि¥याइन्छ । १२ बर्ष पुग्दा पहि¥याउने १२ ओटै यःमरिमा चाकु राखिएको हुन्छ भने २, ४ र ८ ओटा यःमरि पहि¥याई दिंदा उक्त यःमरि भित्र पाँच गेडा अक्षता मात्र राख्ने चलन छ । यसरी पाँच गेडा अक्षता राख्नुको अर्थ पञ्चतत्व वा पञ्चबुद्धको प्रतीकको रुपमा लिंदै आएको छ ।
यःमरिलाई पनि पञ्चतत्वकै रुपमा लिइएको पाइन्छ । अग्नि, जल, वायु, आकाश र धर्तिलाई पञ्चतत्व भनिन्छ । यःमरि भित्र धर्तिको रुपमा चामलको पिठो, अग्निको रुपमा चाकु, जलका रुपमा पानी, आकाशका रुपमा खाली स्थान र वायुका रुपमा तिललाई लिइएको छ ।
आयुर्वेदिक मान्यता र आधुनिक चिकित्साको मान्यता अनुसार पनि यःमरि स्वास्थ्यवद्र्धक र पौष्टिकताले भरिपूर्ण खाद्यको रुपमा लिइन्छ । जाडो याममा पर्ने यःमरि पूर्णिमाको समयमा बढ्दो चिसोबाट बच्न आवश्यक कार्बोहाइड्रेट प्राप्त हुने यःमरि खानाले हाम्रो स्वास्थ्यलाई धेरै नै फाइदा पुग्ने र यसका साथै यःमरिमा रहेको चाकुले हाम्रो स्वास्थ्यमा हेमोग्लोबिन कमी हुन नदिने भएकोले यःमरि निकै नै स्वास्थ्यवद्र्धक छ । यःमरि उर्जावान र बढी पौष्टिकता भएकै कारणले गर्दा नै नेवारी संस्कारमा गर्भवती चेलीलाई खुवाउने गरिन्छ । यसले गर्भमा रहेको शिशुको स्वास्थ्यमा पनि पौष्टिकता प्राप्त हुन पुग्छ । बालकको जन्म दिन, बुढा बुढीहरुको जंक्व (बुढो पास्नी), गुथिको समयमा पनि विशेष गरी यःमरि खाने र खुवाउने गरिन्छ । जाडो समयमा मात्र चाड मानेर खाँदै आइरहेको यःमरि हाल आएर बाह्रै महिना जताततै खान पाइन्छ । नेवारी खाजा घरमा जताततै यःमरि पनि बेच्ने गरिन्छ ।
यःमरि पूर्णिमाका दिन घरै पिच्छे केटाकेटीहरु गएर गीत गाउँदै यःमरि माग्न जाने चलन छ, देउसी – भैलो मागे जस्तै । अहिले आएर समयको परिवर्तनसँगै केटाकेटीहरुले यःमरि मागेर खाने चलन शहरमा हराउँदै गए पनि गाउँघरमा अझै देखिन्छ ।
विश्वमैं प्रख्यात नेवारी संस्कृति, परम्परा र संस्कारको पहिचानलाई जीवन्त राख्ने उद्देश्यले ज्यापु संस्कृति विकास कोष र ज्यापु महागुथिको संयुक्त प्रयासमा २०६१ सालदेखि यःमरि पूर्णिमाको दिनलाई ज्यापु दिवसको रुपमा मान्दै आएको छ । नेपाल सरकारले पनि ज्यापु दिवसलाई राष्ट्रिय दिवसका रुपमा मान्यता दिएर सार्वजनिक विदा समेत दिंदै आएको छ ।
धान्य पूर्णिमा :
मार्ग शुक्ल पूर्णिमालाई धान्य पूर्णिमा पनि भनिन्छ । यसदिन धान्य पर्वत दान गर्नु पर्दछ भनि पुराणमा उल्लेख भएको पाइन्छ । दत्तात्रय भगवानको जन्मदिन पनि यही दिन भएको हो । यही पूर्णिमाका दिन रात्रिको समयमा बनेपामा धनेश्वर महादेवको जात्रा गरिन्छ । यसै दिन कतिपय नेवारहरुले देवली पूजा गर्दछन भने अन्य कतिपयले घरमा गैडु पूजा, गोठ पूजा पनि गर्ने चलन छ ।
मार्ग शुक्ल पूर्णिमाका दिन कुबेर, सुभद्रा, गणेशको पूजा गरी धान्य पर्वत दान गर्नु पर्दछ भनी कुल कल्पतन्त्रान्तरमा यसरी वर्णन गरिएको छ –
मार्ग शीर्षे सिते पिण्डकली निधौ गृही ।
पौर्णमास्यां प्रदोषे तु धान्य क्षेत्रं समर्चयेत ।।
कुबेरं च सुभद्रां च गणेशं पूजयेत तथा ।
इन्द्रं च प्रढौकये दादौ विधिवत पूजनं चरेत ।।
नेवारी संस्कृतिमा पनि यसरी पुराणमा भनिए झैं भगवती, गणेश, कुमारको आकारमा यःमरि बनाई विभिन्न देवदेवीलाई सम्झी नयाँ धानको भकारीमा राखी पूजा गरेर छोपी राख्छन र चार दिनसम्म पूजा गरे पश्चात चेलीबेटीलाई नखत्या बोलाई प्रसाद खाने र खुवाउने गर्दछन ।
महामाया भगवतीलाई दशैमा महाकाली, तिहारमा धनलक्ष्मीको रुपमा मान्ने गरिन्छ भने मार्ग शीर्ष पूर्णिमाका दिन धान्य लक्ष्मीको रुपमा मान्ने गरिन्छ । यःमरिको गर्भमा रहेको तील र चाकुलाई महामाया भगवतीको प्रतीकका रुपमा लिइन्छ । त्यस्तै भित्र मासु भएको यःमरिलाई गणेशका रुपमा लिइन्छ भने मासको छाँटाको पिठो भित्र भएको यःमरिलाई कुमारको प्रतीकको रुपमा लिने गरिन्छ । हिमवत खण्डमा उल्लेख भए अनुसार –
धनेश्वरं महालिंग भक्त्या पञ्चोमपकारेके
एतस्यां च वरं लब्धा चिरञ्जीब्य भवद् मृगु ।।
अर्थात धनेश्वर महादेव मन्दिरमा (बनेपाको) यस दिन रातभर अखण्डदीप बाली जाग्राम बसी भोलिपल्ट पूजा गरेमा आफ्ना सम्पूर्ण इच्छा आकांक्षा पूरा हुनेछ र चीरञ्जीवी होइन्छ ।
प्रतिक्रिया