यातायात व्यवसायीद्वारा दैनिक यात्रु लुटिदै : न्यूनतम भाडा १८ असुली २० !!!

- October 24, 2021 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

रोशन कार्की
काठमाडौं । सरकारले यातायात व्यवसायीको माग अनुसार सार्वजनिक सवारी साधनको भाडावृद्धि गरेपनि आफुखुशी भाडा दर निर्धारण गरेर असुली हुदै आएको छ । सम्बन्धित निकायको अनुगमन नहुने र सर्वाजनिक रुपमा गरिएका यात्रुको गुनासोलाई समेत ध्यान नदिएकै कारण सरकारी कर्मचारी र यातायात व्यवसायीबीचको योजनामा यात्रु हरेकपटक लुटिदै आएका छन् । व्यवसायीले उपत्यकासहित बागमती प्रदेशको अन्तरजिल्ला यातायातमा तोकिएको भन्दा दोब्बर भाडा असुल गरेपनि सरकारी निकायको ध्यान नगएकै कारण खुला रुपमा यात्रु लुटिन पुगेका छन् ।

सरकारले काठमाडौं उपत्यकामा न्यूनतम भाडा १८ रुपैयाँ तोकिए पनि सार्वजनिक सवारीसाधन सञ्चालकले भने २० रुपैयादेखि २५ रुपैयाँ समेत असुलिरहेका छन् । सरकारले सार्वजनिक गरेको भाडादरभन्दा बढी भाडा लिएपछि कतिपय चालक तथा सहचालकसंग दैनिक वादविवाद पर्ने गरेकोे यात्रुहरूको गुनासो रहेको छ । विड्म्बना यहाँ पेट्रोल र डिजलको मूल्यबृद्धि भएपछि बढेको भाडादरलाई विद्युतिय सवारीसाधानले समेत बढाएर असुली गरिदै आएको छ । काठमाडौं उपत्यकाभित्र चल्ने सफा ट्याम्पोले समेत आफुखुशी भाडादर निर्धारण गरि न्यूनतम २० रुपैयाँ असुली गर्दै आएको छ ।

सरकारले असार २९ गतेदेखि लागू हुनेगरी अन्तरप्रदेश राजमार्गमा चल्ने सार्वजनिक यातायात भाडा २८ प्रतिशतले वृद्धि गरेको थियो । छोटो दूरी र प्रदेशभित्रकै एक जिल्लाबाट अर्को जिल्लामा चल्ने यातायात भाडा भने बढाएको थिएन । देशभरका यातायात व्यवसायीले सार्वजनिक यातायातको भाडा बढाएर गाडीमा नक्कली सूची राखि यात्रुमाथीको ठगीधन्दा अहिले उग्ररुपमा फस्टाएको छ । बागमती प्रदेश सरकारले असोज २५ गते राजपत्रमार्फत काठमाडौं उपत्यकामा किलोमिटरका दरमा र लामो दूरीको हकमा २३ प्रतिशतले भाडा बढाउने निर्णय गरेको थियो । यो भाडादर यातायात व्यवसायीले नै आफूखुशी तोकेका थिए ।

प्रदेश सरकारले त्यसैलाई राजपत्रमार्फत वैधता दिई उपभोक्ता ठगीलाई निरन्तरता दिदै आएको छ ।  लामो दुरी होस् या स्थानीय रुट, यतिखेर यातायात व्यवसायीले बढेको भाडाभन्दा बढी असुली गर्दै आएका छन् । एकातर्फ यात्रुहरूलाई खुलेआम ठगिरहेका चालक र सहचालकको अमर्यदित व्यवहार र अपशव्द समेत सहनु परेको गुनासो यात्रुहरुको रहेको छ । सरकारले उपत्यकाभित्र न्यूनतम १८ रुपैयाँ भाडा तोकेपनि सवै सवारी सधानले न्यूनतम २० रुपैयाँ असुली गर्दै आएका छन् ।

काठमाडौंको चाबहिलबाट गौशालचोकसम्म यात्रा गरेपनि २० रुपैयाँ असुली गरिदै आएको छ । भने १८ रुपैयाँ भाडा हैन र भनी यात्रुले प्रश्न गरेमा उल्टै अपशव्द बोल्दै अपमान समेत गर्ने गरेका छन् । छोटो दूरीमा यात्रुमाथि यातायात व्यवसायीले गरिरहेको ठगी झनै कहालीलाग्दो छ । सार्वजनिक यातायात चढ्दा यात्रुहरू हरेकपटक ठगिने गरेका छन् । बागमती प्रदेश सरकारले काठमाडौं उपत्यकाभित्र ५ किलोमिटरसम्मको दुरीमा १८ रुपैयाँ, १० किलोमिटरसम्मको दुरीमा २३ रुपैयाँ, १५ किलोमिटरसम्ममा २७ रुपैयाँ र २० किलोमिटसम्म दुरीमा ३० रुपैयाँ भाडादर तोकेको छ ।

