गृहमन्त्री रविले अब दुनियाँलाई ढाँट्नुहुँदैन्, स्पष्टीकरण दिनुपर्छ : एमाले नेता पोखरेल

- April 16, 2024 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं ।  नेकपा (एमाले) का पोलिटब्यूरो सदस्य तथा पूर्वमन्त्री आनन्द पोखरेलले ०७९ को निर्वाचनयता तात्विक भिन्नता नरहेको भन्दै अहिले देखिएको राजनीतिक अस्थिरताको अन्त्यको लागि पनि सदनमा कमभन्दा कम दलको प्रतिनिधित्व हुनुपर्ने वकालत गरेका छन् ।

उनले भने,‘अहिले मुलुकमा आर्थिक, राजनीतिक, सांस्कृतिक र सामाजिक स्थितिमा खासै परिवर्तन आएको छैन् । अहिलेपनि राजनीतिक अस्थिरता कायमै छ ।’ आज रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै पूर्वमन्त्री पोखरेलले संसद्मा धेरै दलहरुको प्रतिनिधित्व भएकोले राजनीतिक अस्थिरता निम्तिएको टिप्पणी गरे ।

उनले भने,‘सदनमा धेरै दलहरु भए त्यही भएर अस्थिरता भयो । जब दल धेरै हुन्छन्, विदेशी हस्तक्षेप पनि बढि हुन्छ । जब सदनमा दल धेरै हुन्छन्, कुशासन र भ्रष्टाचार मौजुद हुन्छन ।

सामाजिक न्यायपनि कमजोर हुन्छ । आजको निकासको बाटो भनेको आगामी दिनमा सदनमा जति राजनीतिक दलको कम प्रतिनिधित्व हुन्छ, त्यति देशमा राजनीतिक स्थायित्व हुन्छ । त्यसो भयो भने साना पार्टीले प्रधानमन्त्री र मुख्यमन्त्री खोज्ने स्थिति आउँदैन् । देशमा दुई ध्रुवीय राजनीतिक कित्ता बनाउनुपर्छ । अब समाजमा समाजवादी र पुँजीवाद क्याम्प हुन जरुरी छ । यसलेमात्रै मुलुकलाई निकास दिन्छ ।’

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले अहिलेको सरकार न्यूनतम साझा कार्यक्रमअनुसार नै चलेको दाबी गरे । उनले थपे,‘यो सरकार बनाउँदा हामीले न्यूनतम साझा कार्यक्रम बनाएका छौं । त्यहीअनुसार अघि बढाउनुपर्छ ।’

नेता पोखरेलले वर्तमान गृहमन्त्री रवि लामिछानेको नाम सहकारी ठगी प्रकरणमा मुछिएको विषयमा मिडियामा तथ्यसहित समाचार आएको भन्दै मन्त्री लामिछानेले आजै पत्रकार सम्मेलन गरेर आफ्नोबारे स्पष्टीकरण दिनुपर्ने सुझाव दिए । उनले भने,‘म पनि सहकारीको सदस्य हुँ । यदि सहकारी सदस्यताको आधारमा र इक्युएल फुटिङको आधारमा चलाउन प्रयत्न गरेको भए आज सहकारीको यो दशा र बदनाम हुनुपर्ने थिएन ।

सहकारीको बद्नाम हुनु भनेको सोसियो–इकोनोमीको बद्नाम हुनु हो । पूर्वाग्रह र कथित आपराधिक मानसिकताबाट दर्ता भएका सहकारीहरुले गर्दा आज सिंगो सहकारी क्षेत्रको बदनाम भएको छ । संविधानले समाजवादउन्मुख अर्थतन्त्रको कुरा गरेको छ । त्यसैले सहकारीको आवश्यकत्ता छ ।’

