January 22, 2025, 8:07 pm
» भारतमा रेल दुर्घटनाः ११ जनाको मृत्यु, नेपाली पनि परेको आशंका » कुनै पनि बहानामा सरकार ढल्दैन : अर्थमन्त्री पौडेल » एमाले नेता ऐन महरविरूद्ध पक्राउ पुर्जी जारी » जिपको ढोकाबाट खसेर दुई जना घाइते » जापानमा बर्ड फ्लुको सङ्क्रमणमा वृद्धि

उधौली पर्व मनाउँदै किरात समुदाय

मंसिर ३०, २०८१ मा प्रकाशित | ४६०दर्शक तीव्रखबर

काठमाडौं – मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज पितृको मान र प्रकृतिको सम्मानका रूपमा किरात समुदायले उधौली पर्व मनाउँदैछन् ।

उधौलीको अवसरमा किरात समुदायका याक्खाले चासुवा, सुनुवारले फोलस्यादर, राईले उधौली सकेला र लिम्बूहरूले चासोक तङनाम मनाउछन् ।

किरात संस्कृतिका बारेमा अनुसन्धानरत कीर्तिकुमार दुमी राई किरातभित्रका जातजातिले यो पर्वलाई फरक-फरक नाम दिए पनि समग्रमा उधौलीका नामले चिनिने बताउँछन्।

किरात समुदायले अन्नबाली पाकेपछि इष्टदेवतालाई चढाउने, खानका लागि अनुमति माग्ने तथा पितृलाई स्मरण गर्ने दिनलाई उधौली पर्वका रुपमा मनाउँछन् । बाली लगाउने बेलामा भने किरात समुदायले उभौली पर्व मनाउने प्रचलन छ ।

भूमिपूजा गर्दै आज बिहानैदेखि किरात महिला तथा पुरुष जातीय वेशभूषामा सजिएर विभिन्न सिली (नाच)सहित पर्व मनाउछन् ।

ललितपुरको सानो हात्तीवन किरातकालदेखिको ऐतिहासिक तथा धार्मिकस्थल मानिन्छ । सानो हात्तीवनमा आज पूजाआजासहित किरात चाड विशेष रूपमा मनाइन्छ ।

पूजापछि आ-आफ्नो परम्पराअनुसार साकेला सिली, च्याब्रुङ नाचेर मनोरञ्जन गर्ने चलन छ । वैशाख शुक्ल पूर्णिमामा उभौली पूजा गरेका किरातले आज उधौली पूजा गरेपछि माथिबाट तल झर्ने गर्छन् । जसलाई पर्यावरण अनुकूलता अनुरुपका कामका रूपमा समेत लिइने संस्कृतिका अनुसन्धाता राईले बताउनुभयो । जाडोमा तल झर्ने गर्मीमा माथि लेकमा जाने प्रकृयालाई उधौली र उभौली पर्वको रुपमा लिने गरिन्छ ।उभौलीमा खेतीपाती राम्रो होस् भनी पूजा गर्ने र उधौलीमा खेतीपाती राम्रो गरेकामा साकेला (भूमे)लाई धन्यवाद दिने गरिन्छ ।

प्रतिक्रिया