१८९ वटा उद्योगका पानी गुणस्तहिन : २९ वटा पानी उद्योगमाथी मुद्दा दायर

- August 2, 2022 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । मुलुकभर विभिन्न नाममा स्थापना गरिएका पानी उद्योगमध्ये गुणस्तर नमुना परिक्षण गर्दा १ सय ८९ वटा उद्योगबाट उत्पादन हुदै आएका पानीहरु पिउन योग्य नभएको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जनाएको छ । विभागले एक वर्षमा ४ हजार १२७ वटा नमूना परीक्षण गरेको छ ।

विभागले गत आर्थिक वर्ष २०७८/७९ मा संकलन गरेको ४ हजार ६६० वटा नमुनामध्ये उक्त परीक्षण गरेको हो । परीक्षणबाट बजारमा उपलब्ध ५ दशमलव ४२ प्रतिशत खाद्यवस्तु स्वास्थ्यका लागि प्रतिकुल भएको पाइएको विभागले जनाएको छ । ४ हजार १ सय २७ वटा नमूना परीक्षण गर्दा २ सय २४ वटा नमूना अखाद्य वस्तु भेटिएको विभागको जनाएको छ ।

गतवर्ष विभागले खाद्यान्न र दलहनजन्यका १ हजार ३ सय १४ वटा नमूना खानयोग्य वा अयोग्य रहेको परीक्षण गरेको थियो । तेल तथा घ्यूजन्यका ५ सय ४६ वटा, फल तथा सागपातजन्य पदार्थका ५ सय १९ वटा, मसलाका ३ सय ७९ वटा, दाना पदार्थका ३ सय ७ वटा र चिया कफिका २ सय १३ वटा नमूना परीक्षण गरिएको थियो ।

प्रशोधित पिउने पानीका १ सय ८९ वटा, गुलियो पदार्थका १ सय ४२ वटा, दुध तथा दुग्ध पदार्थका १ सय १० वटा, कन्फेक्सनरीका १ सय २ वटा, नुनका ५३ वटा, मासु तथा मासुजन्यका २७ वटा र अन्य २ सय २६ वटा नमूना परीक्षण गरिएको थियो ।​ परीक्षण गरिएकामध्ये फल तथा सागपातजन्य पदार्थका ६१ वटा नमूना खान अयोग्य देखिएका थिए ।

खाद्यान्न र दलहनजन्यका ५३ वटा, प्रशोधित पिउने पानीका २९ वटा, दाना पदार्थका १७ वटा, दुध तथा दुग्ध पदार्थका १५ वटा, तेल तथा घ्युजन्यका १४ वटा, चिया कफिका १३ वटा नमूना स्वास्थ्यका लागि प्रतिकूल भेटिएको जनाइएको छ । यसका साथै, मसलाका ६ वटा, गुलियो पदार्थका ४ वटा, मासु तथा मासुजन्यको १ वटा र अन्य ११ वटा गरि जम्मा २ सय २४ वटा अर्थात ५ दशमलव ४२ नमूनाहरुको परिक्षण प्रतिवेदन प्रतिकूल पाइएको विभागको भनाइ छ । यस अवधिमा खाद्य ऐन तथा नियम विपरित एवं न्यूनस्तर तथा दूषित खाद्य पदार्थ उत्पादन तथा बिक्रीवितरण गरेको कसूरमा जम्मा १ सय १५ थान मुद्दा विभिन्न जिल्ला प्रशासन कार्यालय तथा जिल्ला अदालतमा दायर गरिएको थियो ।

दायर गरिएका मुद्दा मध्ये खाद्यान्न एवं दलहन तथा सोबाट बनेको पदार्थ ३० वटा, दुध तथा दुग्ध पदार्थका १९ वटा, दानाको १८ वटा, प्रशोधित पिउने पानीका १४ वटा, चियार कफीका ८ वटा, फल तथा सागपातका ७ वटा, मसला पदार्थका ५ वटा, गुलियो पदार्थका ३ वटा, तेल तथा घ्यूजन्यको २ वटा, सोयाससको १ वटा, र अन्य ८ वटा गरि जम्मा ११५ वटा खाद्य पदार्थका रहेका थिए ।