उनले सहकारी ठगी प्रकरण जोसुकै संलग्न भएपनि कारबाहीको दायरामा आउनुपर्ने टिप्पणी गरे । उनले भने,‘सहकारी ठगी प्रकरणमा जोसुकै संलग्न भएपनि यो सहकारी ठगी प्रकरणमा को–को संलगन भएका छन्, जोसुकै संलग्न भएको भएपनि, मेरो गृहमन्त्री र मुलुकको गृहमन्त्री रविजीलाई, मैले दस्तावेज पढेको छैन् । पत्रिका पढेको हुँ ।

यदि आज पत्रिकामा आएकोजस्तै उहाँले डेढ करोड भुक्तानी लिएको र कारोबार गरेको हो भने उहाँले अब दुनियाँलाई ढाँट्नुहुँदैन् । उहाँ निर्वाचन लड्दाखेरि पूराना पार्टी, गभर्नेन्स र भ्रष्टाचारको विरुद्ध भनेर चुनाव लड्न्ुभयो । त्यो चुनाव लडेको इथिक्स छ भने उहाँले आज बेलुकै आफ्नो स्थिति सार्वजनिक गर्नुपर्छ ।

त्यो आज मुलुकको माग हो । एमालेले कसैले गल्ती, भ्रष्टाचार र बदमासी गर्छ भने त्यसलाई काँध थाप्न जरुरी छैन् । आज जुन तथ्य आएका छन्, त्यो तथ्यमा सत्यता छ भने उहाँले यो मुलुकलाई आज बेलुका प्रेस मिट गरेर गृह मन्त्रालयबाट स्पष्टीकरण दिनुपर्छ । यथार्थ जनतासामू राख्नुपर्छ । यसो गर्दामात्रै रास्वपा टिक्न सक्छ । नभए त्यो नौटंकी गरेर अथवा पूराना पार्टीलाई बदनाम गरेर उहाँको भविष्य हुँदैन् ।’

उनले रास्वपाका नेताहरुले पूराना पार्टीको विकल्प खोज्ने भनेर गरेको भाषणप्रति कडा आपत्ति जनाए । उनले नेपालमा देश र जनताको लागि काम गर्ने पार्टी कहिल्यैपनि पूरानो नहुने जिकिर गरे ।

उनले भने,‘नेपालमा कुनैपनि पार्टी पूरानो हुँदैनन् । माक्र्सवाद कहिल्यै पूरानो हुँदैन् । जनताको एजेण्डा लिएर हिँड्नेहरु कहिल्यै पूरानो हुनसक्दैनन् । नेपालको अर्थतन्त्र गाउँमा बस्ने किसानले र मजदुरले बढि बुझ्छ ।

हावर्ड विश्वविद्यालयमा पढ्नेले नेपालको अर्थतन्त्र बुझ्दैन् । आज धेरै पढेका अर्थशास्त्रीभन्दा कम पढेका भरतमोहन अधिकारी र विष्णु पौडेल नेपालको सबभन्दा जनपक्षीय अर्थशास्त्री भएका छन् । यो तथ्य हो ।’

सो क्रममा उनले यही बैशाख १५ गते हुने इलाम–२ (प्रतिनिधिसभा) र बझाङ १ (क) प्रदेशतर्फको उपनिर्वाचनमा एमालेका उम्मेद्वारको जित सुनिश्चित् भएको दाबी गरे । उनले भने,‘यो उपनिर्वाचनको कुरा गर्दा नेपाली जनताले राम्रोसँग हेरिरहेका छन् । इलाममा जनताले युवा नेता खोजेका छन् । सुहाङ नेम्वाङ हाम्रो उम्मेद्वार हुनुहुन्छ । मैले फिल्डबाट बुझ्दा हाम्रो जित सुनिश्चित् छ ।’

