November 14, 2024, 5:34 am
» प्रि-ओपन सेसनमा नेप्से ४ अंकले बढ्यो » पर्यटकीय गन्तव्य बन्दै सरुवाडाँडाको झोलुङ्गे पुल » छ लाख नगदसहित कौडा खेलिरहेका १३ जना पक्राउ » गण्डकी प्रदेशसभा सदस्य गौचनको निधन » यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

ठगीमा मुछिएका धनराज नजोगिने

अशोज ९, २०८१ मा प्रकाशित | ५४०दर्शक तीव्रखबर

काठमाडौं,  । ललितपुरको मितेरी सहकारीमा भएको १४ करोड ८१ लाख रकम हिनामिनामा तत्कालीन श्रीमती ज्योति गुरुङसँगै संलग्न रहेको आशंकामा कांग्रेस उपसभापति धनराज गुरुङमाथि प्रश्न उठेको छ ।

संसदीय छानबिन विशेष समितिले गुरुङमाथि थप अनुसन्धान गर्न सुझाव दिएपछि कांग्रेसले उनी दोषी भए कारबाही भोग्नुपर्ने बताएको छ ।

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महत उपसभापति वा जोसुकै माथि प्रश्न उठ्छ भने पनि छानबिनका लागि पार्टी सधैँ तत्पर रहेको बताएका छन् ।

‘उहाँ (धनराज ) जी आफैँले शंका लाग्छ भने आफूमाथि संसदीय छानबिन समितिले नै अनुसन्धान गरे हुन्छ भनेर विज्ञप्ति निकाल्ने र बोल्ने गर्नुभएको छ,’ महत भन्छन्, ‘हामी अरूजस्तो होइनौं, गल्तीलाई गल्ती होइन भन्ने अरू पार्टीको जस्तो स्वभाव हाम्रो छैन । अनुसन्धान गरेर तथ्य पत्ता लाग्यो, त्रुटि भएको पाइयो भने जो भए पनि कारबाहीको भागीदार बन्नुपर्छ ।’

अनुसन्धानले निकाल्ने निष्कर्षमा पार्टीले हस्तक्षेप गर्ने र बचाउमा लाग्ने स्थिति नरहेको महतको भनाइ छ । ‘मितेरी सहकारीको विषयमा उहाँको एउटा भनाइ छ ।

लेनदेन श्रीमतीले गरेको हो, उहाँलाई थाहा थियो वा थिएन, यो हामीले भन्नसक्ने विषय होइन, अनुसन्धानले पुष्टि गर्ला,’ महतले भनेका छन्, ‘तर, हामी अनुसन्धान प्रतिवेदनको निष्कर्षलाई किन यस्तो आयो भनेर भन्दैनौं ।’

सहकारीको झमेलाबाट उम्किन नक्कली डिभोर्स गरेको आरोप गुरुङमाथि लागेको छ। प्रश्न उठेपछि गुरुङले २०७६ फागुन २९ गते श्रीमती ज्योति गुरुङसँग डिभोर्स गरेको प्रतिनिधिसभाको बैठकमै बताएका थिए। गुरुङले संसदीय छानबिन समिति फेस गर्न पनि तयार रहेको बताएका थिए ।

‘वर्षौंदेखि सम्बन्ध बिग्रिएपछि २०७६ फागुन २९ गते सम्बन्धविच्छेद भयो । तर, यसलाई एक सांसदले नक्कली भनेर भन्नुभयो । माननीय सदस्यले भनेकोजस्तो नक्कली प्रमाणित गर्न चुनौती दिन्छु,’ धनराजले भदौ २५ गतेको प्रतिनिधिसभा बैठकमा भनेका थिए, ‘नक्कली कुरा गर्नेले ‘ अर्कोलाई नक्कली देख्ने हो ।

