November 25, 2024, 1:23 pm
» ठुला परियोजनाहरु सफल पार्न जनस्तरको सहभागीता आवश्यक : मन्त्री दाहाल » प्रधानमन्त्री ओलीको नजरमा एनपिएलका आठ मार्की खेलाडी » विमान चालकको समस्या छिट्टै समाधान हुन्छः वायुसेवा निगम » Grants than loan would be preferred under BRI: NC President Deuba » स्मार्ट सिटीका लागि हिंसारहित समाज अनिवार्य : चिरीबाबु महर्जन

‘कुन मल र कति मात्रामा प्रयोग गर्ने भन्ने किसानलाई जानकारी छैन’

साउन १०, २०८१ मा प्रकाशित | १०८०दर्शक तीव्रखबर

टीकापुर : कैलालीका किसानले धान उत्पादन वृद्धिका लागि धानबालीमा मलखाद प्रयोग बढाउन  थालेका छन् । किसानले धान बालीमा मनोमानी रुपमा मलखाद प्रयोग गर्न नहुने कृषि प्राविधिकको सल्लाह छ । टीकापुर–१ समितिपुरका राधिका धामीले तीन बिघामा धानबाली लगाउनुभएको छ ।

धानबाली तङग्रिँदै गएकाले उहाँले यतिबेला धानबालीमा मलखाद प्रयोग गर्न थाल्नुभएको छ । उहाँलाई धानबालीमा कुन मल र कति मात्रामा मल प्रयोग गर्ने भन्नेबारे जानकारी छैन । भेटेरिनरी तथा सहकारीबाट मल खरिद गरेर आफ्नै तरिकाले प्रयोग गर्दै आउनुभएको छ । “मल किन्दा भेटेरिनरीमा अलि अलि सोध्ने गरेका छौँ, श्रीमान्ले मल किनेर ल्याउनुभएको छ”, उहाँले भन्नुभयो, “मल बढी प्रयोग गरेमा बढी उत्पादन हुन्छ भन्ने सुनेकी छु । सके जति हाल्ने हो ।”

 किसानले धानको उत्पादन बढाउन समयमै प्राङ्गारिकदेखि रासायनिक मलको प्रयोग गर्ने गर्दछन् । मलखाद सिफारिस मात्रामा प्रयोग गरे उत्पादन वृद्धिमा सहयोग पुग्छ तर सिफारिस भएको मलको मात्रामा फरक परे उत्पादनमा गिरावट आउने प्राविधिकको भनाइ छ ।

 किसानले अहिले धान खेतमा युरिया मल टप डे«ेसिङ (थप मलखाद छर्ने काम) गरिहेका छन् । धान रोपेपछिको २० देखि ३० दिनको अवधिमा पहिलो पटक र ५० देखि ५५ दिनको अवधिमा दोस्रो पटक रासायनिक मल हाल्ने गर्दछन् । प्राविधिकका अनुसार धान रोपाइँ गर्दा प्रायः माटोमा फास्फोरस र पोटासको प्रयोग गरेका सचेत किसानहरु टप डे«ेसिङमा युरिया मलको प्रयोग गर्ने गरेका हुन्छन् ।

टप डे«ेसिङ गर्दा युरिया मलको प्रयोग सिफारिसभन्दा धेरै भए धान बालीमा रोग किराको प्रकोप बढ्ने भएकाले सचेत हुन आवश्यक रहेको कृषि ज्ञान केन्द्र कैलालीको बाली विकास अधिकृत रामनारायण चौधरीले बताउनुभयो ।

“कृषि विभागले अहिले स्थान विशेष मलखाद सिफारिस गरेको छ । स्थान विशेषअनुसार मलखादको प्रयोग गर्दा उत्पादन बढ्ने भएकाले सोही अनुसार प्रयोग गर्न आग्रह गरेको छ”, चौधरीले भन्नुभयो, “सुदूरपश्चिमसहित तराईको बाँकेदेखि कञ्चनपुरसम्मका लागि प्रतिहेक्टर ६ टन प्राङ्गारिक मल, नाइट्रोजन एक सय किलो, फस्फोरस ३० किलो र पोटास ३० किलो तथा अन्य सूक्ष्म तत्व माटो परीक्षणका आधारमा प्रयोग गर्न सिफारिस गरेको छ ।”

 यसरी माटोको परीक्षण र बाली बिरुवाको अवस्थाअनुसार रासायनिक मलको प्रयोग गर्न उहाँको सुझाव छ । किसानले बिहानको समयभन्दा साँझको समय, छिपछिपे पानी भएको र झार हटाएर प्रतिकट्ठा एकदेखि डेढ किलोसम्म रासायनिक मल युरिया टप डे«ेसिङ अर्थात् थप मलका रुपमा प्रयोग गर्नुपर्ने उहाँको सुझाव छ ।

नियमित वर्षा नहुँदा पनि धान बालीमा विभिन्न रोग कीराको प्रकोप देखापर्ने जोखिम बढ्छ । कैलालीमा पर्याप्त पानी नपर्ने र गर्मी अधिक हुँदा धान बालीमा विभिन्न किसिमका कीराको प्रकोप बढेको अवस्था छ । यस्तो बेलामा युरियाको प्रयोगले अधिक मात्रा किराको प्रकोप देखापर्ने भएकाले किसानले बाली बिरुवाको नियमित अनुगमन गर्न आवश्यक रहेको टीकापुर नगरपालिकाका कृषि प्राविधिक रविना चौधरी बताउनुहुन्छ ।

 “थप मल प्रयोग गर्दा बाली हर्लक्क बढ्छ । युरिया मल पाएका बेला धानका बोट नरम हुने भएकाले यो बेला गवारो कीरा लाग्ने जोखिम रहन्छ”, उहाँ भन्नुहुन्छ, “मलखाद प्रयोग गरिरहेका बेला र पछि पनि बालीको नियमित अनुगमन आवश्यक हुन्छ । समयमै जानकारी पाएमा बाली जोगाउन सकिन्छ । बालीमा मल र विषादी प्रयोग गर्दा मनोमानी गर्न हुँदैन । सल्लाह अनुसारमात्र गर्न आवश्यक छ ।”

प्रतिक्रिया