March 11, 2025, 5:05 am
» ओम मेगाश्री फर्मास्युटिकल्सको आजबाट आइपीओ खुला » सिटिजन लाइफ इन्स्योरेन्सकाे लाभांश सुरक्षित गर्ने अन्तिम दिन » बालेनले हेरे ‘लाज शरणम्’ » गणतन्त्रको विकल्प अरु हुन सक्दैन : सिके राउत » स्ववियु निर्वाचनका लागि आज उम्मेदवारको मनोनयन दर्ता हुँदै

भारतको जम्मु कश्मिर विधानसभामा सांसदहरुबीच हात हालाहाल : विधानसभाको बैठक स्थगित

कार्तिक २३, २०८१ मा प्रकाशित | १०१०दर्शक तीव्रखबर

भारतको जम्मु कश्मिर विधानसभामा राज्यलाई विशेष अधिकार दिने संविधानको धारा ३७० र ३५ ए पुनर्बहालीको विषयलाई लिएर बीजेपी र नेशनल कन्फरेन्सका सांसदहरुबीच हात हालाहाल भएको छ ।

हिजो विधानसभाले संविधानको धारा ३७० र ३५ ए पुनर्बहालीसम्बन्धी एउटा प्रस्ताव पारित गरेको थियो । सो प्रस्तावप्रति असन्तुष्ट रहँदै बीजेपीका सांसदहरुले आज विधानसभा सुरु भएलगत्तै विरोध जनाएका थिए ।

विपक्षी नेता तथा बीजेपी विधानसभा सदस्य सुनिल शर्माले कडा शब्दमा उक्त प्रस्तावको विरोध गरिरहँदा अवामी इत्तेहाद पार्टीका नेता तथा विधानसभा सदस्य शेख खुर्सिद वेलभित्र पुगेर धारा ३७० र ३५ ए पुनर्बहाली गरिनुपर्ने भनेर लेखिएको ब्यानर प्रदर्शन गरेपछि विवाद चर्किएको थियो ।

त्यसलगत्तै बीजेपीका सदस्यहरुले पनि वेलभित्र पसेर ब्यानर च्यातेका थिए । दुवै पक्षबीच हात हालाहाल भएको थियो भने सभामुखले उनीहरुलाई त्यहाँबाट हटाउन मार्शललाई आदेश दिएका थिए ।

सो क्रममा बीजेपी विधानसभा सदस्य र मार्शलबीच पनि हात हालाहाल भएको थियो । विवाद साम्य नभएपछि सभामुखले बैठक स्थगित गर्नुपरेको थियो ।

नरेन्द्र मोदी नेतृत्वको सरकारले सन् २०१९ मा जम्मु कश्मिरलाई विशेष राज्यको दर्जा दिने संविधानका दुई धारा ३७० र ३५ ए खारेज गरेको थियो ।

त्यसको केही दिनमा राज्यलाई जम्मु कश्मिर र लद्दाख दुई राज्यमा विभाजित गर्दै दुवैलाई केन्द्र शासित प्रदेश बनाइएको थियो । विशेष राज्यको दर्जा खारेजीपछि जम्मु कश्मिरमा यसैवर्षको सेप्टेम्बरदेखि अक्टोबरसम्म गरी तीन चरणमा विधानसभा निर्वाचन भएको थियो ।

निर्वाचनमा विधानसभाका ९० सिटमध्ये इण्डिया गठबन्धनमा रहेको जम्मु कश्मिर नेशनल कन्फ्रेन्स एक्लैले ४२ सिट जितेको थियो भने बीजेपीले २९ सिट जितेको थियो । एजेन्सी ।

प्रतिक्रिया