January 22, 2025, 1:35 pm
» जापानमा बर्ड फ्लुको सङ्क्रमणमा वृद्धि » राजेश पायल र शलोनीको ‘कलेजकी सुन्दरी’ सार्वजनिक » रविको बयान सकियो, थुनछेक बहस आज नहुने » नागरिकमा आशा जगाउने काम गरिरहेका छौँः उपप्रधानमन्त्री सिंह » NEPSE up by 52.36 Points; trading volume hits Rs 9.20 billion

आन्तरिक राजस्व कार्यालयद्वारा रु छ अर्ब ६६ करोड राजस्व सङ्कलन

साउन ७, २०८१ मा प्रकाशित | ७४०दर्शक तीव्रखबर

बागमती,   आन्तरिक राजस्व कार्यालय हेटौँडाले गत आर्थिक वर्षमा रु छ अर्ब ६६ करोड ९९ लाख राजस्व सङ्कलन गरेको छ । सो अवधिमा रु आठ अर्ब ८० करोड ४५ लाख २४ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा लक्ष्यको ७५ दशमलव ७६ प्रतिशत सफलता प्राप्त भएको हो ।

उक्त अवधिमा अन्तशुल्कतर्फ रु तीन अर्ब ३८ करोड ११ लाख २४ हजार, आयकरतर्फ रु एक अर्ब १८ करोड ७१ लाख २४ हजार, मूल्य अभिवृद्धिकरतर्फ रु एक अर्ब ३७ करोड २३ लाख २५ हजार, व्याजकरतर्फ रु आठ करोड ३९ लाख ५४ हजार, घरबहालकरतर्फ रु दुई करोड नौ लाख २५ हजार र स्वास्थ्य सेवा करबाट रु ६२ करोड ४५ लाख नौ हजार राजस्व सङ्कलन भएको कार्यालय प्रमुख तुलसीप्रसाद भट्टराईले जानकारी दिनुभयो ।

मकवानपुरमा विगतमा सञ्चालित तीन वटा मन्दिरा उद्योग बन्द भएको तथा बालुवा, गिट्टी, ढुङ्गा उत्खननको ठेक्का नलाग्नु, विभिन्न कारण देखाउँदै बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको कर्जा कटौती, विभिन्न समानको आयातमा सरकारले गरेको प्रतिबन्धलगायत कारणले लक्ष्य अनुसारको राजस्व सङ्कलन हुन नसकेको उहाँले बताउनुभयो ।

यसैबीच वार्षिक आय विवरण नबुझाउने करिब १७ हजार करदातामाथि सो कार्यालयले कारबाही अघि बढाएको छ । कार्यालयबाट व्यवसायी करदाता प्रमाणपत्र (प्यान) लिएकामध्ये करिब ५० प्रतिशतभन्दा बढी करदाताले लामो समयदेखि वार्षिक आय विवरण नबुझाएपछि कार्यालयले ती करदाताको अभिलेख तयार पारेर कारबाही अघि बढाएको कार्यालय प्रमुख भट्टराईले जानकारी दिनुभयो ।

वार्षिक आय विवरण नबुझाउनेमध्ये धेरैजसो रु ३० लाखसम्मको कारोबार भएका साना करदाता र उपभोक्ता समिति छन् । प्रमुख भट्टराईले भन्नुभयो, “आय विवरण नबुझाउने करदाताको अभिलेख तयार पारेर कारबाही प्रक्रिया सुरु गरेका छौँ ।” पहिलो चरणमा आयविवरण नबुझाउने करदातालाई कार्यालयबाट प्रदान गरिने सेवा सुविधा उपलब्ध नगराइने उहाँले बताउनुभयो ।

साथै ती करदाताको नामावलीसहित आय विवरण बुझाउनका लागि पहल गरिदिन मकवानपुर जिल्लाको १० वटै पालिकालाई पत्राचार गरिएको प्रमुख कर अधिकृत भट्टराईले बताउनुभयो ।

व्यावसायिक करदाता प्रमाणपत्र लिएकामध्ये कतिपयको मृत्यु भएको, वैदेशिक रोजगारीमा गएका र कतिपयले व्यवसाय बिक्री गरिसकेकाले समयमा आय विवरण नबुझाउनेको सङ्ख्या बढी देखिएको उहाँको बुझाइ छ । मकवानपुरमा व्यावसायिक ३३ हजार र व्यक्तिगत ६५ हजार करदाता छन् ।

प्रतिक्रिया