उनले माधव नेपाललाई च्याँखे थाप्ने काम नगर्न चेतावनी दिए । उनले सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीको सवालमा माधव नेपालको दलले कांग्रेससम्मिलित नयाँ गठबन्धनलाई सघाएको विषयमा आपत्ति जनाएका हुन् । उनले भने,‘अहिलेको गठबन्धनबाहिरको लाई समर्थन गर्ने कुरा भयो, माधव नेपालले गल्ती गर्नुभयो । त्यो गल्ती नगर्न म अनुरोध गर्दछु । यो गठबन्धनको रक्षा गर्नुपर्छ ।

यो मुलुकको आवश्यकत्ता हो । राजनीतिमा यसरी च्याँखे थाप्नहुँदैन् । अरु ढंगले लाग्नुहुँदैन् । माधव नेपालको बुद्धि फिरोस । अर्को कुरा गठबन्धनमा जे वार्ता र सहमति भएको छ, त्योअनुसार चल्नुपर्छ । गल्ती गर्नुहुँदैन् ।’ उनले मुलुकको राष्ट्रियता जोगाउनको लागि र संविधानको रक्षाको लागि वंश परम्परालाई कहिल्यैपनि उठ्न नदिनको लागि नयाँ सरकार र नयाँ गठबन्धन आवश्यकत्ता भएकोले नै अहिलेको गठबन्धन र सरकार बनेको दाबी गरे ।

प्रचण्डको सरकार तुरुन्तै गिर्छ कि भन्ने कसैको दिमागमा नपसोस्, यो गठबन्धन टुट्दैन् : सोमप्रसाद पाण्डे

नेकपा (एकीकृत समाजवादी) का स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री सोमप्रसाद पाण्डेले अहिलेको सत्ता गठबन्धन कुनैपनि हालतमा नटुट्ने दाबी गरेका छन् । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व आफ्नै दलले गर्ने र यसअघि भएको भद्र सहमति लागु हुनेमा आफूहरु विश्वस्त रहेको उनको भनाई छ ।

उनले भने,‘एमाले, माओवादी र एकीकृत समाजवादीसहितको यो गठबन्धन टुट्दैन । अब कसैको लहड र रहरको भरमा छ भने छुट्टै कुरा हो । नत्र केही हुँदैन् । सुदूरपश्चिममा पनि केही फेरवदल हुँदैन् । एकीकृत समाजवादीकै मुख्यमन्त्री हुन्छ । यो गठबन्धनबाट नै हुन्छ । केन्द्रको सरकार तुरुन्तै गिर्छ कि भन्ने कुरा कसैको दिमागमा नपसोस् । गिर्दैन् ।’

उनले सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व आफ्नो दलले पाउने भद्र सहमति हुँदापनि त्यो कार्यान्वयनमा आनाकानी भएपछि अहिलेको परिस्थिति उत्पन्न भएको सुनाए । तर, आजबाट नयाँ परिस्थितिको निर्माण भएकोले अब गठबन्धनमा समस्या नहुने उनको भनाई छ ।

उनले भने,‘राजनीतिमा विश्वास टुट्यो र घात भयो भने त्यो राजनीतिक रूपमा ठूलो अपराध मानिन्छ । सुदूरपश्चिममा सरकार परिवर्तनको कुरा भएको छ, मुख्यमन्त्री बन्ने प्रक्रिया चल्दैछ । नयाँ गठबन्धन बनेपछि हामीले धेरै भद्र सहमति गरेका थियौं ।

त्यो सहमतिमा सुदूरपश्चिमको मुख्यमन्त्री नेकपा एकीकृत समाजवादीले पाउने भनेर सहमति गरिएको थियो । यो भद्र सहमति हो । लिखित वा अलिखित होला । राजनीतिमा सबै कुरा लिखित हुन्छ भन्ने हुँदैन् । अलिखित पनि सहमति नै हो । तर, सुदूरपश्चिममा एकीकृत समाजवादीलाई अवमूल्यन गर्ने काम भयो । केही कुरामा हामी खरो ढंगले जानुपर्ने बाध्यता रहेकोले यो स्थिति आएको हो ।’

