लकडाउनले नछोएका विद्यालय

- June 25, 2020 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

सुर्खेत /दैलेख : कोरोना महामारीका कारण विगत तीन महिनादेखि विद्यालय खुल्न नसकिरहेका बेला विद्यार्थीलाई वैकल्पिक उपाय मार्फत पढाउन थालिएको छ। पठन पाठनबारे अन्योल कामम रहँदा कर्णालीमा भने कोरोना छल्दै पठन पाठन सुरु भएको हो।

सरकारले दुरशिक्षा अन्तर्गत रेडियो, टेलिभिजन र अनलाइनमार्फत विद्यार्थीलाई पढाउने भने पनि कर्णाली प्रदेशका सबै भेगमा यी माध्यम विद्यार्थीको पहुँचमा छैनन्। यस्तै समस्याका वीच केही विद्यालयले सामाजिक दुरी कायम गर्दै विद्यालयमै कक्षा सञ्चालन गर्न थालेका छन्। क्वारेन्टाइन रहेका विद्यालयले भने शिक्षकलाई विद्यार्थीको घरमै खटाएका छन्।

दैलेखको गुराँस गाउँपालिकाका शिक्षकले विद्यार्थी पढाउन विभिन्न टोलको जिम्मा लिएका छन्। ‘विद्यालयहरु क्वारेन्टाइन बनाइए, स्कुलमा पढाउन सक्ने अवस्था छैन’ स्थानीय बाल कल्याण नमुना प्राविका प्रधानाध्यापक प्रेमबहादुर विसीले भने,‘हामीले शिक्षकलाई विभिन्न टोलको जिम्मा दिएका छौं, सबैले जिम्मा पाएको टोलमा घरमै पुगेर दुरी कायम गर्दै बालबालिकालाई पढाइ रहनुभएको छ।’

घरघरमा ‘गृह शिक्षक’

विद्यार्थीलाई पठाउन माथिल्लो तह अध्ययन गरेका अभिभावकलाई नै ‘गृह शिक्षक’ को रुपमा तोकिएको छ। कोरोनाका कारण बालबालिका पढाइबाट बञ्चित भएको, उनीहरु मनोसामाजिक रुपमा कमजोर बनेको र विद्यालय नै छोड्ने दर बढ्ने देखिएपछि वैकल्पिक उपाए अपनाएर सिकाईलाई निरन्तरता दिइएको गुराँस गाउँपालिकका अध्यक्ष खेमराज वलीले बताए।

सो गाउँपालिकाका आठ वटै वडाका २५ वटा टोलका तीन सय १७ घरधुरीमा पढाइ सञ्चालन भइरहेको छ। यसले एक हजार विद्यार्थी लाभान्वित भएका गाउँपालिकाको दावी छ। जनाएको छ। गुराँस गाउँपालिका–५ गोगनपानीका डीलबहादुर रामजाली स्थानीय पार्वती माविको कक्षा ७ मा अध्ययनरत छन्। गृह शिक्षक तोकिएकी उनकै दिदी भूमि रामजालीले डीलबहादुरलाई घरमै पठनपाठनमा सघाइरहेकी छिन्। ‘कोरोनाले स्कुलमा पठाउने अवस्था छैन, घरमै भए पनि छोराछोरीको पढाइ सुचारु गरेका छौं’ गृह शिक्षक तोकिएकी ललिता शाही भन्छिन्, ‘हामीले घरघरमै पढाउने काम गरेका छौं, शिक्षकहरु पनि घरमै आएर सहजिकरण गर्दा थप सहज भएको छ।’

दुरी कायम गरेर विद्यालय सञ्चालन

सरकारले तोकेका वैकल्पिक माध्यमबाट पनि पढाइ संभवन नभएपछि सुर्खेतको एक विद्यालयले सामाजिक दुरी कायम गरेर पठनपाठन सुरु गरेको छ। वीरेन्द्रनगरमा रहेको अमरज्योति माविले आइतबारदेखि यस्तो अभ्यास थालेको हो।

एउटा कक्षामा २० जनाका दरले विद्यार्थी पढाउन थालिएको प्रधानाध्यापक खगेन्द्र थापाले जानकारी दिए। ‘कोरोना अहिले नै नियन्त्रण हुने अवस्था देखिएन, कहिलेसम्म विद्यार्थीको पढाइ बन्द गर्ने ? ’ उनले भने,‘आवश्यक दुरी कायम गरेका छौं, विद्यार्थीलाई संक्रमणबाट जोगाउन सबै सावधानी अपनाएका छौं। नमूनाको रुपमा कक्षा सञ्चालन गरेको सफल भयो, अब नियमित पढाइ हुन्छ।’ एक दिनमा एउटा कक्षाका विद्यार्थीलाई मात्र बोलाएर पालैपालो पढाइने थापाले बताए। उनका अनुसार विद्यार्थीलाई बाटोमा समेत दुरी कायम गराउने गरिएको छ। यो विद्यालयमा सुर्खेत, दैलेख, सल्यान र जाजरकोटका करिब दुई हजार विद्यार्थी अध्ययनरत छन्।

