आठ निर्माण व्यवसायीलाई सरकारले कारबाही गर्ने : सातदिने स्पष्टीकरण माग

- December 7, 2022 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । लिएको काम समयमा सपन्न नगर्ने र गरेका काम पनि गुणस्तहिन गरेको पाइएपछि सार्वजनिक खरिद अनुगमन कार्यालयले ८ निर्माण व्यवसायीहरुलाई कालो सूचीमा राख्दै कारबाहीको प्रक्रिया अघि बढाएको छ । ३० दिनभित्र लिखित स्पष्टीकरण बुझाउन पत्राचार गर्दा पनि बेवास्ता गरेपछि कार्यालयले बुधबार सात दिने सूचना जारी गर्दै पुनः स्पष्टीकरण माग गरेको हो ।

यसरी पटकपटक स्पष्टीकरण माग्दा पनि हेटौंडा–११, मकवानपुरको गुण निर्माण सेवाका गुणराज पाठक, सिरुवा/कविर/सुनकोशी जेभी काठमाडौंका नारायणप्रसाद पराजुली, जानकी टोल पर्साको मुस्कान सप्लायर्सका समसुल हक मियाँ धुनिया र हेटौंडा–६ मकवानपुरको मुक्तिनाथ रुपेश कन्स्ट्रक्सन एण्ड सप्लायर्सका रुपेश घिमिरेले नदिएपछि सो कारबाही अगाडी बढाएको कार्यालयले जनाएको छ ।

बानेश्वर–१० काठमाडौंको अनुष्ठान कन्स्ट्रक्सनका रोशन खड्का र रविन्द्रकुमार गौतम, सिरुवा कन्स्ट्रक्सन कम्पनी तिनकुने काठमाडौंका दिनेश पौडेल, दिल्ली ट्रेडिङ वीरगञ्ज पर्साकी रानी कुमारी रौनियार र जय गढीमाई निर्माण कन्स्ट्रक्सन हर्दी चितवनका सिताराम चौधरीसँग पनि लिखित स्पष्टीकरण नदिएपछि कारबाहीको प्रकृया अगाडी बढाएको छ ।

मंसिर २१ गतेदेखि सात दिनभित्र पनि लिखित स्पष्टीकरण नबुझाएमा ती निर्माण व्यवसायी तथा सप्लायर्सहरु कालो सूचीमा पर्नेछन् । आफूले जिम्मा लिएको काम समयमा नसकेर ढिलासुस्ती गर्नेहरुलाई कालोसूचीमा राख्ने गरिन्छ । कालो सूचीमा परेकाहरुले तोकिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि ठेक्कापट्टा वा खरिद कारबाहीमा भाग लिन पाउँदैनन् ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!