February 23, 2025, 2:22 am
» प्रतिनिधिसभा बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची » बिहान खाली पेटमा किसमिस पानी पिउनुहोस्, यी चार रोगको चमत्कारिक औषधि ! » अर्थ समितिको बैठक बस्दै » Trump Signs Executive Order Restricting Chinese Investment in Key Sectors » Four Nepalis killed in road accident while returning from Kumbh Mela

गुल्मीमा ७३.५१ प्रतिशत धान रोपाइँ

साउन ६, २०८१ मा प्रकाशित | ९७०दर्शक तीव्रखबर

गुल्मी : गुल्मीमा साउनको पहिलो सातासम्म ७३.५१ प्रतिशत मात्र धान रोपाइँ भएको छ। कृषि ज्ञान केन्द्र गुल्मीका अनुसार जिल्लाभर ६ हजार तीन सय ७३ हेक्टर अर्थात् कुल क्षेत्रफलको ७३.५१ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ भएको हो। यस वर्ष पर्याप्त मनसुनी वर्षा भएका कारण वर्षे धान रोपाइँ तीव्र गतिमा भएको छ। मकै खेती गरिएको र चैते धान रोपिएका केही बेंशीका खेतहरूमा धान रोप्न बाँकी रहेको कार्यालयले जनाएको छ।

गत वर्ष जिल्लाभर तीन सय ४१ हेक्टर क्षेत्रफलमा चैते धान खेती गरिएको थियो। यो वर्ष तीन सय ११ हेक्टरमा चैते धान खेती गरिएको हो। गत वर्ष भन्दा ३० हेक्टर क्षेत्रफलमा सिँचाइको अभावले धान रोपाइँ गर्न नपाइएको कृषि ज्ञान केन्द्र गुल्मीका कार्यालय प्रमुख नवराज भण्डारीले जानकारी दिए। भण्डारीका अनुसार अघिल्लो वर्ष आठ हजार छ सय ७० हेक्टर क्षेत्रफलमा वर्षे धान लगाइएको थियो।

गत वर्ष गुल्मीमा उत्पादन २२ हजार एक सय आठ मेट्रिक टन उत्पादन भएको थियो। यो वर्ष गत वर्षको तुलनामा धान खेतीको क्षेत्रफल घट्ने अनुमान गरिएको छ। जिल्लामा चैते र वर्षे गरी दुईपटक धान खेती गरिन्छ। तर,सिँचाइको अभाव र खडेरीका कारण पछिल्लो केही वर्षयता जिल्लामा धान रोपाइँको क्षेत्रफल र उत्पादन घट्दै गइरहेको सरकारी तथ्यांकले देखाएको छ।

साउन पहिलो सातासम्म गुल्मीमा जम्मा छ हजार तीन सय ७३ हेक्टर अर्थात कुल क्षेत्रफलको ७३.५१ प्रतिशत क्षेत्रफलमा धान रोपिएको छ। गत वर्ष भन्दा यो वर्ष समग्र चैते धान उत्पादनमा घट्ने अनुमान गरिएको छ। गत वर्ष चैते धान एक हजार छ सय १६ मेट्रिक टन उत्पादन भएकोमा यो वर्ष जम्मा नौ सय ९८.३१ मेट्रिक टन उत्पादन हुने कार्यालयले अनुमान गरेको छ।

मसिना र बास्नादार चामलको उपयोगमा वृद्धि तथा आयातित चामलको गुणस्तर र मूल्यमा स्वदेशी र स्थानीय धानले प्रतिस्पर्धा गर्न नसक्दा धानको आयात बढिरहेको छ। गुल्मीमा वार्षिक सात करोड भन्दा बढीको चामल आयात भइरहेको छ। ‘पहिले मकै, कोदो, फापर पनि खाने गरिन्थ्यो, अहिले त्यसको खपत घट्दो र भात खाने बानीले चामलको खपत बढ्दो क्रममा छ’, ‘भण्डारीले भने’ ‘ गुल्मी चामलमा २५ देखि ३० प्रतिशतको हाराहारीमा आत्मनिर्भर छ।’

चैते धानका रूपमा स्थानीय मार्सी, सि–एच ४५, चैते ५, हर्दिनाथ १ रोपिन्छ। यस जिल्लामा ९ हजार १५३ हेक्टर क्षेत्रफलमा धान खेती गरिन्छ। जसमा चैते धान ३५० हेक्टर क्षेत्रफलमा र वर्षे धान ८ हजार ८०३ हेक्टर क्षेत्रफलमा लगाइने गरिएको कार्यालय प्रमुख भण्डारीले जानकारी दिए।

जिल्लाभर हंशराज, आपझोते, झोप्री, काठे, झिनुवा, सानो भट्टे, ठूलो भट्टे, कोदे, बडियारे, लहरेबडियारे, थापचिनी, गुडुरो, ढल्लोई, पाखे धान, रातो मार्सी धान, मार्सी लगायत जातका धान लगाउने गरिन्छ। उन्नत जातका सावाँमन्सुली,  मकवानपुर १, खुमल ४, रामधान,  हिमाली जातका धान समेत लगाइँदै आएको कृषि ज्ञान केन्द्र गुल्मीले जनाएको छ।

कालीगण्डकी गाउँपालिकाको अर्वेनी, कनौटा, छापचौर, सत्यवती गाउँपालिकाको लिम्घा, अस्लेवा, ज्वाङखैरेनी, साहाघाट, च्यामी फाँट, चन्द्रकोट गाउँपालिकाको मजुवा, रूपाकोट, शान्तिपुरमा धान खेती गरिन्छ। मुसिकोट नगरपालिकाको तल्लाफाँट, ईन्द्रेगौडा, भुवाचिदि, वामीटक्सार, पौदी, अरेवा, भर्माचौर लगायत बडिघाट खोलाको आसपासका क्षेत्रमा लगाइन्छ।

त्यस्तै, मालिका गाउँपालिकाको सिमलटारी, फूलबारी, शिलादी, मदाने गाउँपालिकाको सिर्सेनीको सिम, अग्लुङ फेदी, भनभनेको तल्लो क्षेत्र, धुर्कोट गाउँपालिकाको पनाहा खोला र छल्दीको आसपासका क्षेत्र, इस्मा गाउँपालिकाको चौरासी फाँट, हुलाके, हस्तिचौर, छल्दी र निस्ती खोलाको आसपासको क्षेत्रमा धान खेती गरिन्छ।

गुल्मीदरवार गाउँपालिकाको गरमटारी, खर्जेङ, घोडाहाफाँट, टारी फाँट, छत्रकोट गाउँपालिकाको खर्जेङ, मनबाग, अँगा, उल्लिखोला, बोआ फाँट र रुरु क्षेत्र गाउँपालिकाको टाहाटिम, कालीगण्डकीको आसापासको क्षेत्रमा धान खेती गरिँदै आइएको छ। मनोज कार्की -अन्नपुर्ण बाट

प्रतिक्रिया