विश्व अर्थतन्त्रमा मन्दी आउने छ : विश्व बैंक

- January 11, 2023 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । विश्व बैंकले विश्व अर्थतन्त्रमा गहिरो मन्दी देखिने र यसको प्रभाव लामो समयसम्म रहने प्रक्षेपण गरेको छ । सन् २०२३ को पहिलो प्रक्षेपण सार्वजनिक गर्दै विश्व बैंकले सो संकेत गरेको हो । विश्व बैंकका अनुसार सन् २०२३ मा विश्वको आर्थिक वृद्धिदर १ दशमलव ७ प्रतिशतमा सीमित हुने जनाएको छ ।

यो विश्व बैंकले ६ महिना अगाडि गरेको प्रक्षेपणको तुलनामा धेरै कम रहेको उल्लेख छ । त्यसबेला अर्थतन्त्रको वृद्धिदर ३ प्रतिशत रहने अनुमान बैंकले गरेको छ । बैंकका अनुसार नेपालमा अहिलेसम्मको अवस्थाबाट अर्थतन्त्र स्थिर रहने अनुमान गरेको छ । नेपालले चालु आवमा ५ दशमलव १ प्रतिशतको आर्थिक वृद्धिदर प्राप्त गर्ने विश्व बैंकको प्रक्षेपण रहेको छ ।

नेपालबारे विश्व बैंकको प्रक्षेपणमा परिवर्तन गरेको छैन । दक्षिण एसियाली मुलुकमध्ये यस वर्ष नेपाल भन्दा माथि माल्दिभ्स, भारत र बंगलादेशको आर्थिक वृद्धि राम्रो रहने जनाएको छ । श्रीलंकाको आर्थिक वृद्धिदर भने नकारात्मक नै रहने विश्व बैंकको अनुमान छ । विश्व बैंकका अनुसार दक्षिण एसियाली भेगमा अहिले रुस–युक्रेन युद्धको प्रभाव बाँकी नै छ ।

यसले उर्जा र खाद्यान्नको मूल्यमा चर्को चाप परिरहेको विश्व बैंकले जनाएको छ । जसले गर्दा यस भेगका केन्द्रीय बैंकहरुले वित्तीय स्थितिलाई कडाई गर्नुपर्ने बाध्यता देखिएको छ  भारतलाई उत्पादन क्षेत्रका माध्यमबाट आर्थिक वृद्धिमा सहयोग पुग्ने विश्व बैंकले जनाएको छ । माल्दिभ्सलाई पर्यटनमा देखिएको पुनरुत्थानले सहयोग पुग्ने प्रक्षेपण रहेको छ ।

बंगलादेशमा उर्जा संकटका कारण समस्या गहिरिन सक्ने अनुमान गरिएको छ । अफगानिस्तानलाई विदेशी सहायता रोकिएका कारण समस्या गहिरिएको देखिएको छ । नेपाल, माल्दिभ्स र भारतको अर्थतन्त्र यस भेगमा केही हदसम्म स्थिर देखिएको छ । विश्व अर्थतन्त्रको सन्दर्भमा भने अमेरिका, युरोपेली मुलुक र चीनको अर्थतन्त्र संकटमा जाँदा त्यसले विश्वभरकै अर्थतन्त्रमा मन्दी छाउने अवस्था देखिएको हो ।

सन् २०२३ मा अमेरिकाले 0 दशमलव ५ प्रतिशत मात्र आर्थिक वृद्धिदर प्राप्त हुनेछ । सन् २०२१ मा अमेरिकाको जीडीपी ५ दशमलव ३ प्रतिशतले बढेको थियो । चीनले सन् २०२३ मा ४ दशमलव ३ प्रतिशतको वृद्धिदर प्राप्त गर्नेछ । सन् २०२१ मा उसको वृद्धिदर ८ दशमलव १ प्रतिशत थियो ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!