September 19, 2024, 9:37 pm
» ‘शेरबहादुर देउवा रिसाएको दिन यो सरकार ढल्छ’ : रवि लामिछाने » श्रीलङ्कामा आर्थिक मन्दीपछि पहिलोपटक शनिबार मतदान हुँदै » ‘काठमाडौंवासीलाई घटस्थापना अघि मेलम्चीको पानी’ » बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन » क्यान्सरको आशंकामा मासु लिएर चेक गर्न खोज्दा नमान्ने राउटे युवाको डिस्चार्जलगत्तै मृत्यु

पानी नपर्दा रोपोमै सुक्न थाले धान

साउन २१, २०८१ मा प्रकाशित | ६४०दर्शक तीव्रखबर

धरान सुनसरी, : यहाँको बराहक्षेत्रस्थित श्रीलङ्का टप्पुमा धानबाली रोपोमै सुक्न थालेको छ ।

आकाशे पानीको भर पर्नुपर्ने बराहक्षेत्र नगरपालिका-६ श्रीलङ्का टप्पुका चिलैया र गरैया क्षेत्रका किसानका धानबाली रोपोमै सुक्न थालेको स्थानीय कृषक सन्तोष चन्द्रवंशीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “केही दिनदेखि पानी राम्रोसँग पर्न सकेको छैन पानी पर्ने आशामा बसेका किसानको धान रोपोमै सुक्न थालेको हो ।”

गाँज लाग्ने बेलामा पानी नपरेको किसानहरुको भनाइ छ । विद्युत सबै ठाउँमा नपुग्दा पम्पसेटबाट पानी लगाउनसमेत नसकिएको उनीहरु बताउँछन् । छ वर्ष अघिसम्म श्रीलङ्का टप्पुका किसानले धान खेती गर्दैन थिए ।

चन्द्रवंशीका अनुसार स्थानीय किसानले एक वर्षका लागि धान खरिद गरेर जोहो गर्नुपथ्र्याे । बिजुली बत्ती आएपछि मोटरबाट पानी तानेर धानखेती गर्न थालेका थिए । तर, सबै खेतमा विद्युतको पहुँच नपुग्दा कृषक समस्यामा परेका हुन् ।

यहाँका अधिकांश कृषकले कोशीपारिका बजार भागलपुर, रामपुर र चक्रघट्टीबाट ल्याएर धानको बियाड राखेका थिए । गरैया कृषि सहकारीले पनि १९ बोरा (छ सय ६५ केजी) धानको बीउ कृषकलाई वितरण गरेको सहकारी संस्थाका अध्यक्ष बद्री राईले जानकारी दिनुभयो ।

बराहक्षेत्र नगरपालिकाअन्तर्गत पर्ने श्रीलङ्का टप्पु दुई वटा वडाले छोएको छ । वडा न ९ मा सात सय घरधुरी छन् भने वडा न ६ मा दुई सय घरधुरी छन् । हाल कृषकले यहाँ एक सय बिघाहभन्दा बढी क्षेत्रफलमा धान खेती गरेका छन् ।

“पानी पर्लापर्ला भन्दाभन्दै धानको रोपो सुक्न थालेको छ”, कृषक रामभुवन राय यादवले भन्नुभयो । कृषि सहकारीले धानबालीका लागि पाँच सय बोरा मल मौज्दात राखेको छ ।

विगत वर्षमा मलको अभाव भोग्नुपरेकाले यसवर्ष मल मौज्दात गरिए पनि पानी नपरेकाले खपत हुन नसकेको सहकारीले जनाएको छ ।

“पानी परेपछि धानबालीमा मल हाल्नुपर्छ, पानी नपरेकै कारण कृषकले सहकारीबाट मल लगेका छैनन्”, गरैया कृषि सहकारीका कोषाध्यक्ष गोल्छा झाले भन्नुभयो । कृषक पानी पर्ने आशामा बसेको उहाँको भनाइ छ ।

प्रतिक्रिया