December 22, 2024, 7:06 pm
» मधेशी आयोगद्वारा जनकपुर बोल्ट्समाथि भएको दुर्व्यवहारको घटनामा संलग्न दोषीलाई कारबाहीको माग » दुई मुद्दामा सभापति लामिछानेसँग रु ३१ करोड बिगो दाबी » आलोचनात्मक पत्रकारिताको खाँचो : प्रेस काउन्सिल अध्यक्ष बस्नेत » मेला-महोत्सवले शहरमा मात्र होइन विकट ठाउँमा पनि पर्यटक बढ्छन् : मन्त्री सिंह » रुखको हाँगाले लागेर एक जनाको मृत्यु

कास्कीमा डेङ्गीबाट तीनको मृत्यु, ३७ सयबढी सङ्क्रमित

भदौ ३१, २०८१ मा प्रकाशित | ९१०दर्शक तीव्रखबर

गण्डकी,  : कास्कीमा डेङ्गी सङ्क्रणबाट तीनजनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका-५ का

५२ वर्षीया महिला, १२ का ४० वर्षीय र १० का ८० वर्षीय पुरुषको मृत्य भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

कार्यालयका भेक्टर कन्ट्रोल अधिकृत याम बरालकानुसार गत जनवरियता जिल्लाका तीन हजार सात सय ६८ जनामा डेङ्गी सङ्क्रमण पुष्टि भएको छ ।

आइतबारसम्ममा सबैभन्दा बढी पोखरा महानगरपालिकामा तीन हजार एक सय ११, अन्नपूर्ण गाउँपालिकामा २३, माछापुछ«े गाउँपालिकामा ४०, मादी गाउँपालिकामा १० र रुपा गाउँपालिकामा १३ जनामा डेङ्गी सङ्क्रमण देखिएको हो ।

यस्तै अन्य जिल्लाका दुई सय ६३ र ठेगाना नखुलेका तीन सय आठ गरी कास्कीमा कूल तीन हजार सात सय ६८ जनामा डेङ्गी सङ्क्रमण पुष्टि भएको हो । पोखरा महानगरपालिका वडा नं ५ र ८ लगायतका वडा डेङ्गीको प्रकोपबाट बढी प्रभावित भएको भेक्टर कन्ट्रोल अधिकृत बरालले बताउनुभयो ।

जनघनत्व बढी भएका ठाउँमा सङ्क्रमण छिटो फैलने हुँदा पोखरा डेङ्गीको ‘हट स्पट’ बनिरहेको उहाँको भनाइ छ । स्वास्थ्य कार्यालयले डेङ्गीको उपचारका क्रममा पोखराका अस्पतालमा ज्यान गुमाउनेमा अन्य जिल्लाका सङ्क्रमितसमेत रहेको जनाएको छ ।

सङ्क्रमण तीव्र बन्दै जाँदा उक्त रोग सङ्क्रमणबाट जोगिन विशेष सावधानी अपनाउन चिकित्सक तथा स्वास्थ्यकर्मीले सुझाएका छन् । स्वास्थ्य कार्यालय प्रमुख रामबहादुर नेपालीले सङ्क्रमण जटिल बनेर मानिसको मृत्युसमेत हुन सक्ने भएकाले रोग सार्ने लामखुट्टेको टोकाइबाट बच्न आग्रह गर्नुभयो ।

पछिल्लो तीन महिनामा डेङ्गी सङ्क्रमणको दर ह्वात्तै बढेको र अब समयमा जोखिम न्यूनीकरण र नियन्त्रण गर्न नसके महामारीको रूप लिनसक्ने प्रमुख नेपालीले बताउनुभयो ।

“डेङ्गीलाई सामान्य रूपले नसोचौँ, यसका अप्रिय उदाहरण हामीसँग छन्”, उहाँले भन्नुभयो, “सङ्क्रमणपछि उपचार र हेरचाह पुगेन भने स्वास्थ्य अवस्था जटिल बन्दै बिरामीको मृत्युसमेत हुनसक्छ । यसैले डेङ्गी रोकथाम र नियन्त्रणका लागि सबै पक्ष सचेत र जिम्मेवार हुनुपर्छ ।”

धवलागिरि उपप्रादेशिक अस्पतालका प्रमुख डा रविरञ्जन प्रधानले डेङ्गी सङ्क्रमण हुँदैमा आत्तिहाल्नु नपर्ने बताउनुभयो । डेङ्गी सङ्क्रमणपछि बान्ता भइरहने, नाकबाट रगत आउने, कालो दिसा हुने, थकान जस्ता लक्षण देखिए चिकित्सकको विशेष निगरानीमा उपचार गर्न उहाँले आग्रह गर्नुभयो ।

डेङ्गी भएमा आराम गर्ने, पानीलगायत झोलिलो पदार्थ प्रशस्त पिउने र जथाभावी औषधि सेवन गर्न नहुने डा प्रधानले बताउनुभयो । ज्येष्ठ नागरिक, दीर्घरोगी, गर्भवती र बालबालिकामा डेङ्गीको सङ्क्रमण भएमा स्वास्थ्यमा जटिलता निम्तन सक्ने खतरा हुने उहाँको भनाइ छ ।

“अधिकांश सङ्क्रमित सामान्य उपचार र हेरचाहपछि निको हुन्छन्, कतिपयमा डेङ्गीले जटिलता ल्याउन सक्छ । त्यसैले सामान्य रोग हो भन्ने सोचेर लापरबाही गरेमा ज्यानै जोखिममा पर्न सक्छ”, उहाँले भन्नुभयो ।

प्रतिक्रिया