घरपरिवारमा दरार आएपछि १० वर्षीय बच्चालाई हुर्काउनुको पीडा म आफैँसँग छ । डिभोर्स भएपछि पूर्व श्रीमतीको जानकारी हुने कुरै भएन ।’

उनले आफू छानबिनका लागि तयार रहेको बताएका थिए । ‘प्रश्न उठेपछि प्रमाण लुकाउन सक्ने गरी पूर्व गृहमन्त्रीजस्तो अवस्थामा म छैन ।

म निष्ठा र नैतिकताको राजनीतिमा विश्वास गर्छु । मेरा लागि लागेको आरोपको सत्य-तथ्य छानबिन गरिदिन सभामुख, गृहमन्त्री र सम्बद्ध निकायलाई आग्रह गर्छु’ गुरुङले भनेका थिए, ‘छिटोभन्दा छिटो छानबिन गरिदिनुस् । म संसदीय छानबिनका लागि पनि तयार छु । यो मेरो लागि अवसर हो ।’

गुरुङले देशभरका विभिन्न सहकारीको अबौं रकम हिनामिनाको प्रतिवेदन आउनै लाग्दा आफूमाथि निशाना साँधिएको पनि तर्क गरे । ‘जसले सुशासन कायम गर्न २०४६ पछि सार्वजनिक पद धारणा गरेका माथि अनुसन्धान गर्नुपर्छ भनेर सार्वजनिक महत्वको प्रस्ताव दर्ता गयो, नोटबन्दी कुरा उठायो, उसैमाथि यस्तो आरोप ?’

गुरुङले भनेका थिए, ‘सहकारी ठगीसम्बन्धी समितिको प्रतिवेदन आउनैलाग्दा विषयवस्तुलाई अन्तै मोड्न रचिएको घटनाको छानबिन होस् ।’

गुरुङले यस्तो दाबी गरेको ५ दिनपछि सूर्य थापा नेतृत्वको छानबिन समितिले मितेरी सहकारी सम्बन्धमा धनराजको संलग्नता हुन सक्ने आशंकामा थप अनुसन्धान गर्न सुझाएको हो ।

धनराजबारे मितेरी सहकारीका अध्यक्ष कुम्मराज राईले बयान दिएपछि धनराजमाथि थप छानबिनका लागि सिफारिश गरेको समिति सदस्य ईश्वरी न्यौपाने बताउँछिन् ।

‘हामीले भन्दा पनि मितेरीका अध्यक्ष कुम्मराज राईले नै सम्बन्धविच्छेद गरे  पनि बच्चाहरूको कारण भेट हुन्छ । सँगै बस्ने गरेको चर्चा छ भनेर बयान दिनुभएको हो।

यो हामीले लेखेको होइन, अध्यक्षको बयान हो,’ न्यौपानेले भनिन्, ‘यसैले प्रश्न उठेपछि थप अनुसन्धानका लागि राज्यलाई भनिदिएका हौं।’

प्रश्न उठेपछि समितिले उनीहरूको सम्बन्धविच्छेदको मिलापत्र फैसला अनुसूची- २३ मा उल्लेख गरेको छ ।

सहकारी संस्थाका तर्फबाट निज ज्योति गुरुङ र धनराज गुरुङ समेतका उपर प्रदेश सहकारी रजिस्ट्रारको कार्यालय, हेटौंडामा उजुरी परी केन्द्रीय अनुसन्धान ब्यूरोमा आएकोमा समितिले सो सम्बन्धमा थप अनुसन्धान गरी शीघ्र कानूनी कारबाही अगाडि बढाउन समितिको अन्तिम बैठकबाट निर्देशित नै गरेको छ ।

समितिले ज्योति गुरुङलाई खोजी गरी समितिसमक्ष उपलब्ध गराइदिन यसअघि नै गृह मन्त्रालयमा पत्राचार गरिसकेको थियो ।

