काठमाडौं । काठमाडौंको शंखरापुर नगरपालिका- ३ लप्सीफेदीको बोझेनी भन्ने ठाउँमा स्थानीय र प्रहरीबीच फेरि तनाव सिर्जना भएको छ ।
नेपाल विद्युत् प्राधिकरणले बनाइरहेको सबस्टेसन र टावरको काम रोक्न माग गर्दै आएका स्थानीयको प्रहरीसँग झडप हुँदा गएरातिसम्मै तनाव सिर्जना भएको हो ।
झडपमा संलग्न भएको भन्दै प्रहरीले १७ जनालाई नियन्त्रणमा लिएकोमा चार जनालाई छाडेको छ । १३ जना बौद्ध प्रहरीको हिरासतमा छन् ।
काममा अवरोध गरेकाले १३ जनालाई हिरासतमा लिइएको काठमाडौं प्रहरीका एसपी नवराज अधिकारीले जानकारी दिए ।
सबस्टेसन र टावर निर्माणका लागि विहीबार बिहान करिब ११ बजे डोजर पुग्दा स्थानीयले ढुंगा प्रहार गरेर अवरोध गरेका थिए ।
त्यसपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले रोक्ने क्रममा तनाव सुरु भएको थियो ।
प्रहरीले विहीबार राति नौ बजेसम्म पनि धरपकड गरेको स्थानीयको आरोप छ ।
नेपाल विद्युत प्राधिकरणले शंखरापुर नगरपालिका–३ स्थित बोझेनीमा तामाकोशी तथा सुनकोशी नदी र तिनका सहायक खोलाहरुमा निर्माण भएका तथा हुने जलविद्युत आयोजनाको विद्युत काठमाडौं उपत्यकामा ल्याउन र स्थानीय रुपमा आपूर्तिका लागि ४००/२२०/१३२/११ केभी सबस्टेसन निर्माण गर्न लागिरहेको छ ।
बस्तीको बीचमा सबस्टेसन निर्माण गर्न नहुने स्थानीयको माग सुनुवाइ नहुँदा बेला–बेला तनाव हुने गरेको छ ।
यसअघि २०८० साल मंसिरमा पनि स्थानीयसँग झडप हुँदा सशस्त्र प्रहरीका डिएसपी देवराज राईसहित तीन जना सुरक्षाकर्मी घाइते भएका थिए ।
लप्सीफेदीमा सबस्टेसन निर्माणका लागि आवश्यक पर्ने ५० जना जग्गाधनीहरुको करिब १७४ रोपनी जग्गा अधिग्रहण गरिएको छ ।
जग्गाधनीहरुले मुआब्जा तथा क्षतिपूर्ति रकम राजीखुसीले बुझिसकेका छन् ।
जग्गा अधिग्रहणका लागि २०७४ जेठमा सार्वजनिक सूचना प्रकाशित गरी सोही वर्षको माघमा मुआब्जा तथा क्षतिपूर्ति रकम निर्धारण गरिएको थियो ।
मुआब्जा तथा क्षतिपूर्ति बापत करिब ५० करोड रुपैयाँ वितरण गरिसकेको नेपाल विद्युत प्राधिकरणको रेकर्ड छ ।
तर, राष्ट्रिय सिमान्तीकरण विरुद्ध अभियान (समान, नेपाल) को अगुवाइमा सबस्टेसन निर्माणमा अवरोध भइरहेको प्राधिकरणले जनाएको छ ।
प्रतिक्रिया