विकास बैंकहरूको वितरणयोग्य नाफा खुम्चियो

- April 30, 2024 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं, १८ वैशाख । विकास बैंकहरूको वितरणयोग्य नाफा खुम्चिँदै गएको छ । दुई वर्षअघिदेखि अर्थतन्त्र चलायमान बन्न नसक्दा कर्जाको माग घटेको छ । त्यस्तै बजारमा प्रवाह भएको कर्जा असुलीमा पनि बैंकहरुलाई समस्या भएको छ ।

बजारमा कर्जाको माग न्यून भए पनि निक्षेप भने दिन दिनै बढेको छ । निक्षेपको आकार बढ्दै जाँदा बैंक तथा वित्तीय संस्थाको ब्याज लागत बढेर गएको छ । यसको असर बैंकहरुको नाफामा परेको छ । यसबाट विकास बैंकहरू पनि प्रभावित भएका छन् ।

कर्जाबाट नियमितरूपमा साँवाब्याज असुली हुन नसक्दा विकास बैंकहरूले आम्दानीबाट ठूलो हिस्सा सम्भावित जोखिम व्यवस्थापन शीर्षकमा छुट्याउनु परेको छ । यसको असर बैंकहरूको नाफामा मात्रै नभएर वितरणयोग्य मुनाफामा पनि परेको देखिन्छ ।

विकास बैंकहरूले सार्वजनिक गरेको चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अपरिष्कृत वित्तीय विवरणअनुसार लुम्बिनी विकास बैंकको वितरणयोग्य नाफा नौ करोड १६ लाख ६२ हजार छ सय ११ रूपैयाँ छ । यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा आधा कम हो ।

गत आर्थिक वर्षको सोही अवधिमा लुम्बिनीको वितरणयोग्य नाफा १८ करोड ६३ लाख ३७ हजार नौ सय ७२ रूपैैयाँ थियो । मुक्तिनाथ विकास बैंकको वितरणयोग्य नाफा पनि यस वर्ष तेस्रो त्रैमासमा एक करोड दुई लाख ८५ हजार एक सय ३१ रूपैयाँ छ ।

गत आर्थिक वर्षको सोही अवधिमा मुक्तिनाथको वितरणयोग्य नाफा तीन करोड ५२ लाख ३३ हजार सात सय छ रूपैयाँ ऋणात्मक थियो ।

यसैगरी महालक्ष्मी विकास बैंकको वितरणयोग्य नाफा नौ करोड ८८ लाख ३२ हजार सात सय १३ रूपैयाँ छ । जुन गत आर्थिक वर्षको सोही अवधिमा दुई करोड ६७ लाख ९८ हजार छ सय चार रूपैयाँ ऋणात्मक थियो ।

गरिमा विकास बैंकको वितरणयोग्य नाफा गत चैत मसान्तसम्म १० करोड २१ लाख नौ हजार एक सय २७ रूपैयाँ छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा आठ करोड रूपैयाँले कम हो ।

गत आर्थिक वर्षको तेस्रो त्रैमासमा गरिमाको वितरणयोग्य नाफा १८ करोड ७५ लाख ७४ हजार पाँच सय ५७ रूपैयाँ थियो । सांग्रिला डेभलपमेन्ट बैंकको वितरणयोग्य नाफा यस वर्ष तेस्रो त्रैमासमा छ करोड एक लाख ९४ हजार आठ सय ४३ रूपैयाँ ऋणात्मक छ ।

गत आर्थिक वर्षको सोही अवधिमा सांग्रिलाको वितरणयोग्य नाफा १२ करोड ३१ लाख १५ हजार नौ सय ५४ रूपैयाँले ऋणात्मक थियो । शाइन रेसुंगा डेभलपमेन्ट बैंकको वितरणयोग्य नाफा गत चैतसम्म १४ करोड ८८ लाख ५५ हजार नौ सय सात रूपैयाँ छ ।

यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा पाँच करोड रूपैयाँले कम हो । गत आर्थिक वर्षको सोही अवधिमा बैंकको यस्तो नाफा १९ करोड ७३ लाख ३४ हजार एक सय ७९ रूपैयाँ थियो ।

कामना सेवा विकास बैंकको वितरणयोग्य नाफा चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा २८ करोड ७३ लाख ३१ हजार पाँच सय ६६ रूपैयाँ छ । यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २० करोड रूपैयाँ बढी हो ।

गत आर्थिक वर्षको सोही अवधिमा कामना सेवाको वितरणयोग्य नाफा आठ करोड तीन लाख ६३ हजार ७६ रूपैयाँ थियो । सिन्धु विकास बैंकको वितरणयोग्य नाफा चालू आर्थिक वर्षको पछिल्लो नौ महिनामा पाँच करोड ७६ लाख ८४ हजार सात रूपैयाँले ऋणात्मक छ ।

गत आर्थिक वर्षको सोही अवधिमा उक्त बैंकको यस्तो नाफा एक करोड ९२ लाख १२ हजार छ सय ६६ रूपैयाँले ऋणात्मक थियो । ग्रीन डेभलपमेन्ट बैंकको वितरणयोग्य नाफा भने चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा ३९ लाख २१ हजार सात सय ९५ रूपैयाँ थियो ।

कर्पोरेट डेभलपमेन्टसहितका केही बैंकहरूले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको भए पनि वितरणयोग्य नाफा भने उल्लेख गरेका छैनन् ।

ज्योति विकास बैंकको वितरणयोग्य नाफा यस वर्ष तेस्रो त्रैमासमा २८ करोड ६६ लाख ५८ हजार चार सय ६६ रूपैयाँ ऋणात्मक छ ।

गत आर्थिक वर्षको सोही अवधिमा बैंकको यस्तो नाफा २७ करोड छ लाख ७५ हजार ७२ रूपैयाँले ऋणात्मक थियो । यस वर्ष तेस्रो त्रैमासमा कर्णाली डेभलपमेन्ट बैंकको वितरणयोग्य नाफा दुई करोड ५१ लाख ३४ हजार आठ सय १७ रूपैयाँ छ । (आर्थिक दैनिकबाट)


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!