October 18, 2024, 9:21 am
» डेंगुको संक्रमण बढेसँगै देशभर रगतको कमी, रक्तदान गर्न रेडक्रसको आह्वान » Opposition parties to submit memo to government » पर्यटकको पर्खाइमा भोजपुरको छाँगे झरना » सुनको मूल्य प्रति आउन्स दुई हजार ७०० डलरभन्दा माथि » दाङमा टिप्पर दुर्घटना, चालकको मृत्यु

टुट्दै जोडिएका मन : ‍सिन्धुपाल्चोकमा एक वर्षमा ४ सय ७१ ले गरे सम्बन्ध विच्छेद्

असार ३१, २०८१ मा प्रकाशित | ५७०दर्शक तीव्रखबर

सिन्धुपाल्चोक : सिन्धुपाल्चोकमा सम्बन्ध विच्छेद् गर्ने जोडीको संख्या बढ्दै गएको छ । आर्थिक वर्ष २०८०/८१ मा ४ सय ७१ वटा सम्बन्ध विच्छेद्का मुद्दा दर्ता भएको जिल्ला अदालत सिन्धुपाल्चोकले जनाएको छ ।

अघिल्लो वर्षका जिम्मेवारी सरिआएका २ सय ६१ मुद्दासमेत गरि जम्मा ९ सय ६० मुद्दा मध्ये ४ सय ७१ वटा सम्बन्ध विच्छेद्का मात्रै रहेको अदालतले जनाएको हो । यो कुल मुद्दाको ४९ प्रतिशत हो । जिल्ला न्यायाधीश भगवती शर्मा ढुङ्गानाका अनुसार २०८१ असार अन्तिम सातासम्म सम्वन्ध विच्छेद्सम्बन्धी ४ सय ७१ मुद्दामा ३ सय ९९ मुद्दा फछ्र्यौट भइसकेको छ । अघिल्लो वर्ष सम्बन्ध विच्छेद्सम्बन्धी ४ सय २८ वटा मुद्दा दर्ता भएका थिए ।

विवाहलाई सामाजिक रितिरिवाजअनुसार पवित्र बन्धनको रूपमा लिइन्छ तर,पछिल्लो समयमा अग्नीको सात फेरा लगाएर ‘सँगै बाँच्ने, सँगै मर्ने’ कसम खाएकाहरू टुट्ने क्रम बढ्दै गएको देखिन्छ । पछिल्लो समय अदालतमा सम्बन्ध विच्छेद्सहितका अन्य मुद्दा दर्ता गर्ने क्रम बढेको जिल्ला न्यायाधीश ढुङ्गानाले बताइन् ।

‘सम्बन्ध विच्छेद्का मुद्दा सबैभन्दा बढी परिरहेका छन् । हरेक वर्ष यो समस्या देखिइरहेको छ’, ढुङ्गाना भन्छिन् ‘हामी सकभर घरपरिवार नटुक्रियोस् भन्ने चाहन्छौँ। मिलापत्रका लागि पठाउँछौँ तै पनि सम्बन्ध विच्छेद् गर्न राजी भएर आउँछन्।’

सम्बन्ध विच्छेद्लगायत अन्य मिल्न सकिने मुद्दामा पनि मेलमिलाप गर्न प्रोत्साहन गर्ने गरेको उनको भनाइ छ । अदालतले सकेसम्म पति–पत्नीबीच मेलमिलाप गराउन पहल गर्छ तर मेलमिलाप हुन नसक्ने अवस्था आएपछि सम्बन्ध विच्छेद्को फैसला गर्छ । अदालतका अनुसार श्रीमान् विदेशमा बसेका, कलिलै उमेरमा विवाह गरेका, घरपरिवारमा मानसिक र शारीरिक यातना पाएका र चरम यौन शोषण भोग्नेहरू अदातलको शरण परेको देखिएको छ । अन्तरजातीय प्रेम विवाह पनि एउटा कारण रहेको अदालतले जनाएको छ ।

सम्बन्ध विच्छेद् गर्नेमा सबैभन्दा धेरै २० देखि ३५ वर्ष उमेर समूहका छन् । ग्रामीण क्षेत्रका परिवारमा कम चेतना, कम उमेरमा नै विवाह हुनु, सम्पत्ति तथा अंश, घरेलु हिंसा सहन नसक्नु, देखासिकी, विदेश मोह, पश्चिमा संस्कृतिको अनुसरण र बढी स्वतन्त्रता चाहनाले सम्बन्ध विच्छेद बढ्दै गएको अदालतको आंकलन छ ।

मुद्दाको प्रक्रिया हेर्दा वैदेशिक रोजगार प्रमुख जड देखिएको छ । श्रीमान् विदेशिएपछि अर्को विवाह गर्ने प्रवृत्ति बढ्दै गएको पाइएकाले सम्बन्ध विच्छेद्का घटनामा बृद्धि देखिएको अदालतका श्रेस्तेदार शारदादेवी पौडेल बताउँछिन् । ‘वैदेशिक रोजगारका कारण आपसमा असमझदारी भएपछि सम्बन्ध विच्छेद् हुने गरेको देखिन्छ’,उनले भनिन्,‘पारिवारिक बेमेल र पारिवारिक स्तरले गर्दा पनि सम्बन्ध विच्छेद् बढेको छ ।’

