September 20, 2024, 10:05 pm
» नागढुङ्गा-नौबीसे-मलेखु-मुग्लिन सडकसम्बन्धी छ बुँदे सहमति » सीके राउतको गुनासो- संविधानमा भएका अधिकार पनि खोस्ने खेल हुँदैछ » रविले ग्यालेक्सी टिभीमा तलबबापत लिएका थिए एक करोडभन्दा बढी » राष्ट्रपति पौडेलसमक्ष लोकसेवा आयोगको प्रतिवेदन पेस » ४५ दिनपछि ‘दलितलाई खै ?’ आन्दोलन स्थगित

अमेरिकामा बेपत्ता ममता काफ्लेको हत्या भएको आशंका, श्रीमान् नरेश भट्ट पक्राउ

भदौ ६, २०८१ मा प्रकाशित | १०४०दर्शक तीव्रखबर

काठमाडौँ । अमेरिकाको भर्जिनियास्थित मनासस पार्कबाट बेपत्ता भएकी नेपाली नागरिक ममता काफ्लेका श्रीमान् नरेश भट्टलाई स्थानीय प्रहरीले पक्राउ गरेको छ । मनासस प्रहरीले भट्टलाई स्थानीय समयअनुसार बिहीबार बिहान पक्राउ गरेको हो ।

स्थानीय प्रहरीले हतकडी लगाएर प्रहरीको भ्यानमा राख्दै गरेको भिडियो सार्वजनिक भएको छ । स्थानीय सञ्चारमाध्यमले ममताको घरमा खानतलासी गरिरहेको दृश्य प्रत्यक्ष प्रसारण गरिरहेका छन् ।

ममताका एक वर्षीय छोरीलाई पनि प्रहरीले उद्धार गरेको छ ।

ममताका श्रीमान् नरेश भट्टलाई पक्राउ गरी बालिको उद्धार भएसँगै ममताको हत्या भएको आशंका गरिएको छ ।

यसअघि बुधवार राती मात्रै प्रहरीको टोलीले काफ्लेको घरमा सर्च अपरेसन चलाएको थियो । स्थानीय समय अनुसार बुधवार राती प्रहरीले ‘क्राइम सिन’ को पहेँलो टेप टाँगेर सर्च गरेको थियो ।

फरेन्सिक भ्यानसहित ममताको घरमा करिब एक दर्जन प्रहरी उपस्थित भई ४ घण्टा लामो सर्च गरेका थिए । ४ घण्टा लामो सर्चपछि प्रहरीले पत्रकार सम्मेलन गरेर बिहीबार बिहानसम्म घटनाबारे जानकारी दिने र अहिले फरेन्सिक रिपोर्ट पर्खिरहेको बताएको थियो । त्यस लगत्तै बिहीबार बिहानै ममताका श्रीमान् नरेश भट्टलाई प्रहरीले पक्राउ गरेको हो ।

भर्जिनियाको मनासस पार्कमा बस्दै आएकी २८ वर्षीय नेपाली युवती ममता काफ्ले गत साउन १६ गतेदेखि बेपत्ता भएकी थिइन् । अमेरिकामा नर्सको रूपमा कार्यरत काफ्लेको एक वर्षकी छोरी छिन् ।

ममता हराएकी लामो समयपछि स्थानीय प्रहरीले उनको घरमा पहेँलो टेप टाँगेर सर्च अपरेसन चलाएको थियो । सर्च अपरेसनपछिको पत्रकार सम्मेलनमा प्रहरीले ममताका श्रीमान् नरेश भट्टले अनुसन्धानमा सहयोग नगरेको बताएको थियो । मनासस पार्क पुलिस डिपार्टमेन्टले ममताबारे सूचना सङ्कलनका लागि सर्वसाधारणलाई पनि सहयोगका लागि आग्रह गरेको थियो ।

ममता हराएपछि तीन दिनसम्म उनका श्रीमान् नरेश भट्टले प्रहरीलाई जानकारी दिएका थिएनन् । प्रहरीमा औपचारिक रिपोर्ट भएपछि मात्रै ममताको खोजी सुरु भएको थियो ।

 

 

प्रतिक्रिया