December 26, 2024, 1:27 pm
» एनसेलको सेयर खरिद-बिक्रीविरुद्धको रिट सर्वोच्चले गरिदियो खारेज » नेपालले जलवायु न्याय र क्षतिपूर्तिको आवाजलाई सशक्त रूपमा उठाउनुपर्छ : परराष्ट्रमन्त्री » रास्वपाको सुदूरपश्चिम जिल्ला भेला सम्पन्न » गैँडाको खागसहित एक जना पक्राउ » धान झुल्ने खेतमा कागती पहेँलै, वार्षिक पाँच लाख आम्दानी

सहकारी ठगी प्रकरण : जीबी राईसहित १७ जनाविरुद्ध चितवनमा मुद्दा दायर

अशोज ९, २०८१ मा प्रकाशित | ७००दर्शक तीव्रखबर

काठमाडौं । सहकारीको करोडौँ रकम अपचलन गरेर फरार रहेको जीबी राईसहित १७ जनाविरुद्ध चितवन जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ ।

साहारा चितवन बहुउदेश्यीय सहकारी संस्थाको रकम अपचलनविरुद्ध बुधबार जीबीसहित १७ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरिएको हो ।

सहकारीको रकम अपचलन गर्ने मुद्दाको प्रतिवादीहरुमा सहकारीका संस्थापक अध्यक्ष जीबी राई, कुमार रम्तेल, सागर केसी, हेमन्त राई, भुपेन्द्र राई, आशिष आनन्द, अनन्तबाबु राई, छत्रमणि भट्टराई, देवेन्द्रबाबु राई, दिनेश रोका, तीर्थराज लामिछाने, मनोज गुरुङ, दीपा न्यौपाने, शिवप्रसाद आचार्य, वीरबहादुर रानाभाट, शरण विश्वकर्मा र थानबहादुर बुढामगर छन् ।

उक्त सहकारीका ४ सय ४६ बचतकर्ताको ३७ करोड ६५ लाख ८४ हजार ५ सय ४६ रुपैयाँ अपचलन भएको निष्कर्ष निकाल्दै मुद्दा दायर गरिएको हो ।

मुलुकी फौजदारी संहिताको दफा २४९ को ठगी गर्न नहुने कसुर अन्तर्गत मुद्दा दायर गर्दै ७ वर्षसम्म कैद र ७० हजारसम्म जरिवानाको समेत मागदाबी गरिएको छ ।

त्यस्तै उक्त सहकारीबाट गोरखा मिडिया नेटवर्कमा आएको रकमको बारे अनुसन्धान भइरहेको भन्दै पूरक अभियोजन लैजाने बाटो खुला गरिएको छ ।

अभियोग पत्रमा भनिएको छ, ‘साहारा सहकारीबाट गोरखा मिडियाको ग्लोबल आईएमई बैंकको खातामा जम्मा भएको रकममध्ये ४७ करोड रुपैयाँ बराबर कारोबार के–कसरी को–कोसँग भएको हो, त्यसको विवरण माग गरिएकोमा प्राप्त नहुँदै अनुसन्धान प्रतिवेदन प्राप्त भएकाले उक्त कम्पनीको वर्तमान अवस्था, पदाधिकारी, सञ्चालक समिति लगायत बारे थप अनुसन्धान गर्नुपर्ने देखिन आयो । जसका कारण पूरक अनुसन्धान गरी पूरक अभियोजन पेस गरिने बेहोरा जानकारी गराइन्छ ।’

गोरखा मिडिया नेटवर्कका सञ्चालक समेत रहेका जीबी राईमाथि विभिन्न सहकारी ठगेको आरोप रहेको छ । सहकारीको पैसाबाट ग्यालेक्सी टिभी सञ्चालन गरेका राई सहकारी ठगी काण्ड बाहिर आएपछि फरार रहेका छन् । त्यसो त सहकारी ठगी प्रकरणको छानबिनका लागि गठित समितिले जीबीसहित रास्वपा सभापति रवि लामिछाने लगायतका व्यक्तिहरुमाथि छानबिन गर्न सरकार समक्ष सिफारिस गरेको छ ।

प्रतिक्रिया