सम्बन्धविच्छेद हुने कारणमध्ये सबैभन्दा बढी वैदेशिक रोजगारी नै रहेको जिल्ला अदालत सिन्धुपाल्चोकले जनाएको छ । अपरिपक्व उमेरमा गरिएको विवाह, प्रेम विवाह र वैदेशिक रोजगारीलगायतका कारणले सम्बन्ध विच्छेद् गर्ने दम्पतीको संख्या हरेक वर्ष बढ्दै गएको अदालतको ठम्याइ छ । सम्बन्ध बिगार्नमा सामाजिक सञ्जालको भूमिका पनि उल्लेख्य रहने गरेको र सम्बन्ध विच्छेद्मा त्यसैलाई आधार तथा प्रमाण पेस गर्ने गरिएको अदालतले जनाएको छ ।

‘कलिलै उमेरमा प्रेमविवाह गर्‍यो,बुझ्ने भएपछि धेरै कुरामा असमझदारी सिर्जना हुन्छ,धन,व्यवहार इत्यादिले गर्दा उनीहरू सम्बन्ध विच्छेद्का लागि अदालत आउने गर्छन्,’अधिवक्ता मधुकर मल्ल भन्छन्– ‘विदेशमा बसेका युवा युवतीको घरायसी सम्बन्ध बिग्रेर सम्बन्ध विच्छेद् गर्ने,कमाइ र सम्पत्तिको अधिकार तथा उपभोगको विषयमा हुने विवाद सम्बन्ध विच्छेद्को मुद्दासम्म आउने गरेको पाइन्छ ।’

आपसमा विश्वासको वातावरण बनाउन नसक्दा धेरै जोडीहरू टुट्ने गरेको उनको बुझाइ छ । सम्बन्ध विच्छेद्का लागि पुरुषभन्दा महिला नै बढी आउने गरेको उनले बताए । यसैबीच अदालतले गएको आर्थिक वर्षमा लक्ष्यभन्दा बढी मुद्दा फछ्र्योट भएको जनाएको छ । फछ्र्यौट लक्ष्य ६ सय ८३ रहेकोमा असरको अन्तिम सातासम्ममा लक्ष्यभन्दा बढी अर्थात ६ सय ८८ मुद्दा फछ्र्योट भएको हो । अघिल्लो वर्षका जिम्मेवारी सरिआएका २ सय ६१ थान मुद्दाबाहेक ६ सय ९९ नयाँ मुद्दा दर्ता भएका अदालतले जनाएको छ । २ सय ७३ मुद्दा अझै बाँकी रहेको छ । अदातलको अनुसार १ बर्षभित्रको २ सय ५९, एक वर्षदेखि १८ महिना भित्रको १३ वटा, १८ महिना नाघेको १ थान गरि २ सय ७३ थान मुद्दा फर्छ्यौट हुन बाँकी रहेको छ ।

त्यस्तै फैसला कार्यन्वयनसम्बन्धी २ सय ७ थान निवेदन परेकोमा १ सय ५५ फछ्र्यौट भएका छन् भने १ हजार ८ सय १८ बर्ष ५ महिना २३ दिनमा कैद फैसला कार्यन्वयन भएकोमा ४ सय ४१ वर्ष ९ महिना १ दिन फछ्र्यौट भएका छन् । विभिन्न मुद्दामा ७४ करोड १२ लाख २३ हजार ३ सय ९ रुपैयाँ जरिवानामा तोकिएकोमा ४ करोड ५८ लाख २९ हजार २ सय ९ असुल गरिएको छ । म्याद तामेलीको २ हजार ८ सय ९७ मुद्दा रहकोमा २ हजार ६ सय ८० मुद्दा जिल्ला अदालतले फछ्र्यौट गरेको छ ।

कुनै समय सिन्धुपाल्चोक मानव बेचबिखनको ‘हव’को रुपमा चिनिदै आएको थियो । पछिल्लो केहि वर्षयता मानव बेचबिखनको घटना शून्यमा झरेको अदालतको तथ्याङ्कले देखाएको छ । यो वर्ष जम्मा २ वटा मात्र मुद्दा परेको जिल्ला न्यायाधीश ढुङ्गानाले बताइन् । ‘यो मुद्दा पनि अहिलेको होइन २०५४ साल र २०५८ सालको पुरानो हो,’उनले भनिन्,‘तथ्याङ्क केलाउँदा यो जिल्लामा बेचबिखनको घटना शून्यमा झरेको छ ।’

सेवाग्राहीलाई शीघ्र,निष्पक्ष,प्रभावकारी न्याय प्रमाण गर्नु नै आफ्नो लक्ष्य रहेको र सोही अनुसार आफूहरूले काम गरेकै कारण पनि अदालतले लक्ष्यभन्दा बढी मुद्दा फछ्र्यौट भएको न्यायधीश ढुङ्गानाले बताइन् ।

प्रतिक्रिया