अर्थमन्त्रीले १७ खर्ब २५ अर्बको बजेट सार्वजनिक गर्दै

- May 29, 2023 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं। सरकारले सोमबार अपराह्न ४ बजे  आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट बजेट सार्वजनिक गर्ने कार्यक्रम रहेको छ। अर्थमन्त्री डा. प्रकाशशरण महतले संसदको दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने छन् । उनले भन्सार राजस्व र रेमिटेन्समा निर्भर रहेको अर्थतन्त्रलाई पुनर्संरचना गर्ने कार्यक्रमहरु प्रस्तुत गर्ने छन्।

त्यसमा वैदेशिक लगानीलाई प्रोत्साहित गर्दै लगानी सीमा पुनरावलोकन गरिने छ। चालु वर्षको बजेट अवास्तविक र भीमकाय छ। यसलाई व्यापक कटौती गर्न नसकिए पनि केही कम गर्न लागिएको हो। ८ प्रतिशतको आर्थिक वृद्धि लक्ष्यलाई साढे ६ प्रतिशत कायम गर्ने लक्ष्य राखिएको छ। मूल्यवृद्धि दर ७ प्रतिशत कायम गर्ने सरकारी लक्ष्य छ।

सरकारले बजेटमा अलिक बढी मौद्रिक नीतिको भर खोजेको छ। राष्ट्र बैंकलाई सरकार प्रति लचिलो बनाउने नीति पनि बजेटमा राखिएको स्रोतको दाबी छ। सरकारले केही कानुनको खारेज गर्दै विद्यमान कानुनहरु पुनरावलोकन गर्ने बजेटमार्फत घोषणा गर्ने छ। कृषिमा दिइएको अनुदानमा केही कटौती हुने छ भने सामाजिक सुरक्षा भत्ता वितरणको संरचनामा पनि परिवर्तन गर्न खोजिएको छ।

आर्थिक वर्ष २०८०।०८१ का लागि १७ खर्ब २५ अर्ब रुपैयाँ हाराहारीको बजेट ल्याउने भएको छ । अर्थ मन्त्री डा. महतले आफ्नो सचिवालयको टीमसहित मन्त्रालयमा रातभर वसेर उक्त आकारको बजेट निर्माण गरेको बताइएको छ । पछिल्लो समय देखिएको आर्थिक मन्दीका कारण राजस्वको आकार घट्दै गएको र अन्य स्रोतहरु समेत परिचालन हुन नसकेपछि अर्थ मन्त्रालयले चालू आर्थिक वर्ष २०७९।०८० को भन्दा आकार घटाएर बजेट फाइनल गरेको जनाइएको छ ।

सरकारले चालू आबमा कुल १७ खर्ब ९३ अर्ब रुपैयाँको बजेट ल्याएको थियो । तर आगामी आब २०८०।०८१ का लागि चालू आबको भन्दा आधा खर्ब रुपैयाँभन्दा बढीले घटाएर सवा १७ खर्ब रुपैयाँ हाराहारीमा बजेट निर्माण गरिएको सम्बद्ध स्रोतले जानकारी दिएको छ । गतबर्ष बजेट निर्माणका क्रममा कर्मचारीको बढी चलखेल भएको आरोप लागेपछि यसपटक मन्त्री एक्लैले करका दरहरु परिमार्जन गरेका सम्बद्ध स्रोतको भनाई छ ।

‘बजेट निर्माणका क्रममा रातभर मन्त्रीज्यूले अर्थमन्त्रालयका उच्च तहका कर्मचारी र सचिवालयसहितको टीमसँग बसेर छलफल गर्नुभयो र त्यहीअनुसार योजनाहरु राखियो,’ उक्त स्रोतले भन्यो, ‘सबै बसेर करका दरहरु परिमार्जन गर्दा सूचना चुहिने आशंकामा मन्त्री एक्लै बसेर करका दरहरु हेरफेर गर्नुभएको छ ।’


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!