January 23, 2025, 1:20 pm
» गोरखामा महिलाको शव फेला » फिल्म ‘जुना:एक व्यथा’को गीत आमाको मुहार सार्वजनिक » मोटरसाइकलको ठक्करबाट बुटवलमा पैदलयात्रीको मृत्यु » असनको एक घरमा आगलागी, निभाउने प्रयास हुँदै » सुदूरपश्चिम प्रदेशसभा : प्रज्ञा प्रतिष्ठानसम्बन्धी विधेयक पारित

रविलाई मुद्दा दर्ताका लागि कास्की अदालत लगियो

पुस ७, २०८१ मा प्रकाशित | ४९०दर्शक तीव्रखबर

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेलाई सहकारी ठगी प्रकरणमा मुद्दा दर्ताका लागि जिल्ला अदालत कास्कीमा लगिएको छ ।

उनलाई सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा अभियोगपत्र दर्ता गर्न अदालतमा उपस्थित गराइएको हो। लामिछानेसहित आरोपीहरू पूर्वडीआईजी छविलाल जोशी बञ्जाडे, नेचर हर्ब्सका सञ्चालक रामबहादुर खनाल, लीला पछाईं र सूर्यदर्शन सहकारीका सञ्चालक कृष्ण गुरुङलाई पनि अदालतमा उपस्थित गराइएको छ । अहिले कास्की जिल्ला अदालत क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ।

जिल्ला प्रहरी कार्यालयले पुस १ गते लामिछानेमाथि छानबिन सकिएको भन्दै सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो । सो प्रतिवेदनमा लामिछाने, गोर्खा मिडिया प्रालिका पूर्व सञ्चालक छविलाल जोशी लगायतविरुद्ध १ अर्ब ५१ करोड बिगो मागदाबी गर्नुपर्ने प्रहरीको राय छ ।

कास्की जिल्ला सरकारी वकिलको कार्यालयले सूर्यदर्शन सहकारीका संस्थापक अध्यक्ष गितेन्द्रबहादुर राई (जिबी) सहित १९ जनाविरुद्ध कास्की जिल्ला अदालतमा पूरक अभियोजन दर्ता गरेको हो।

कानुन बमोजिम ९० दिनभित्र अभियोजन गरिसक्नुपर्ने भएकाले आजै मुद्धा दर्ता गर्न लागिएको कास्की प्रहरीले जनाएको छ ।

पोखराको सूर्यदर्शनसहित विभिन्न सहकारीको रकम गोर्खा मिडियामा लगेर अपचलन गरेको अभियोगमा अनुसन्धानका लागि लामिछानेलाई गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ गरेर पोखरा लगिएको थियो । यसअघि सोही प्रकरणमा असोज ६ गते नेपाल प्रहरीका पूर्वडीआईजी एवं गोरखा मिडिया नेटवर्कका सञ्चालक छविलाल जोशीलाई पनि पक्राउ गरिएको थियो।

प्रतिक्रिया