लकडाउनले नछोएका विद्यालय

हुम्लाका दुई वटा विद्यालयल लडकाउनमा पनि नियमित सञ्चालनमा छन्। नाम्खा गाउँपालिका ६ मा रहेका हिमशिखर र सुनखानी आधारभुत विद्यालयको पठन पाठन निरन्तर भइरहेको छ। ‘हालसम्म गाउँमा नयाँ व्यक्ति प्रवेश गरेका छैनन्, स्थानीय तहमा पनि कोरोना संक्रमण छैन’ हिमशिखर आधारभूत विद्यालयका प्रधानाध्यापक कर्णजित बुढाले भने, ‘दरबन्दीका शिक्षक विद्यालयमा गएका छैनन्, तर निजी स्रोत र गाउँकै शिक्षकहरुले पढाइरहेका छन्।’ चीनसँग सिमाना जोडिएका हिमशिखरमा ४५ र सुनखानीमा १५ जना विद्यार्थी छन्।

तीस हजार बालबालिका वैकल्पिक पहुँच बाहिर

कर्णालीका करिब तीस हजार बालबालिकासँग रेडियो, टेलिभिजन र अनलाइनको पहुँच बाहिर रहेको पाइएको छ। शिक्षा क्षेत्रमा कार्यरत सेभ द चिल्ड्रेनले गरेको अध्ययनले यस्तो देखाएको हो।

हिमाली क्षेत्र र विपन्न परिवारका बालबालिकासँग रेडियोसमेत नभएका कारण सामाजिक दुरी कामय गरेर विद्यालय खोल्नु उत्तम विकल्प हुने सो संस्थाको ठहर छ। कोरोना संक्रमण कम भएका क्षेत्रका विद्यालय खोल्न सकिने शिक्षाविद्हरुले बताएका छन्। ‘कर्णालीका मुगु, हुम्ला, जुम्ला र डोल्पाका विद्यालय सञ्चालन गर्न सकिन्छ’ शिक्षाविद् पीताम्बर ढकाल भन्छन्,‘संक्रमण कम भएका जिल्लाका विद्यालय सामाजिक दुरी कायम गरेर सञ्चालन गर्दा फरक पर्दैन।’

स्थानीय तहले निर्णय लिन सक्छन्’

कर्णाली प्रदेश सरकारले महामारीको बेला स्कुल खोल्ने वा नखोल्ने अधिकार स्थानीय तहमा निर्भर हुने बताएको छ। ‘स्कुल सञ्चालनका सम्वन्धमा संघीय सरकारले कार्यविधि बनाएको छ, कार्यविधि अनुसार प्रत्येक स्थानीय सरकारले निर्णय गर्नसक्छ’ सामाजिक विकास मन्त्रालयको शिक्षा महाशाखाका प्रमुख विष्णुप्रसाद अधिकारीले भने, ‘स्थानीय तह, वडा कार्यालय, विद्यालय र अभिभावको समन्वयमा विद्यालय सञ्चालन गर्न सकिन्छ।’

हिमाली क्षेत्रका केही विद्यालयहरु खोल्ने निर्णय गरिएपनि संक्रमण बढेपछि त्यो निर्णय कार्यान्वय गर्न नसकिएको उनले बताए। अधिकारीले भने, ‘अहिले नै स्कुल सञ्चालन गर्ने विषयमा प्रदेशले निर्णय लिन सक्दैन, संक्रमणको जोखिम हेरेर स्थानीय तहले नै आवश्यक निर्णय लिन सक्छन्।’

‘कक्षा ५ भन्दा माथि सञ्चालन गर्न सकिन्छ’

स्वास्थ्यकर्मीले पनि कक्षा ५ भन्दा माथिका कक्षाहरु सञ्चालन गर्न सकिने बताएका छन्। कक्षा ५ भन्दा मुनिका बालबालिकालाई पढाउन हतार गर्न नहुने उनीहरुको ठहर छ। साना बालबालिकालाई सामाजिक दुरी कामय गराउन कठिन हुने र बालबालिकाकै कारण संक्रमणको जोखिम बढ्ने उनीहले बताएका छन्। ‘साना बालबालिका आफूखुशी खेल्ने भएकाले जोखिमबारे बुझ्न सक्दैनन्, सामाजिक दुरी कायम गराउन पनि सकिदैन’ प्रदेश अस्पताल सुर्खेतका कोरोना फोकलपर्सन डा. केएन पौडेलले भन्छन्, ‘आवश्यक सावधानी अपनाउन सक्ने अवस्थामा मात्रै कक्षा ५ भन्दा माथिका कक्षा सञ्चालन गर्न सकिन्छ।’ संक्रमण समुदायमै फैलिने क्रममा रहेकाले सकेसम्म विद्यालय खोल्न हतार गर्न नहुने उनको सुझाव छ।अन्नपूर्णबाट


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!