काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको विकास निर्माणका काममा ‘ब्रेक-थु’ मात्र होइन ‘ब्रेक’ लगाएर राखिएका कामलाई सरकारले अगाडि बढाएको दाबी गरेका छन्। प्रतिनिधि सभाको आजको बैठकलाई सम्बोधन गर्दै उनले आफ्नो सरकार आउँदा धुलो उडिरहेको मुग्लीन–पोखरा सडक आज चिल्लो र आकर्षक भएको बताएका छन्।
‘काठमाडौं-तराई द्रूत मार्ग अन्तर्गत मकवानपुरको धेद्रे सुरुङ पनि ब्रेक थ्रु भएको छ। चीन र भारतलाई जोड्ने हाम्रो राष्ट्रिय गौरवको आयोजना जोगवनी-किमाथांका सडकमार्ग केही दिन अघि मात्रै ब्रेक-थ्रु भएको छ।’ उनले भने,‘ठेकेदार कम्पनीले काम छोडेपछि बुटवल-नारायणगढ खण्डको सडक निर्माणको काम यो सरकार आउँदाका बखत अलपत्र थियो। आज त्यसको काम द्रूत गतिमा अघि बढिरहेको छ।’
उनले सडक यात्राको असुरक्षा घटाउन र पूर्वाधारलाई दीगो बनाउन हामीले सुरुङ मार्गको योजना अघि सारेको उल्लेख गरे। उनले भने, ‘यस पटक संसद्को हिउँदे अधिवेशन सुरु हुनुभन्दा एक साता अघि सिद्धबाबा सुरुङमार्ग ब्रेक-थ्रु भएको छ। अब केही समयभित्र हामी यस सुरुङमार्गलाई सञ्चालनमा ल्याउने छौं। यसले पाल्पा, स्याङ्जा, कास्की, गुल्मी र अर्घाखाँचीको उत्तरी भेग हुँदै प्युठानलाई बुटवलसँग जोड्ने छ। यही सडक कालीगण्डकी करिडोरसँग पनि जोडिंदै छ र त्यहाँका जनताको जीवनमा यसले ठूलो परिवर्तन ल्याउने छ।
’उनले खेल हाम्रा युवाहरुको जीवनशैली बनेको दाबी गरे। ‘यस पटक क्याबिनेटको पहिलो बैठकले कीर्तिपुरको क्रिकेट खेलमैदानलाई रंगशाला बनाउने र त्यसमा फ्लड लाइट जोड्ने निर्णय गरेको थियो। त्यसका लागि टेण्डर आह्वान भएको छ- तोकिएको दिनभित्रै त्यसलाई सम्पन्न गर्नेगरी काम अघि बढिरहेको छ।’ उनले भने, ‘रंगशालाकै कुरा गर्दा सुर्खेतमा आधुनिक कर्णाली रंगशाला तयार भएको छ। देशको दुर्गम भूगोल मानिने कर्णालीमा आधुनिक रंगशाला-यो हाम्रा युवाको भविष्यका लागि सुखद् सन्देश हो।’
प्रतिक्रिया