आफूहरुलाई अवमूल्यन गरिएपछि पार्टीले फरक ढंगले कदम चालेको पाण्डेको भनाई छ । उनले भने,‘अनि हामी ब्याक हुने ? त्यतिवेलासम्म नागरिक उन्मुक्ति पार्टीको मुख्यमन्त्रीको कुरा उठेको छैन् । लुम्बिनीमा पनि हाम्रै कारणले सरकार बन्यो । आज बाग्मती पनि त्यही भयो । हामीले साथ नदिएको भए बाग्मतीमा माओवादीको मुख्यमन्त्री हुँदैन थियो ।’ उनले सुदूरपश्चिममा सरकार गठनमा आफ्नो दलको भूमिकालाई लिएर अध्यक्ष माधव नेपालमाथि शंका नगर्नपनि एमाले नेता आनन्द पोखरेललाई चेतावनी दिए । उनले अहिलेको सत्ता गठबन्धन नटुट्ने दाबी गरे ।

उनले भने,‘अघि यहाँ सुरेन्द्र केसीले पनि भन्नुभयो यो गठबन्धन एक वर्ष गठबन्धन टुट्दैन् भनेर, म पनि भन्छु यो गठबन्धन टुट्दैन् । हामीले धेरै छलफल र मूल्यांकन गरेर मार्क्सवादले भनेअनुसार ठोस परिस्थितिको ठोस विश्लेषण गरेर यो गठबन्धनमा सामेल भएका हौं ।’

उनले सत्ताको लागिमात्रै गठबन्धन गर्ने परिपाटीको अन्त्य हुनुपर्नेमा जोड दिए । उनले भने,‘जनताको मुद्दा सम्बोधन गर्नको लागि गठबन्धन बनाउने कुरा हो । होला, हामी धेरै उथलपुथल गर्न सक्छौं, तर त्यो ठूलो कुरा होईन । अब हामी आफ्नो वाचा र बन्धनमा बाँधिनुपर्छ । जुन विश्वासमा हामी अडिएका छौं, त्यो तोडिनुहुँदैन् । अहिले मुलुक निरााशमा छ । जनता निराशामा छन् । आशा र परिवर्तनको लागि गठबन्धन बनाउने कुरा हो ।

हामीले व्यवस्था परिवर्तन गरेकै हो, तर अवस्था परिवर्तन भएको छैन् । हेर्नुहोस हुँदै नभएको पनि होईन । केही भएको छ । यो मुलुकलाई अब समृद्धिको बाटोमा नलैजाने छुट हामीलाई छैन् । हाम्रो अर्जुनदृष्टि भनेको मुलुकको समृद्धिको बाटो हो । हामी समाजवादको लक्ष्यमा छौं ।’

विहान सबेरैदेखि बेलुका अबेरसम्म प्रधानमन्त्रीलाई सरकार टिकाउने मात्रै चिन्ता छः रामनारायण बिडारी

नेकपा (माओवादी केन्द्र) का नेता एवं पूर्व राष्ट्रिय सभा सदस्य रामनारायण बिडारीले प्रधानमन्त्रीदेखि सत्तारुढ गठबन्धन दलका नेताहरु सत्ता कसरी जोगाउने भन्ने ध्यानमा रहेका टिप्पणी गरेका छन् । उनले सत्तापक्ष सत्ता जोगाउने ध्यानमा रहेका र प्रतिपक्षले जसरी पनि सरकार ढाल्ने प्रयास गरिरहेको दाबी गरेका हुन् ।