डिभोर्स गरिसके पछि पनि धनराजले मितेरीबाट लिएको ऋण तिरिरहेको पाइएको छ । २०७७ सालमा मितेरीबाट ऋण लिँदा धनराजले हकदाबीवालाको नाममा डिभोर्स भएको दाबी गरिएकी ज्योतिलाई नै श्रीमतीको रूपमा उल्लेख गरेका थिए।

यो ऋणको रकम पनि केही समय अगाडिसम्म तिरेबाट गुरुङ शंकाको घेरामा तानिएका छन् । धनराजले आफ्नो संलग्नता नरहेको भनेर दाबी गरेको ६ दिनपछि उनलाई समितिले थप अनुसन्धान गर्न सिफारिश गरेको हो ।

सामान्य कर्मचारी, कोषाध्यक्ष हुँदै सञ्चालकसम्म बनेकी ज्योतिको गैरकानूनी गतिविधिप्रति धनराज जानकार नै थिएनन् भन्नेमा समिति समेत आश्वस्त हुन सकेको देखिएको छैन ।

यसबीचमा कांग्रेसकै एक पदाधिकारीले समिति सभापतिलाई फोन गरेर ‘धनराजको विषय छुट्ला, उनलाई पनि कारबाहीको दायरामा ल्याउनुपर्छ । त्यसो नगर्ने हो भने रविलाई मात्र राजनीतिक प्रतिशोध साँधेको अर्थ लाग्छ’ भनेर आग्रह गरेको समिति स्रोतको दाबी छ ।

यस्तै, आशंका विषयको विषय एमाले नेता एवं लेखा सभापति ऋषिकेश पोखरेलकी श्रीमती अञ्जला कोइरालाको पनि रहेको छ । ‘उहाँ धनराजजीजस्तै ऋषिकेशजीको पनि भएको पाएका छौं।

उहाँकी श्रीमतीले पनि सञ्चालक हुँदा बैक र व्यक्तिको रकम अपचलन गरेको, परिवारलाई पनि थाहा भएको र मिलाउन ऋषिकेशले पटक-पटक छलफल गरेको जानकारी आएका छन्,’ समितिका एक सदस्यको भनाइ छ । तर, समितिले ऋषिकेशको बारेमा केही बोलेको छैन ।

कांग्रेसमा सभापति शेरबहादुर देउवापछि तेस्रो वरीयता (पदीय हिसाबले दोस्रो पद) मा रहेका उपसभापतिमाथि गम्भीर प्रश्न उठेपछि भदौ २६ गते बसेको पदाधिकारी र पूर्व पदाधिकारी बैठकले पनि गल्ती गरेको भए सजाय भोग्ने बताएको थियो ।

‘उपसभापतिले गल्ती गर्नुभएको हो भने सजाय भोग्नुहुन्छ । उहाँ आफैंले छानबिन गर्न तयार छु भन्नुभएको छ ।

नेपाली कांग्रेस पनि तयार छ,’ बैठकपछि कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले भनेका थिए । तर, अकस्मात् कुरा आएपछि कांग्रेसले डिभोर्स नक्कली हुँदैन भनेर संसदमा यो विषयमा बहस नहुने पनि बताएको थियो ।

रुङबारे पछिल्ला विवरण र समाचार आएपछि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले समेत दोषी भए कारबाही भोग्न तयार हुनुपर्ने बताइरहेका चर्चा साप्ताहिकमा उल्लेख छ ।

सभापति देउवा समेत उपस्थित कार्यक्रममा थापाले गत बुधबार भनेका थिए, ‘सरकारले थप अनुसन्धान गर्नुपर्छ ।

हामी दोषी उम्कन हुँदैन र निर्दोष फस्न हुँदैन भन्नेमा छौं ।’ लगत्तै महामन्त्री शर्माले पनि उपसभापतिमाथि छानबिन हुनुपर्ने र दोषी भए कारबाही भोग्नुपर्ने बताएका छन् ।

प्रतिक्रिया