December 25, 2024, 1:59 pm
» बाँकेमा कुपोषित बालबालिका भेटिए » ‘सहकारी ठगीमा संलग्न जो कोहीलाई छोड्दैनौँ’ » काठमाडौं आइपुगे सोनु निगम, हायातको चौरमा कन्सर्ट हुँदै » मन्त्री भण्डारी र सचिव निरौलाको कारण मन्त्रालय अस्तव्यस्त » इरानले ह्वाट्सएप, गुगल प्लेमाथिको प्रतिबन्ध हटायो

राष्ट्रपतिद्वारा गौरा पर्व र श्रीकृष्ण जन्माष्टमीको शुभकामना

भदौ १०, २०८१ मा प्रकाशित | ६४०दर्शक तीव्रखबर

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले गौरा पर्वले भौगोलिक, धार्मिक, सांस्कृतिक आस्था र आपसी सद्भावलाई प्रगाढ बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गरेका छन्।

गौरा पर्वको अवसरमा शुभकामना दिँदै उनले हरेक वर्ष भाद्र शुक्ल पञ्चमीदेखि अष्टमीका दिनसम्म नेपालको सुदूरपश्चिम क्षेत्रमा विशेषरुपमा मनाइने यस पर्वले विविधतामा एकता, सामाजिक एवं सांस्कृतिक ऐक्यवद्धता र सहिष्णुता अभिवृद्धि गरी राष्ट्रिय एकता सुदृढ पार्न सहयोग पुर्‍याउँदै आएको बताएका छन्।

यस पर्वमा शिव र पार्वतीको पूजा अर्चना गरी व्रत बस्ने गरिन्छ। जसको फलस्वरूप शिव र पार्वती तथा ईष्ट र कुल देवता प्रशन्न भई सुख शान्ति प्राप्त हुने जनविश्वास रहेको छ। साथै, पाँच प्रकारका अन्नबाट बनेको ‘बिरुँडा’ अर्पण गरी प्रसादको रुपमा ग्रहण गरेर यो पर्व मनाउने गरिन्छ।

यस पर्वको अवसरमा स्थानीय गोलबद्ध भई लोक भाषामा देउडा, धमारी र चैत आदिका माध्यमबाट एक अर्काका दुःख, सुख बाड्ने गर्दछन्। साथै, यस पर्वले बिछोडिएका जोडीको मिलन हुने, आपसी भाइचाराको सम्बन्धमा वृद्धि हुने र पति-पत्नीबीचको सम्बन्ध अझ प्रगाढ हुने विश्वास रहेकोले यसलाई धुमधामपूर्वक मनाउने प्रचलन रहिआएको छ।

राष्ट्रपति पौडेलले यस साँस्कृतिक चाड गौरा पर्वले नेपाली मौलिक संस्कृतिको संरक्षणमा थप योगदान गर्दै सम्पूर्ण नेपालीमा आपसी समझदारी, दिगो शान्ति एवं भाइचाराको भावना अभिवृद्धि गर्न प्रेरणा मिलोस् भन्ने कामना गरेका छन्।

यसैगरी राष्ट्रपति पौडेलले श्रीकृष्ण जन्माष्टमी पर्वको शुभकामना दिँदै समाजलाई भावनात्मक एकताको सूत्रमा आबद्ध गरी धार्मिक सहिष्णुता तथा आपसी सद्भाव कायम र सत्कर्मका लागि प्रेरित गर्न सहयोग पुर्‍याउने उल्लेख गरेका छन्।

उनले यस पर्वले सम्पूर्ण नेपालीमा आपसी सद्भाव, करूणा र मैत्री भावना अभिवृद्धि गर्दै सभ्य र सुसंस्कृत समाज निर्माण गर्न प्रेरणा प्रदान गरोस् भन्ने कामना गरेका छन्।

राष्ट्रपति पौडेलले गीताको माध्यमबाट सम्पूर्ण विश्वलाई कर्मयोगमा लाग्न प्रेरित गर्दै काम, क्रोध, लोभ, मोह त्याग गरी समाजमा सद्भाव कायम गर्न उत्प्रेरित गरिएको र गीता ज्ञानले समाजलाई सहि दिशा दिन योगदान दिएको समेत उल्लेख गरेका छन्।

प्रतिक्रिया