देश विकास गर्ने, रोजगारी दिने, मुलुकको अर्थतन्त्र विकास गर्ने, राजनीतिलाई स्थायित्व दिने, संस्कृतिको संरक्षण गर्ने कुरा सत्तापक्ष वा प्रतिपक्ष कसैले पनि सोच्न नभ्याएको उनले बताए । उनले अहिलेको समय साह्रै खर्चिलो बनेको टिप्पणी गरे । ‘अहिले सरकारमा बस्ने प्रधानमन्त्रीदेखि सरकारी पार्टीलाई सरकार कसरी टिकाउने चिन्ता छ । विहान सबेरदेखि बेलुका अबेरसम्म दिनभरी काम के गर्ने ? सरकार टिकाउने कसरी ? कहाँको सरकार ? सात वटा सरकार र केन्द्रको संघीय सरकार ।

यो आठ वटा सरकार कसरी टिकाउने ? यत्ति ध्यान सत्ता गठबन्धनमा लागि परेको छ ।’ उनले भने, ‘विपक्षी जो बनेको छ, त्यसले यसलाई कसरी झार्ने ? यसलाई कसरी खुइल्याउने ? कसरी सिध्याउने ? भनेर ऊ पनि त्यही काममा लागेको छ ।’ साथै, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणको छानविनका लागि माग गरेको संसदीय समिति आफ्नै फेस सेभिङको लागि भएको उनको आरोप छ । उनले सहकारी ठगी प्रकरण छानविन गर्ने हो भने उच्चस्तरीय न्यायिक आयोग बन्न आवश्यक रहेको बताए । संसदीय समितिलाई उनले ‘भत्ता पचाउ आन्दोलन’ को संज्ञा दिए ।

‘संसदीय समिति बनाउन पर्यो भनेको चाहीँ भत्ता पचाउ आन्दोलन हो । संसदीय समितिले केही लछार्दैन । यसले कसैलाई मुद्दा लगाउन सक्दैन । संसदीय समितिले अनुसन्धान गर्न पनि सक्दैन, यो कुनै कानुनअन्तर्गत पनि होईन । संसदीय समिति भनेको माननीय सांसदलाई थप भत्ता खुवाउने र अहिलेको विरोधी कांग्रेसको फेस सेभिङ गर्ने मात्रै हो,’– नेता बिडारीले भने ।

सुन तस्करी छानविनका लागि बनाइएको समिति स्मरण गराउँदै उनले त्यस्तो समितिले रिपोर्ट दिनसक्ने दाबी गरे । न्यायिक समितिलाई पनि कारबाहीको भने अधिकार नरहेको उनको भनाइ छ । उनले संसदीय समिति बनाउन पर्यो भनेर कांग्रेसले वाइयात माग राखेको टिप्पणी गरे । संसद्ले बनाएको कानुनअनुसार मुद्दा चलाउने र फैसला गर्ने अधिकार अरुनै निकायमा रहेको स्मरण गराउँदै उनले सांसदहरुले फेरि आफैंले समिति बनाएर अनुसन्धान गर्छौं भन्नुको कुनै औचित्य नरहेको बताए ।

साथै, उनले जनताले चुनावमा सही मानिसलाई मतदान गर्न नजानेको उनको आरोप छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका वर्तमान उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेतर्फ लक्षित गर्दै उनले जनताले त्याग, तपस्या, बलिदान, दृष्टिकोण, विचारलाई भोट दिनुपर्नेमा टेलिभिजनका कराउनेलाई भोट दिएर गलत गरेको दाबी गरे ।

उनले भने, ‘अहिले दोहोरो घरबार भएका, नेपालमा पनि घरबार भएको, विदेशमा पनि घरबार भएको । दोहोरो नागरिकता भएका, दोहोरो राहदानी भएका, दोहोरो प्रकारको सम्बन्ध भएका, ‘यो देश सप्रे यही देशमा यो देश बिग्रे विदेशमा’ यस्तो मजाको जिन्दगी भएका मान्छेलाई जनताले भोट हाल्दिएपछि परेन त आपत ? मैले हालेको हो र ? भोट हाल्नेले बोक्नुपर्यो दोष ।’

