सवारी साधान बेच्नेले अनुमति विना उपहार र छुटको भ्रामक प्रचार

- September 26, 2021 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । देशमा विद्यमान कानुन कार्यन्वयनमा रहेको छ । तर सो कानुनलाई समेत हातमा लिई आफुलाई उच्च व्यवसायीक घरनाको हुँकार गर्ने उद्योगीहरुले उपभोक्तालाई भ्रमित बनाउदै विभिन्न उपहार र छुट योजना खुला रुपमा चलाउदै आएका छन् । विद्यमान कानुन अनुसार कोही कसैले चिठ्ठा, उपहार, छुटलगायत अन्य योजनाहरु सम्बन्धित सरकारी निकायबाट पुर्वअनुमति लिनु पर्ने भन्ने व्यवस्था गरेको छ । तर देशभर सवारी साधान बिक्री वितरण गर्दै आएका उद्योग तथा व्यवसायीहरुले विना अनुमति उपभोक्ताई भ्रममा पार्दै ठगी धन्दा समेत चलाउदै आएपनि सरकारले भने कारबाही गर्ने आँट गर्न सकेको छैन ।

सरकारी कर्मचारीकै लाचारीपनका कारण अधिकांश उपभोक्ताहरु चाडपर्वकै समयमा अत्याधिक रुपमा ठगीमा पर्ने गरेका छन् । आफुखुशी उच्च मुल्य निर्धारण गरेर न्यून प्रतिशत छुटको योजना सार्वजनिक गरि ठगीधन्दा चलाउदै आएको छन् । यसैक्रममा आउदै गरेको चाडपर्वको अबसरर पारेर अटो व्यवसायीले दुईपांग्रे र चारपांग्रे सवारीमा विभिन्न छुट र अफर योजना भन्दै भ्रामक प्रचार गर्दै आएको छ । सो योजना सञ्चालन गर्नलाई ती व्यवसायीहरुले कतैबाट अनुमति लिएको भने पाइएको छैन ।

कम्पनीहरूका बिक्री कक्षलाई सजिसजाउ बनाउदै उपभोक्तालाई भ्रममा पारी लुट्दै आएपनि सरकारी निकाय भने मौन बसेको छ । छुट र नयाँनयाँ योजनाले ग्राहक लोभ्याउदै मापदण्ड विपरितका सवारी सधानलाई उच्च मुल्यमा बिक्री गरिदै आएको छ । भने अर्को तर्फ ठूलोमात्रामा राजश्व र कर समेत छली हुदै आएको छ । विना अनुमति योजना सर्वाजनिक गरेका चारपांग्रे मात्र होइन, चाडबाडका बेला दुईपांग्रेको समेत आक्रमण विज्ञापन गरेर उपभोक्तालाई ठग्ने राम्रो माध्याम बनाएका छन ।

दुईपांग्रे आयातमा गत वर्षको तुलनामा ८० प्रतिशतभन्दा बढीले बृद्धि भएको छ । चाडपर्वको मौका पारेर विभिन्न अटो कम्पनीहरूले विना अनुमति थरीथरीका छुट योजना ल्याउनेमा दुईपांग्रे तर्फ बजाज, टीभीएस, हिरो, सुजुकी र बेनेलीका मोटरसाइकल तथा स्कुटर रहेका छन् । ड्याट्सन, हुन्डाई र ग्रेट वाल मोटर्सका गाडी बिक्रीता व्यवसायीहरुले समेत दसैंतिहार लक्षित छुट तथा उपहार योजना विना अनुमति ल्याएका छन ।

बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द्र एन्ड कम्पनीले ‘बजाज खुसीको ३ डोज’, टीभीएस दुईपांग्रे मोटरको आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘टीभीएस छ प्राइजको सरप्राइज’ र हिरो मोटरसाइकलको आधिकारिक बिक्रेता नेपाल जनरल मार्केटिङले ‘हिरोको बेला हिरोको मेला’ नामक गैरकानुनी भ्रामक अफर ल्याई उपभोक्ता ठगीको माध्याम बनाएको छ । सुजुकी मोटरसाइकल तथा स्कुटरको आधिकारिक बित्रेता भीजी अटोमोबाइल्सले ‘दसैं आयो, उमंग छायो, क्यासब्याका साथै बम्पर पायो’ र बेनेलीको आधिकारिक बिक्रेता केटीएम इन्टरनेसनल ट्रेडिङले ‘थ्री एक डिस्काउन्ट फिएस्टा’ नामक उपहार तथा छुट योजना ल्याएको छ ।

ती कम्पनीहरुले खरिद गर्नुअघि १० हजारदेखि एक लाख रुपैयाँसम्मको नगद छुट र बम्परमा १० लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्न सकिने भन्दै कम्पनीले भ्रामक प्रचार गरेको छ । टीभीएसको खरिदमा एक लाख रुपैयाँसम्म जित्नेदेखि हरेक दिन रियलमी सी २० स्मार्टफोनसमेत हात पार्न सक्ने भन्दै भ्रम फैलाइएको छ । हिरोले भने आफ्ना मोटरसाइकल तथा स्कुटरमा फाइनान्सको सुविधादेखि शून्य प्रतिशत ब्याजमा ५० प्रतिशत फाइनान्स सुविधाभन्दै छुटको लोभ देखाएको छ । सुजुकीले एक वर्षका लागि सवारी कर, फाइनान्स र एक्सचेन्ज सुविधा समेत रहेको भन्दै भ्रम पैmलाउदै आएको छ । योजनाअनुसार सुजुकीका मोटरसाइकल तथा स्कुटर किन्दा १० हजार, बेनेलीको मोटरसाइकल किन्नुअघि, किन्दा र किनेपछि तीन पटकसम्म छुट जस्ता भ्रामक प्रचार कम्पनीहरुले गरेका छन् ।

चारपांग्रेतर्फ ड्याट्सनको आधिकारिक बिक्रेता पायोनियर मोटोकर्पले ‘ड्याटसन फेस्टिभ हट डिल’, हुन्डाईको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले ‘हुन्डाई फेस्टिझ डिलाइट २०७८’ र ग्रेटवाल मोटर्सको आधिकारिक बित्रेता भीजी इम्पेक्सले ‘चाडपर्वको उमंग ‘हेभल र पोयर चढी दंग’ भन्ने अनुमति विनाको योजना ल्याएको छ । ड्याट्सन गाडी किन्दा २० लाख ४ हजार १ सय ५२ रुपैयाँ बराबरको छुट, १ लाख २५ हजार रुपैयाँ नगद छुट र २७ हजार ९ सय ९९ रुपैयाँ मूल्य पर्ने रेडमी नोट १० एस पाईने भन्दै भ्रम छरेको छ ।

हुन्डाई गाडीको खरिदमा लक्की ड्रमार्फत एक जनाले बम्पर उपहारमा नयाँ हुन्डाई आई २० गाडी, ३ लाख रुपैयाँसम्म थप नगद छुट र एक वर्षसम्मको बिमा निःशुल्क तथा सडक कर समेत पाउने भन्दै भ्रम सृजना गरेर मापदण्ड विपरितका गाडीहरु बिक्री गर्दै आएको छ । जगदम्बा मोटर्स प्रालिले ‘दसैं दक्षिणा’ योजना भन्दै ग्राहकले प्रोटोनको सागा र एक्स ७० गाडी खरिदमा एक लाखदेखि ६ लाख रुपैयाँसम्मको अफरयुक्त ‘दक्षिणा’ पाउने भनी कम्पनीले भ्रम सृजना गरेको छ  । यसरी कानुनलाई समेत लत्याउदै व्यवसायीहरुले उपहार, बम्पर उपहार चिठ्ठा र छुटको नाममा ग्राहकमाथी लुट धन्दा चलाउदा समेत सरकारी निकाय मौन बस्नुलाई पनि अर्थपूर्ण रुपमा हेर्न सकिन्छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!