बैंकहरूको खराब कर्जा करिब चार प्रतिशत

- April 17, 2024 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं : बैंकिङ क्षेत्रमा खराब कर्जाको मात्र बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको फागुन मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरूको खराब कर्जा तीन दशमलव ७३ प्रतिशत देखिएको छ ।

फागनुसम्म बैंक तथा वित्तीय संस्थाले ५० खर्ब ८४ अर्ब ९३ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् । यस आधारमा खराब कर्जा करिब एक खर्ब ९० अर्ब रुपैयाँ बराबर छ ।

गत वर्ष फागुन मसान्तमा बैंक तथा वित्तीय संस्थाको खराब कर्जा औसत दुई दशमलव ६३ प्रतिशत थियो । यस अवधिमा बैंक तथा वित्तीय संस्थाले कुल ४८ खर्ब ५१ अर्ब ३३ करोड रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।

समीक्षा अवधिमा वाणिज्य बैंकहरूले मात्रै कुल ४४ खर्ब ९२ अर्ब ८४ करोड ५० लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए । यसमध्ये तीन दशमलव ६३ प्रतिशत खराब कर्जा देखिएको छ ।

जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा एक दशमलव १४ प्रतिशत विन्दुले बढी हो । गत आर्थिक वर्षको फागुन मसान्तमा वाणिज्य बैंकहरूको खराब कर्जा दुई दशमलव ४९ प्रतिशत थियो । गत आर्थिक वर्षको फागुनसम्म वाणिज्य बैंकहरूले ४३ खर्ब एक अर्ब ३९ करोड रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।

विकास बैंकहरूको खराब कर्जा पनि बढेको छ । राष्ट्र बैंकको तथ्याङ्कअनुसार चालू आर्थिक वर्षको फागुन मसान्तसम्म विकास बैंकहरूले चार खर्ब ९६ अर्ब पाँच करोड रुपैयाँ कर्जा प्रवाह गर्दा तीन दशमलव ६१ प्रतिशत खराब कर्जा देखिएको छ ।

गत आर्थिक वर्षको सोही अवधिमा विकास बैंकहरूले चार खर्ब ५७ अर्ब २६ करोड रुपैयाँ कर्जा प्रवाह गर्दा खराब कर्जा दुई दशमलव ८२ प्रतिशत थियो ।

वाणिज्य बैंक र विकास बैंकहरूको तुलनामा फाइनान्स कम्पनीहरूको खराब कर्जा उच्च छ । फाइनान्स कम्पनीहरूले कुल ९६ अर्ब तीन करोड रुपैयाँ कर्जा प्रवाह गर्दा औसत नौ दशमलव १८ प्रतिशत कर्जा खराब देखिएको छ ।

जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा झण्डै दुई प्रतिशत विन्दुले बढी हो । गत आर्थिक वर्षको फागुन मसान्तसम्म फाइनान्स कम्पनीहरूले ९२ अर्ब ६७ करोड रुपैयाँ कर्जा प्रवाह गरेकोमा औसत सात दशमलव ८२ प्रतिशत खराब कर्जा थियो ।

पछिल्लो समय अर्थतन्त्रमा आएको सुस्तता र बजार चलायमान बन्न नसक्दा बैंकहरूको कर्जा लगानीको नियमित चत्र खल्बलिएको देखिन्छ । बैंकहरूले समयमा कर्जाको सावाँ ब्याज असुली गर्न नसक्दा विगतका वर्षहरूको तुलनामा निष्क्रिय कर्जाको मात्रा केही बढेको देखिएको हो ।

अहिले अर्थतन्त्रले क्रमिकरूपमा लय समातेकाले अबको केही समयपछि बैंकिङ क्षेत्रमा रहेको खराब कर्जाको मात्रा घट्न सक्ने बैंकहरूले बताएका छन् । (आर्थिक दैनिकबाट)


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!