आर्थिक वर्ष २०७८/७९ मा विभाग तथा मातहतका कार्यालयबाट खाद्य स्वच्छता सर्भिलेन्सका अन्तर्गत १७०७ वटा नमुनाहरू संकलन गरिएको थियो । आर्थिक वर्ष २०७८/७९ मा खाद्य दाना उद्योग, होटल रेष्टुरेण्ट, राजमार्गका होटल अनुगमन तथा उजूरी उपर तत्काल सम्बोधन टोलीमार्फत कारबाही लगायत जम्मा ८ हजार ८६६ पटक निरीक्षण अनुगमन गरिएको थियो ।

यस आर्थिक वर्षमा उत्पादन दर्ता र नवीकरण समेत १ हजार ६९० वटा आहारपूरक खाद्य पदार्थ नियमन गरिएको विभागले जनाएको छ । यसैगरी, विभागले एक वर्षमा १ सय १५ वटा उद्योगविरुद्ध मुद्दा दायर गरेको छ । गुणस्तरहीन तथा दूषित खाद्य पदार्थ उत्पादन तथा बिक्रीवितरण गर्ने उक्त उद्योगविरुद्ध विभागले जिल्ला प्रशासन कार्यालय र जिल्ला अदालतमा मुद्दा दायर गरेको हो ।

विभागले गत आर्थिक वर्ष २०७८/७९ मा देशभरका ४ हजार १२७ वटा उद्योगबाट उत्पादित नमूना परीक्षण गर्दा २२४ वटा नमूना खान नमिल्ने पाइएको जानकारी दिएको छ । यीमध्ये ११५ वटा उद्योगलाई भने जिल्ला प्रशासन कार्यालय र जिल्ला अदालतमा मुद्धा नै दायर गरिएको हो ।

खाद्यान्न एवं दलहन लगायतका वस्तु उत्पादन गर्ने ३० वटा उद्योगका विरुद्ध मुद्धा दायर भएको छ । यस्तै, दुध तथा दुग्धजन्य पदार्थ उत्पादन तथा बिक्रीवितरण गर्दै आएका १९ वटा उद्योगविरुद्ध समेत मुद्दा दायर गरिएको विभागको भनाइ छ । ​यस्तै, दाना उत्पादन गर्ने १८ वटा उद्योगविरुद्ध मुद्दा दायर हुँदा प्रशोधित पिउने पानी उत्पादन गर्ने १४ उद्योगविरुद्ध समेत मुद्दा परेको छ ।

यसैगरी, चिया/कफी उत्पादन गर्ने ८ वटा उद्योग, फल तथा सागपात सम्बन्धी ७ वटा उद्योग, मसला उत्पादन गर्ने ५ वटा उद्योग र गुलियो पदार्थ उत्पादन गर्ने ३ तथा तेल तथा घ्यूजन्यको २ वटा उद्योगका विरुद्ध विभागले मुद्दा दायर गरेको छ । यसैगरी, सोयासस उत्पादन गर्ने एउटा उद्योग र अन्य ८ वटा उद्योग गरी कूल ११५ वटा उद्योगविरुद्ध मुद्दा दायर भएको हो । यी उद्योगहरूले खान अयोग्य तथा न्यून गुणस्तरका र अखाद्य वस्तु मिसावट गरेर खाद्य पदार्थ उत्पादन तथा बिक्रीवितरण गर्दै आएका थिए ।

उद्योगमाथी हालिएको मुद्दाको विवरण हेर्ने यहाँ  मुद्दाको विवरण २०७८_७९ वार्षिक क्लिक गर्नुहोस


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!

 

 

तीव्र अपडेट