काठमाडौं। होलीलाई मध्यनजर गर्दै बिहानैदेखि काठमाडौं उपत्यका भर ट्राफिक चेकिङ कडा पारिएको छ। होलीका उपत्यका प्रहरी कार्यालयले काठमाडौं, भक्तपुर र ललितपुरमा होली लक्षित सुरक्षा योजना बनाएर लागू गरेको हो। आजको दिन नियम उल्लंघन गरे दिन भरी सवारीसाधन होल्ड गरिने ट्राफिक प्रहरीले बताएको छ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी प्रमुख एसएसपी विनोद घिमिरेका अनुसार आज मादक पदर्थ सेवनकर्ता (मापसे) भन्दा लागु औषध सेवनकर्ता (लापसे) बाट हुने दुर्घटनालाई बढी ध्यान दिइने भएको छ। उनका अनुसार त्यस्ता सवारी चालक फेला परेमा आफन्तको जिम्मा लगाइने र सवारी साधन दिनभरि चलाउन नपाइने गरी नियन्त्रणमा लिइने भएको छ।
ट्राफिकले उपत्यकाका तीनै जिल्ला प्रहरी परिसरसँग समन्वय गरेर चेकिङ टोली खटाएको छ। होलीका अवसरमा काठमाडौंको बसन्तपुर दरबार स्क्वायर, दरबारमार्ग, ठमेलसहितका विभिन्न १९ स्थानमा हुने कार्यक्रमलाई दृष्टिगत गर्दै विशेष सुरक्षा योजना बनाएको प्रहरीले जनाएकाे छ।
प्रतिक्रिया