२० किलोमिटरभन्दा बढी दूरीसम्म यात्रा गर्नेले अधिकतम ३५ रुपैयाँ भाडा तोकेको छ । तर, यातायात व्यवसायीहरूले उनीहरूकै मागअनुसार निर्धारण गरिएको भाडादर न कार्यान्वयन गरेका छन्, न त यात्रुलाई ठग्ने क्रम रोकिएकै छ । अहिले उपत्यकाभित्र २० किलोमिटरभन्दा लामो दुरी यात्रा गर्ने यात्रुबाट ५० रुपैयाँसम्म असुलिरहेका छन् । साँखुको डाँछीबाट रत्नपार्क आउदा ६० रुपैयाँ लिइदै आएको छ ।

५ किलोमिटरभन्दा कम दुरीमा यात्रा गर्ने यात्रुले बढेको भाडामा १८ रुपैयाँ तिर्नुपर्छ तर सवारी चालकले २० रुपैयाँ नै भाडा असुली रहेको छ । भाडादरबारे जानकार यात्रुले २ रुपैयाँ फिर्ता माग्दा सहचालकले अपशब्द बोल्दै तथानाम बोल्ने गरेको दुखेशो यात्रुहरुको रहेको छ । गाडी चढ्नासाथ २० रुपैयाँ भाडा लाग्छ भन्ने थाहा छैन ?’ भन्दै दुव्र्यवहार र इज्ज्वतमाथीनै धक्कालाग्ने गरी सहचालक कराउने गरेको तितो अनुभब यात्रुहरुको रहेको छ ।

सार्वजनिक यातायातमा भइरहेको भाडा ठगीबारे कुरा गर्न खोज्दा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र विभिन्न सवारीसाधानका विना दर्ताका संस्थाहरु सम्र्पकमै आउन चाहदैनन् ।  सहचालक र चालकले १८ रुपैयाँको साटो २७ देखि ६० रुपैयाँ असुली गर्दै आएका छन् । दुरीको हिसाबसमेत आफूखुशी तोक्ने गरेका छन् । कुन विन्दुदेखि कुन बिन्दुसम्म न्यूनतम दुरी हो र यात्रा गर्दा कति रुपैयाँ लाग्ने हो भन्नेबारे यात्रुहरूलाई थाहा समेत थाहा नभएकै फाईदा सर्वजनिक सवारी साधानले लिदै आएका छन् । नियमन गर्नुपर्ने सरकारले पनि छोटो रुटमा एक विन्दुदेखि अर्को विन्दुसम्मको भाडादर यात्रुले थाहा पाउनेगरी जानकारी नगरेरै ठगीधन्दालाई सहयोग गर्दै आएको छ ।

यातायात विभागले ० देखि ४ किलोमिटर सम्मको यात्रा गर्न न्युनतम भाडा १८ रुपैयाँ कायम गरे पनि यातायात व्यवसायीले २० रुपौयाँ असुलेर यात्रुहरुलाई ठगिरहेका छन् । यात्रुहरुले तोकिएको भाडा लिन आग्रह गर्दा उल्टै दुव्र्यवहार भोग्नुपरेको छ ।  नेपाल यातायात व्यववसायी राष्ट्रिय महासंघका अनुसार उपत्यकामा चल्ने १२ हजार बस, ७ हजार मिनिबस, ५३ सय टेम्पो र ३४ सय माइक्रोबसभन्दा बढी रहेको प्रारम्भीक विवरण दिएको छ ।

यसमा दैनिक १५ लाख मानिसले जान र आउन गरी कम्तीमा दुईपटक सवारी चढ्दा यो संख्या २२ लाख हुन आउँछ । न्यूनतम भाडादर अनुसार मात्र हिसाव गर्ने हो भने पनि प्रत्येक यात्रुसँग दुई रुपैयाँ बढी असुल गर्दा दैनिक ४४ लाख रुपैयाँ ठगी भइरहेको छ । दिन दहाडै यात्रु ठगिँदा न त नियमनकारी निकायले चाँसो देखाएको छ न त यात्रुहरु नै सचेत देखिन्छन् । एक जना यात्रुले एक पटक यात्रा गर्दा बढी तिरेको दुई रुपैयाँ सामान्य लागे पनि व्यवसायीले दैनिक लाखौँ ठगी गरिरहेको विवरणले पुष्टी हुदाँ समेत कारबाही गर्ने निकायले चासो नदिएकै कारण यात्रु एकातर्फ ठगीदै आएका छन् भने अर्कोतर्फ करोडौ राजश्व र आयकर समेत छली हुदै आएको छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!

 

 

तीव्र अपडेट