जनताले भोट हाल्न नजान्दाको परिणाम अहिले देशमा अराजक स्थिति बढ्दै गएको उनको आरोप छ । जनताले भोट हाल्न नजानेकै कारण सबैभन्दा ठूला कालाबजारीयाहरु चुनाव जितेर आउने गरेको उनले बताए । उनले चुनावमा जनताले न्याय गर्न सक्नुपर्ने बताए । ‘चुनावमा न्याय जनताले गर्ने, राजनीतिमा सेवा प्रतिनिधिले गर्ने, नगर्ने प्रतिनिधिलाई जनताले बदल्ने यो हो डेमोक्रेशी भनेको,’– उनले भने ।

साथै, अहिलेको गठबन्धन लामो समयसम्म टिक्ने उनको दाबी छ । उनले वर्तमान संसद् पनि विघटन नहुने दाबी गरे ।

राजनीतिक विश्लेषक केसीको दाबीः केपी ओली प्रतिगमनकारी हुँदै होईनन् : डा. सुरेन्द्र केसी

राजनीतिक विश्लेषक डा. सुरेन्द्र केसीले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली प्रतिगमनकारी नभएको दाबी गरेका छन् । उनले प्रतिगमनको विरुद्ध १४ वर्ष जेल बसेका ओली प्रतिगमनकारी हुनै नसक्ने दाबी गरेका हुन् । विश्लेषक केसीले ओलीलाई अहंकारी, स्वेच्छाचारी र व्यक्तिवादी पात्रको रुपमा चित्रण गरे ।

‘ओली भनेको प्रतिगामी हो, यसले हिन्दुराज्य ल्याउँछ, राजतन्त्र ल्याउँछ, संघीयता खान्छ भन्थे । मैले भने–त्यस्तो सम्भव छैन । ओलीबाट प्रतिगमन सम्भव छैन । प्रतिगमनको विरुद्ध ओली १४ वर्ष जेल बसेका छन् । त्यो मान्छेले प्रतिगमन ल्याउने कुरा हुँदैन । ओली अहंकारी, स्वेच्छाचारी र व्यक्तिवादीमात्रै हो,’– उनले भने ।

अहिलेका राजनीतिक दलहरुमा पनि नयाँ चरित्र नरहेको उनको दाबी छ । पहिचानवादीको नाममा अहिलेका राजनीतिक दलहरुले लडाइँ गरिरहेको उनको भनाइ छ । उनले सुदूरपश्चिममा पहिचानको नाममा रञ्जिता र रेशमले लोग्ने स्वास्नीको पहिचानको राजनीति गरेको उनको टिप्पणी छ ।

‘हामी नयाँ प्रणालीमा आएका छौं । तर, नयाँ चरित्र हामीसँग छैन । पहिचानको नाममा साथीहरुले लडाइँ गरे । अहिले सुदूरपश्चिममा रेशम चौधरीको पार्टी जसरी लडिरहेको छ, त्यहाँभित्र पहिचान कहाँ छ ? लोग्नेको पहिचान, स्वास्नीको पहिचान, त्यो मात्रै छ । त्यो पछि पहिचान बदनाम भएको हो,’– उनले भने ।

संसारभर भीआईपीको पद्धति हराउँदै गएको अवस्थामा अहिले हाम्रो देशमा चार हजार पाँच सयलाई भीआईपी बनाइएको भन्दै उनले आपत्ति जनाए । साथै, भुटानी शरणार्थी प्रकरणमा राज्यले नै राज्यविरुद्ध अपराध गरेको उनको टिप्पणी छ ।

वर्तमान सत्ता गठबन्धन जम्माजम्मी एक वर्षसम्म टिक्ने उनको दाबी छ । त्योभन्दा बढी सम्भव नरहेको उनले बताए । वर्तमान गठबन्धनको फेनोमेना नै रहस्यपूर्णं रहेको उनको भनाइ छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!